नेपाली क्रिकेट टिमका खेलाडीकाे तलबमा १० हजारले बढ्याे

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीकाे तलबमा १० हजार बढाएर पठाउने भएकाे छ।

ग्रेडिङमा रहेका हरेक तहका खेलाडीको तलब १० हजारका दरले बढेर तलब आउने नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

क्यान निलम्बनमा रहँदा आईसीसीले नै राष्ट्रिय टिमका खेलाडीकाे तलब दिने गरेको थियो। तर खेलाडीले २०१९ देखि तलब पाएका छैनन्। 

यसअघि खेलाडी २०१९ फेब्रुअरीमा २०१७ र २०१८ को एकमुष्ट तलब पाएका थिए। त्यतिबेला ए, बी र सी तीनवटै ग्रेडमा ७-७ खेलाडी थिए। 

निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो। 

‘हामीले सबै प्रकिया पूरा गरेर पठाइसकेका छौँ। अब पहिलाको ग्रेडिङको तह अनुसार १०-१० हजार थप्न आउने छ’, सचिव प्याकुरेलले भने।

अब ए ग्रेडमा पर्नेले ४५ हजार, बी ग्रेडमा पर्नेले ३५ हजार र सी ग्रेडमा पर्नेले २५ हजार तलब पाउनेछन्।

क्यानले कुन ग्रेडमा को-को खेलाडी परेका छन् भनेर सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: : 2020-08-23 12:15:42

प्रतिकृया दिनुहोस्