सुशान्तको हत्यामा खुल्ला बलिउड, ड्रग्स, अन्डर्वल्ड र मुम्बई पुलिसको ‘नेक्सेस’?

तपाई हामीमध्ये धेरैले बलिउड स्टारको फोटो कोठाको भित्तामा टाँसेका होलाऔं। कतिले यी कलाकारको ‘स्टाइल’ को नक्कल गर्दै कपाल काटेका होलान। कतिले फिल्ममा उनीहरूको पोसाक देखेर हुबहु लगाउने प्रयास गर्दै आइरहेका छन्। 

एक पटकमा १० जना ‘भिलेन’ लाई कुट्न सक्ने दृश्यले हाम्रो जीवनमा यी स्टारको छवीलाई लिएर निकै ठूलो प्रभाव नपरेको होइन। अन्यायविरूद्ध लड्ने उनीहरूको भूमिका देखेर हामी धेरैले बलिउड स्टारलाई कहिले काही भगवानपछिको दर्जा दिने गरेका छौं। 

तर, अहिले बलिउड शान्त छ। फिल्ममा अन्यायविरूद्ध बुलन्द आवाज उठाउने कलाकारहरू पानीले भिजेको मुसा जस्तै देखिएका छन्। यो सबैको कारण हो, युवा ढुकढुकी सुशान्त सिंह राजपूतको निधन। 

गत जुन १४ तारिखमा आत्महत्या गरेको भनिएका सुशान्तको निधनको नयाँ–नयाँ भेद अहिले आएर खुल्न थालेको छ। बेलायतको स्कटल्याण्ड पुलिससँग तुलना गरिएको मुम्बई प्रहरीले पहिले सुशान्तको निधनलाई आत्महत्या भन्दै फितलो छानवीन गरेको थियो।

तर, सोसल मिडियाको दबाब र केही नीजि च्यानलहरूले अभियानकै रूपमा दबाब सिर्जना गरेपछि भारत सरकार सुशान्तको निधनको मुद्धा आफ्नो सबैभन्दा बलियो छानवीन समिति सीबीआईलाई सुम्पिन बाध्य भयो। 

सर्वोच्च अदालतले सुशान्तको मुद्धा छानवीनका लागि सीबीआईलाई सुम्पिनुअघि महाराष्ट्र सरकारले रोक्ने धेरै प्रयास गरेको थियो। तर, जन दबाबका कारण महाराष्ट्र सरकारको केही लागेन। 

सुशान्तको मुद्धालाई पहिलेदेखि नै आत्महत्या घोषित गरेको मुम्बई पुलिसको भनाईलाई सुशान्तका नेपाली पूर्व सहायक अंकित आचार्यले गलत भनेका थिए। उनले सुरुदेखि नै कुकुरको बेल्टले घाँटीमा बाँधेर उनको हत्या गरिएको दावी गरेका थिए। 

उनको यो भनाईपछि मुद्धाले अर्को रूप लिएको थियो। करिब तीन वर्ष सुशान्तसँग काम गरेका अंकितले बिएल नेपाली सेवालाई पनि अन्तर्वार्ता दिने क्रममा यही कुरा दोहर्‍याएका थिए। 

सीबीआईको छानवीनपछि नयाँ–नयाँ कुरा उजागर हुन थालेको छ। पहिले सुशान्तकी तथाकथित प्रेमिका रिया चक्रवर्ती र उनको परिवारले पैसाको लागि हत्या गरेको दावी गरिएको यो मुद्धामा अब ‘ड्रग्स कनेक्सन’ पनि बाहिर आएको छ। 

मंगलबार सार्वजनिक भएको यो घटनाले बलिउडका स्टार कलाकारको ओठमुख सुकेको छ। सुशान्तको निधनमा सामान्य श्रद्धाञ्जली अर्पण गर्न पनि कन्जुस्याई देखाइरहेका यी कलाकार अक्कनबक्क देखिएका छन्।

किनभने बलिउडभित्र ‘ड्रग्स’ को ठूलो खपत हुने गरेको छ। बलिउडका हस्ती कलाकार र निर्माता–निर्देशकको पार्टीहरूमा ‘ड्रग्स’ सप्लाई हुने गरेको खबर ‘ओपन–सेक्रेट’ को विषय हो। 

‘ड्रग्स’ सँग अन्डरवल्र्डको पनि कनेक्सन हुने हुँदा बलिउडका कलाकारहरू अहिले अतालिएको अवस्था छ। धेरै कलाकारले सुशान्तको निधनपछि ट्रोल हुने सम्भावनाका बीच आफ्नो सोसल मिडिया ‘डिएक्टिभ’ गरिसकेका छन्। अब ‘ड्रग्स’ को नयाँ मुद्धा बाहिर आएप्छि उनीहरूको सोसल मिडिया ‘अपडेट’ हुन छोडेको छ। 

मंगलबार मात्र रिया चक्रवर्ती र उनको परिवारको सम्पत्तिको हिसाब गरिरहेको इन्फोर्समेन्ट एजेन्सी (इडी) ले एउटा रिपोर्ट सीबीआईले सुम्पिएको थियो। जसमा रियाले डिलिट गरेको ८ वटा वाट्सऐप च्याटलाई प्राविधिकहरूको सहयोगले ‘रि–ट्राइभ’ गरिएको थियो। यसबाट ‘ड्रग्स कनेक्सन’ को रहस्य खुलेको थियो। 

सरकारले अब सुशान्तको निधनको मुद्धा ‘ड्रग्स कनेक्सन’ को एंगलले पनि गर्नेछ। यसका लागि अब नारकोटिक एजेन्सी पनि छानवीनमा उत्रिनेछ। यसले बलिउडमा ‘ड्रग्स’ को कारोबार गर्ने व्यक्ति तथा प्रयोग गर्ने कलाकारहरू सरकारको राडारमा पर्नेछन्।

यसले उनीहरूको इमेज ध्वस्त मात्र हुनेछैन, जेलको सजाय पनि हुनसक्छ। किनभने भारतमा लागु औषध प्रयोगकर्तालाई पनि जेलको सजाय छ। 

सुशान्तको निधनको थप छानवीन गरिरहेका एम्स अस्पतालका डाक्टरहरूले उनको पोस्टमर्डम रिपोर्टमा थुप्रै गल्ती भएका कारण सीबीआईलाई आत्महत्याको एंगलले छानवीन गर्न सुझाव दिइसकेको छ।

सीबीआईले पनि मुम्बई प्रहरीका केही अधिकारीलाई छानवीनमा जानीजानी गरिएको कमजोरीलाई लिएर शंकाको घेरामा राखेको छ। 

सुशान्तको निधनलाई बलिउडमा ठूलो घाटाको रूपमा हेरिएको छ। तर, उनको सम्भावित हत्याको मुद्धाले बलिउड, ड्रग्स, अन्डर्वल्ड र मुम्बई प्रहरीको नेक्सेसलाई कति उजागर गर्छ, त्यो आउने दिनले बताउने छ।

प्रकाशित मिति: : 2020-08-26 19:22:00

प्रतिकृया दिनुहोस्