स्थानीय तह निर्वाचन:

‘भोट चाहिने भए खानेपानी देऊ’

पोखरा– २८ डाँडा गाउँमा खानेपानीको निकै समस्या छ। गण्डकी प्रदेश सरकारले ‘एक घर एक धारा’को अवधारणा ल्यायो। तर, प्रदेश सरकारको यो योजनालाई डाँडा गाउँलाई छुन सकेन। अझैं पनि खानेपानीको लागि घण्टौं हिँड्नुपर्छ डाँडा गाउँबासी।

‘खानेपानीका लागि महानगर प्रदेश जताततै गुहार्‍यौं। तर, खानेपानी आएन,’ स्थानीय जुना सुनारले सुनाइन्। उनी मिलनशील आमा समूहमा पनि आबद्ध छिन्। शनिबार, जुनाले नागरिकसँग संवाद गर्न जुटेका कांग्रेस नेताहरुलाई सुनाइन्। ‘भोटका लागि झुँटा आश्वासन नदिइयोस्,’ उनले भनिन्।

जनतासँग संवाद गर्न जुटेका थिए, गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री, पूर्व मन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर थापालगायत कास्की १ का सक्रिय नेताहरु।

खानेपानीको समस्याले आजित डाँडा गाउँबासीले आफ्ना समस्याको पोयो फुकाए। डाँडा डाउँबासी रामचन्द्र सुनारको पनि बाँकी समस्या थाति राख्ने हो भने पहिले खड्केको समस्या पानीकै हो। ‘खाल्टे खानेपानीलाई व्यवस्थित बनाइयोस्। यसका लागि पात्लेमा भएको ट्यांकीबाट डाँडा गाउँ मोटर बाटोमाथि पानी नजाने भएकाले लिफ्टिङ गरेर खानेपानीको व्यवस्था मिलाइयोस्,’ उनले भने।

डाँडा गाउँका टिकाराम लामिछानेको परिवार पनि खानेपानीको समस्याले आजित छ। ‘यहाँको खानेपानीको लागि केन्द्रबाटै बजेट पार्नुपर्छ। यहाँको खानेपानीको समस्या समाधान गरियोस्,’ उनले भने।

मंगलबहादुर नेपाली नेकपा माओवादी केन्द्र नगर सदस्य हुन्। उनी कहाँ पनि डाँडा गाउँका अन्य गाउँलेका जस्तै समस्या छ। त्यो हो, खानेपानीको। कांग्रेसको नागरिक अन्तर संवादमा जुटेका नेपालीले डाँडा गाउँलेका लागि खानेपानीको मुख्य समस्या रहेको बताए। ‘यहाँका १ सय ८० घरधुरिलाई खानेपानीको एकदमै समस्या छ। सम्बन्धित निकायले ध्यानै दिएका छैनन्,’ उनले भने। खानेपानीका लागि प्रदेश सरकारसँग माग गरे पनि अहिलेसम्म सुनुवाई भएको छैन।

खानेपानीको लागि जिआइ पाइप ल्याएर समान वितरण हुनुपर्ने उनले सुनाए।

छलफलमा सहभागी डाँडा गाउँ बासिले धेरै त खानेपानीकै सुनाए। बाँकी समस्या थिए, बेरोजगारी र पूर्वाधार विकासका।

छलफलमा सामेल अमर थापाले जनताको समस्या सुन्न आएका कांग्रेसी नेताहरुलाई व्यक्तिको विकास जोड दिन सुझाव दिए। उनले व्यक्तिको क्षमता पहिचान गरी त्यसलाई अर्थोपार्जनमा जोड्नुपर्ने मत राखे। ‘चुनावको मुखमा मात्रै होइन। तपाईंहरुले जनताको पिर, मर्का सधैँ बुझ्नुपर्छ,’ उनले भने।

थापाले जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार निर्माण गर्नुपर्ने माग राखे। विज्ञको सुझावमा मात्रै उनले यस्ता काम गर्नुपर्ने मत राखे। जनताका सारा समस्या सुनिरहेका नेता यज्ञबहादुर थापाले जनताका सारा समस्या नजिकबाट बुझेको बताए। कांग्रेसले आफूले पूरा गर्न सक्ने बाँचा मात्र गर्ने उनको भनाइ थियो। ‘कांग्रेसले पूरा गर्न सक्ने बाँचा मात्रै गर्छ। त्यो भन्दा बढी गर्दैन,’ उनले भने।

डाँडा गाउँको विकासका लागि कांग्रेसले धेरै विकास निर्माणका कामको सुरुआत गरे पनि जस भने एमालेले लिएकोमा उनले दुख प्रकट गरे। ‘कांग्रेसले धेरै काम गरेको छ। यहाँको सडक, पुल निर्माणको सुरुआत कांग्रेसले गरेको हो। हामीले प्रचार गरेनौं, अब प्रचार गर्नुपर्छ,’ उनले भने।

जनताको समस्या सुन्न र सम्बन्धित निकायसामु पुर्‍याउन आफूहरु घरदैलोमा आइपुगेको उनले सुनाए। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा फरक दल र विचार भएकै कारण मतभेद हुन नहुने उनको भनाइ थियो। अर्को दलका नेताहरुलाई पनि जनताको समस्या सुन्नका लागि आफूहरुसँगै आएको खण्डमा पनि फरक नपर्ने उनले बताए।

मन्त्री मेखलाल श्रेष्ठले कांग्रेसले मात्रै सबै जाति, वर्गलाई समेट्ने बताए। कांग्रेस नागरिकसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने उनले सुनाए। ‘यो कुरा बोलीमा मात्रै होइन। कसैले बोलीमा मात्र बोल्छ,’ उनले अघि सुनाए, ‘नेपाली कांग्रेसले जे बोल्छ। त्यो पूरा गरेर पनि छाड्छ।’

डाँडा गाउँबासीसँग छफलफलमा जुट्नुको ध्येय जनताको समस्या कांग्रेसको पनि समस्या भएकाले त्यसलाई सम्बोधन गर्न आफूहरु जुटेको उनले बताए। ‘नेपाली कांग्रेसले लुकेर होइन, छिपेर होइन। सँग सँगै बसेर खान्छ, काम गर्छ र तपाईंहरुको समस्यासँग सँगै हुन्छ,’ उनले भने,‘तपाईंहरुको समस्या कांग्रेसको पनि समस्या हो।’

कांग्रेसले समस्या सुन्ने मात्र नभई समाधानतर्फ पनि जुट्ने उनले सुनाए। उनले डाँडागाउँ बासीलाई आफ्नो मनमा लागेका समस्या निर्धक्क बताउन समेत अनुरोध गरे।

उनले जनताका सारा समस्या सुनेर सम्बन्धित निकायसम्म पुर्‍याउने वाचा समेत गरे।

नेपाली कांग्रेस कास्की एकका अध्यक्ष राजेन्द्रमणी लामिछानले ठूलाबडाका हातबाट जग्गा खोसेर कांग्रेसले जनतालाई दिएको बताए। उनले पछाडि परेका समुदायलाई माथि ल्याउन विपीले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कांग्रेसले नागरिकहरुलाई शिक्षा दिनेदेखि अघि बढाउनका लागि ठूलो भूमिका खेलेको बताए।

कार्यक्रममा डाँडा गाउँबासीको उल्लेख्य उपस्थिति थियो। उपस्थित सबैले आ–आफ्ना समस्या सुनाएका थिए।

प्रकाशित मिति: : 2022-03-26 22:15:00

प्रतिकृया दिनुहोस्