समाजवादी माेर्चा घाेषणा

प्रचण्ड र माधवजी पनि हाम्रै लाइनमा आउनुभयाे: प्रकाण्ड (अन्तर्वार्ता)

BreaknLinks
BreaknLinks

लामाे छलफल र चर्चापछि आज (साेमबार) नेकपा (माओवादी केन्द्र)सहितका दलहरुले समाजवादी माेर्चा घाेषणा गर्दैछन्। दिउँसाे ४ बजे प्रर्दशनी मार्गस्थित राष्ट्रियसभा गृहमा एक भव्य समाराेहबीच समाजवादी केन्द्र घाेषणा गरिँदैछ। यसमा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीसँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा पनि सामेल हुँदैछ।

माेर्चामा सामेल अन्य दलले संसदीय व्यवस्था मान्ने भए पनि नेकपा त्यसकाे ठिकविपरीत विचार राख्ने पार्टी हाे। तर, पनि साे पार्टी कसरी याे माेर्चमा जाेडियाे ?, के अब नेकपाले आफ्नाे एजेण्डा त्यागेकाे हाे ? समाजवादी माेर्चा कस्ताे माेर्च हाे ? भन्ने लगायत विषयमा रहेर नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग बिएल संवाददाता ध्रुब बस्यालले कुराकानी गरकाे छन्।

प्रस्तुत छ, प्रकाण्डसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश : 


तपाईंहरु आफ्नो विचार र एजेण्डलाई कुल्चिएर संसदीय व्यवस्थामा विलय हुन थाल्नु भएकाे हाे ?

कसले भन्यो तपाईंलाई हामी विचार कुल्चिएर संसदीय व्यवस्थामा जान लागेको भनेर ?

आज समाजवादी मोर्चा घोषणा गर्दै अन्य दलहरुसँग एक हुन थाल्नु भएको हाेइन ?

समाजवादी मोर्चा घोषणा त समाजवादका लागि हो, कसरी आयाे संसदीय व्यवस्थामा जाने कुरा ?

संसदीय व्यवस्था मान्ने दलहरुसँगै मिलेर जाने भएपछि त्यही त भयाे नि ?

त्यसमा संसदीय व्यवस्थालाई बदल्नका लागि संघर्ष गरेका हामी पनि छौँ भन्ने भुल्नु भएन। यो मोर्चा बनाउँदा हामी संसदीय व्यवस्थामा गएको हुने तर संसद मान्ने दलहरु समाजवादी मोर्चामा आउँदा समाजवादमा आएको हुन्छ कि हुँदैन ? त्यसैले त म भन्छु प्रचण्ड र माधवजीहरु हाम्रै लाइनमा आउनु भयाे।

त्यो होला तर तपाईंहरु यति लामो समय संघर्ष गर्नुभयाे, अन्तिममा तपाईंहरु पनि अरु भन्दा फरक बाटाेमा हिँड्न सक्नुभएन नि ?

जनताले कहाँ त्यसरी बुझेका छन ? यो देशमा निकै खराब मान्छे र चर्चामा चलिरहेका मिडियाहरुले यस्तो भनेका हुन्। जनताले त देशभक्ति कम्युनिस्टहरु एक हौँ भनिरहेका छन्। मिडियाले समाजवादी मोर्चाबारे नबुझेर भ्रम फैलाएका छन्। हामी संसदवादमा गएको हुने तर एउटा एकीकृत जनक्रन्ति संचालन गरिरहेको पार्टीले समाजवादी मोर्चा र समाजवादको प्रयास गर्ने बेला संसदवादीहरुलाई समाजवादतिर तानेको पनि त होला नि होइन र ?

तपाईंहरुले समाजवादी मोर्चा बनाएर जनतालाई दिन खोजेको सन्देश के हो ?

समाजवादी मोर्चा बनाएर जनतालाई समाजवादी व्यवस्था दिन खोजेका हौँ। अहिलेको संसदीय व्यवस्थाले देश र जनताको हितको प्रतिनिधित्व गर्न सकेन। झनै विदेशी हस्तक्षेप र चलखेल निम्त्यायो, राष्ट्रघात निम्त्यायाे अहिलेको व्यवस्थाले जनघात निम्त्यायो र देशलाई चरम संकटमा पुर्‍यायाे आर्थिक संकट आयो। त्यसैले यो सबलाई बदलेर जानपर्छ भन्ने लागेर जति पनि कम्युनिस्टहरु छौँ, एक ठाउँमा आएर भएका समस्याको समाधानमा लागौँ भन्ने लागेर नयाँ सोचसहित, नयाँ सहकार्यमा लागौँ भन्ने तहमा पुगेर मोर्चा घोषणा गर्न थालेका हौँ।

नेपालमा कम्युनिस्ट विचारधारा मान्ने दलहरु धेरै हुनुहुन्छ, ती सबै कम्युनिस्टहरुको फेरि फरक-फरक कार्यदिशा छ कसरी सोच्नु भो एक हुने कुरा ?

अहिलेका जनताको चाहना, सुझाव, देशको वस्तुगत अवस्था र देशमा भइरहेको संकटलाई जिम्मेवारी क्रान्तिकारी पार्टीले देश र जनतालाई केन्द्रमा राखेर सोच्नुपर्ने अहिलेको आवश्यकतालाई मनन गरेर समाजवादी मोर्चा बनाउन लागेका हौँ। यो कार्यगत एकताको मोर्चा हो। बहस छलफल हुँदै जाँदा इमान्दार कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आउँछन्। विचार राजनीति फरक भएपछि छलफल र बहस गर्दै जाउँला त्यो अर्को पाटो हो तर तत्काल देशलाई संकटबाट जोगाउन देश जनताको मुद्दामा केन्द्रित भएका हौँ।

तपाईंहरुको मोर्चा कति महिना वा कति वर्षसम्म टिक्छ ?

कति वर्ष टिक्ने भन्ने कुरामा अहिले बहस नगरौँ तर अब देशलाई अहिले राज्य र शासन व्यवस्थालाई समाजवादी व्यवस्थामा नलाने हो भने देश र जनताको भविष्य छैन। यो सबैले बुझेको कुरा हो। यसको जिम्मेवारी र आवश्यकता भनेको देशलाई समाजवादी व्यवस्थामा नलिँदासम्म हुन्छ। हामीले अभ्यास गर्दै जाँदा आउने जटिलतालाई म्यानेज गर्दै जाउँला नि अहिले नै किन चिन्ता गर्ने र।

तपाईंहरुको मोर्चा पार्टी बनाउनेसम्मको योजनासहित त गर्नुभयो तर यो देशमा कम्युनिस्ट विचार मान्ने ठुलो दल एमाले पनि छ, एक देशमा दुई कम्युनिस्ट पार्टी सफल बन्न सक्छन् ?

एकतर्फ एमाले छ, अन्य पार्टीहरु पनि छन्, यता हामीले समाजवादी मोर्चा बनाउँदै छौँ। समाजवादी मोर्चामा हामीले एमालेसँग पनि कुरा गरेका छौँ एमाले पनि आउन आग्रह गरेका छौँ। छलफल गरेर एमालेलाई पनि ल्याउछौँ। यत्ति मात्र होइन, नेपालका इमान्दार कम्युनिस्टहरु र प्रगतिशील लोकतान्त्रिक व्यवस्था मान्नेहरु पनि समाजवादी मोर्चामा आउनुपर्छ।

अब हामी नेपाली कंग्रेससँग पनि कुरा गर्दैछौँ, अन्य देशलाई माया गर्ने दलहरुलाई पनि कुरा गर्दैछौँ। त्यसैले यो मोर्चा भनेको क्रान्तिकारी र इमान्दार कम्युनिस्टहरु, प्रगतिशील लोकतन्त्र मान्नेहरुको र सच्चा देश भक्तहरुको मोर्चा हो।

मोर्चा वा पार्टी जे भए पनि एक ठाउँमा आउँदै हुनुहुन्छ नेतृत्वमा विवाद पनि होला नेतृत्वको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

हामीले चार वटा पार्टीको मोर्चा बनाउँदैछौँ। अहिले जनता र देशको मुद्दामा केन्द्रित भएर मोर्चा बनाउँदैछाैँ। पार्टीको आ-आफ्नो विचार छन्, त्यहाँ पनि हाम्रो बहस हुन्छ। यो संयुक्त मोर्चा भएकाे हुनाले नेतृत्व र सिस्टम (प्रणाली)लाई  मिलाएर पालैपालो नेतृत्व गर्ने हुन्छ।

भोलि नेतृत्वमा विवाद आएरपछि मुद्दा छोडेर टुटफुट हुने र आफ्नो बाटो लाग्ने त होइन हाेला नि ?

होइन, यस्तो हुँदैन। विवाद होला, बहस होला म्यानेज गरेर अहिलेको समाजवादी मोर्चाको आधारभूत मान्यता, आधारभूत सिद्धान्त र त्यसको नीतिका विरुद्धमा कोही घटक आयो भने हटाउने भन्ने हुन्छ। त्यो पछिल्लो कुरा हो। अहिले आएका समस्यालाई समाधान गरेर हामी जान्छौँ।

समाजवादी मोर्चाले जनतालाई के दिन्छ ?

यो मोर्चाले राष्ट्रलाई स्वाधीनता दिन्छ। नेपाली जनतालाई पूर्णमुक्ति दिन्छ। जनताको मुक्तिका लागि संघर्ष र पहलमा यो मोर्चा प्रयासरत रहन्छ। जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न, जनताको विकास गर्न, समानता र न्यायका निम्ति, सामाजिक सुरक्षालगायतको जनताको हितको निम्ति यो मोर्चाले काम गर्छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको राज्य व्यवस्था र शासन व्यवस्थाले पैदा गरेको समस्याको समाधान गर्न पहिले समाजवादी गणतन्त्रमा देशलाई लैजान्छ, त्यसपछि समाजवादी लोकतान्त्रिक गणतन्त्रामक व्यवस्था स्थापित गरेर अहिलेको समस्याको सम्बाेधन गर्छ। अर्को कुरा देश अहिले बडो संकटमा छ, यो संकटबाट निकाल्नका निम्ति क्रान्तिकारी पार्टीले ऐतिहासिक पहल कदमीमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यद्यपि, समाजवादी माेर्चा निर्माण गर्ने सन्दर्भमा अहिले जति पार्टी छौँ नेताहरु छौँ सबैको साझा प्रयासको अभिव्यक्ति हो। साझा प्रयासमा छौँ। यसमा नेपाल कम्युनिस्ट पार्टी जिम्मेवार ढङ्गले प्रस्तुत रहन्छ। त्यो कुरा नै अहिलेको सही कुरा हो। अहिले संसदीय व्यवस्था डुबेर टुप्पी मात्र छ। यस्तो डुब्न लागेको व्यवस्थामा हामी किन जाने ? गएकाहरुको हालत खराब भएको देख्नु भएको छैन त। त्यसैले समाजवादी मोर्चाले जनतालाई सेवा दिन्छ, अहिले यत्ति बुझ्नुस्।

बजारको हल्लाअनुसार समाजवादी मोर्चा माओवादी केन्द्रलाई सरकार जोगाउन, नेकपा एसलाई पार्टी जोगाउन, जसपालाई मधेसमा एकलौटी शासन गर्न र नेकपालाई संसदीय व्यवसथामा छिर्ने सजिलो उपाय हो भन्ने आरोप छ नि ?

गलत। जनताले यसरी बुझेका छैनन्। बजारमा हल्ला पनि यस्तो छैन। जनताले समाजवादी मोर्चा बनाउन पहल गरिरहेका छन्। तपाईं र बजारका मान्छेहरुभन्दा हामी जनतामा धेरै छौँ। यस्ता हावा कुरा नगर्नुस्, बरु संसदीय राजनीतिमा भएका पार्टीको स्वार्थ केन्द्रित राजनीति गर्नेहरु संसदीय पार्टीहरुबीच सहकार्य र सद्भावको संस्कृति स्थापित गर्नका लागि प्रयासमा रहेकाहरु स्थापित गर्न नसकेकाहरुले एकअर्काका बिचमा दुस्मनी साँध्ने मूर्खहरुको कुरा हो, यो जनताको कुरा होइन।

प्रकाशित मिति: : 2023-06-19 15:15:00

प्रतिकृया दिनुहोस्