चेल्सीका विंगर इटालियन क्लब रोमामा अनुबन्धन

स्पेनिस विंगर पेड्रो इटालियन सिरी ‘ए’ क्लब एएस रोमामा अनुबन्धन भएका छन्। उनले राेमासँग तीन वर्षको सम्झौता गरेका हुन्। 

पेड्रोले यो महिनाको सुरुवातमै आफुले चेल्सी छाड्ने घोषणा गरेका थिए। सिजन सकिए लगत्तै लण्डन क्लब चेल्सी छाडेका पेड्रो फ्रि–ट्रान्सफरमार्फत रोमामा आबद्ध भएका हुन्। 

रोमाले मंगलबार समर ट्रान्सफरको पहिलो खेलाडीको रुपमा पेड्रोलाई सार्वजनिक गरेको हो। 

‘रोमा आउन पाउँदा निकै खुशी छु। नयाँ चुनौतीलाई लिएर निकै उत्सुक छु,’ पेड्रोले भने, ‘म समर्थकलाई धन्यवाद दिन चाहन्छु। जसले मलाई स्वागत गरे। आशा गर्छु, म नि उनीहरुलाई खुसी पार्नेछु।’

पेड्रोले आफ्नो फुटबल करियरमा २५ मुख्य उपाधि जितेका छन्। उनले विश्वकप, युरो कप र च्याम्पियन्स लिगसमेत उचालेका छन्। स्टामफोर्ड ब्रिजमा ५ बर्ष बिताएका उनले मुख्य तीन उपाधि जितेका छन्। उनको चेल्सीका लागि पछिल्लो समयको खेल सुखद रहेन।

एफए कपको फाइनलमा चेल्सी पराजित भएको खेलमा पेड्रोले चोट बोक्दै मैदान बाहिरिएका थिए। लगत्तै उनको शल्यक्रिया गरिएको थियो। उनले चोटका कारण सिरि एका सुरुवाती केही खेल गुमाउनेछन्।

रोमाका कार्यकारी अधिकृत गुइडो फिएन्गाले स्टाडियो ओलम्पिकोको शानदार संग्रहमा पेड्रो जोडिएको हेर्न चाहेको बताए। ‘हाम्रो लागि यो सौभाग्यको कुरा हो, रोमा परिवारका लागि पेड्रो जस्ता क्षमताको खेलाडी स्वागत गर्नका लागि समक्ष भएका छौ,’ उनले भने।

प्रकाशित मिति: : 2020-08-27 06:28:25

प्रतिकृया दिनुहोस्