हत्या अभियोगमा पक्राउ परेका विजयरामको मृत्यु, प्रहरीले यातना बढी दिएकाे आराेप

रौतहटस्थित गरुडा नगरपालिका ८ जिगडियामा रहेको सच फलफूल नर्सरीमा काम गर्ने २० वर्षीय निरञ्जनको हत्यामा संलग्न रहेकाे आरोपमा पक्राउ परेका एकजना युवकको मृत्यु भएको छ।

२० वर्षीय निरञ्जनको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाउँका १९ वर्षीय विजयरामकाे उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार गएराती साढे १२ बजे मृत्यु भएको हाे। मृतकको शव हाल नेशनल मेडिकलमै रहेको छ। गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेर गाँउछेउमा शव फालिएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ का बिवेक यादव, १९ का अर्जुन राम, १९ का सिकिन्द्र राम, १९ का विजयराम चमार, शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो।

शेख आजादको परिवारका एकजना महिलासँग अबैधसम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गराएको प्रहरीको निस्कर्ष रहेको छ।

पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै गत १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले सातैजनामाथि ज्यान सम्बन्धी मुद्धा दायर गरेर जिल्ला अदालतबाट म्यादसमेत थपेर सोही दिन सार्वजनिक गरेका थिए।

उता सार्वजनिक भएको भोलिपल्टदेखी नै विजयका परिवार तथा पीस फर दलित फाउन्डेसनल पर्साका अध्यक्ष मनोज रामकाे नेतृत्वमा बिरोधमा प्रदर्शन गर्दै आएकाे थियाे। 

मृतक विजयरामका बुवा पनिलाल राम चमारले आरोपीलाई बचाऊँ गरेर प्रहरीले निर्दोषलाई पक्रेरको दावी गरेका छन्। उनले पक्राउ परेका आफ्ना छोरालाई कुटपिट गरेर प्रहरी घाइतेसमेत बनाएको र उपचारका लागि वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा राखेको नाटक गरेको दावी गरे। 

‘निर्दोष छोरालाई हत्यामा फसाउन तीनजना प्रहरीले एकसाथ लाठी बर्षाए,’ उनले भने, ‘हिरासतमा थर्डडिग्रीसमेत प्रयोग गरेर प्रहरीले आरोप कबुल गराए।’

प्रहरीले यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयरामको यातना सहन गर्न नसकेर मृत्यु भएको उनका बुवा पनिलालले आरोप छ।

‘अत्याधिक कुटपिट भएको छ र उनको डालोसिस गर्नुपर्ने अवस्था आएको डाक्टरहरुले जानकारी दिएका थिए,’ उनले भने, ‘ तर उनको अवस्था बुझ्न अस्पताल पुगेका आफन्तजन, सहयोगी तथा अभियन्ता कसैलाई भेटघाट गर्न समेत दिएनन्।।’

पिसावमा समस्या देखिएपछि अस्पताल लगेका हौँः डीएसपी श्रेष्ठ

जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले पनिलाल रामको ओरोपको खण्डन गरेका छन्। उनले विजयराम ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा हुँदा पिसाबमा समस्या देखिएपछि स्थानिय अनामिका अस्पतालमा उपचारका लागि भर्ना गरेको दावी गरे।

‘अनामिका अस्पतालमा उपचारको क्रममा विजयरामको किड्नी सम्बन्धी समस्या देखिएकाले डाक्टरको सलाह अनुसार दुईदिन अघि थप उपचारको लागि नेशनल मेडिकल अस्पताल वीरगञ्ज रेफर गरीएको थियो,’ उनले भने, ‘ हामीले कुटपिट गरेर घाइते बनायौं भन्ने कुरा निराधार हो। 

उनले नेशनलमा विजयरामको किड्नीको दुईपटक डायलासिससमेत गरेको बताए।

‘पीसीआर टेस्टगरेर हामीले डाइलेसिस गरेका थियौं। दुई वटै किड्नीले कामगर्न छोडेको कारण गएराती मृत्यु भएको हो,’ डीएसपी श्रेष्ठले भने। 

प्रकाशित मिति: : 2020-08-27 10:51:33

प्रतिकृया दिनुहोस्