अति आवश्यक पर्दा १०३ मा फोन गर्नू, सकभर घरबाहिर ननिस्कनूः ट्राफिक प्रमुख ढकाल (भिडियो)

हामी कोरोना भुलेर २४ सै घन्टा तपाईँहरूको सुरक्षामा छौं

काठमाडौं उपत्यकामा पर्ने तीन वटै जिल्लामा कोरोनभाइरस सङ्क्रमण रोक्ने प्रयासमा लागू गरिएको निषेधाज्ञा अर्को एक साताका लागि थप्ने निर्णय गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू सहितको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

यसअघि भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।

प्रशासनले निधेषाज्ञा लागू गरेसँगै यसलाई कार्यान्वयन गर्न नेपाल प्रहरी सँगै ट्राफिक प्रहरी दिन रात सडकमा खटिएको छ।

पछिल्लो समय उपत्यकामा बढेको कोरोना संक्रमणसँगै जोखिम थप बढेको छ। सम्भावित ठूलो दुर्घटनाबाट मुलुक र जनतालाई जोगाउन नेपाल सरकारले जारी गरेको निषेधाज्ञामा आफूहरू गर्नुपर्ने कर्तव्य पुरा गरिरहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख भीम ढकालले बताएका छन्।

‘कोरोना संक्रमण फैलिन नदिन राज्यले नागरिकलाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनेको छ, हामी त्यसलाई पालना गराउँदै हिँडेका छौं,’  उनले भने, ‘कोरोना छ भन्दैमा हामीले ट्राफिक ब्यवस्थापनमा कुनै कमी आउन दिएका छैनौं र दिने पनि छैनौं।’

उपत्यका छिर्ने नाका कडा बनाएको जानकारी दिँदै ढकालले आफूहरू ज्यानको परवाह नगरि नाकामा कडा चेकजाँज गरेर २४ सैं घण्टा सकडमा खटिएर नियमित चेकजाँच जारी राखेका बताए। 

निषेधाज्ञा आफैंमा एउटा समस्या रहेको भन्दै उनले यसलाई कार्यान्वयनमा ल्याउन प्रसस्तै चुनौतिहरू रहेको बताए।

‘हामीले अति आवश्यक बस्तु ढुवानी र अति आवश्यक परेका बेलामा मात्र सवारी चलाउन मिल्ने गरी ब्यवस्था गरेका छौ। यसका लागि प्रसस्तै समस्या धेरै छन्। तर हामीले समाधान गरिरहेका छौं,’ उनले भने।

निषेधको बेला सवारी साधन रोख्ने मात्र नभएर अति आवश्यक पर्दा सडकमा गुडेका साधनलाई उचित ब्यवस्थापनसमेत गरिरहेको बताए।

‘खाली सडक भएपछि धेरै स्पीड हुने भएकाले दुर्घटना हुने सम्भावना उच्च हुन्छ, हामीले त्यता पनि ध्यान दिएका छौ’, उनले भने।

सिमित स्रोत र साधनका कारण केही दिन रात सडकमा खटिने ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको भन्दै उनले कसरी यसलाई रोकेर अरूमा फैलन नदिने भन्नेमा सचेत रहेको स्पष्ट पारे।

‘हाम्रा केही हाम्रा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ, हामीले उनीहरुको स्वास्थ्य सुरक्षासँगै अरूलाई सर्नबाट जोगाउनु छ। साथै उनीहरूलाई चाहिने आवश्यक साधनहरु ब्यवस्था गरिरहेका छौं’, उनले भने, ‘भएको स्रोतसाधनलाई ब्यवस्थापन गर्दै आएका छौं। समस्या र चुनौतीलाई सामना गर्दै काम गरेका छौं।’

निधेषाज्ञाका बेला सिमित बैंक तथा वित्तिय संस्था र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय खुला रहने भनेसँगै यसका कार्यरत कर्मचारीलाई विना रोकटोक सडकमा गुड्न दिएको ढकालले स्पस्ट पारे।

‘बैंक तथा वित्तिय संस्थाको बारेमा कुनै पनि समस्या छैन। सुरूको दिनमा केही अन्यौता भएको थियो, पछि त्यो पनि क्लीयर भयो। अहिले पनि हामीले सडकमा राखेका चेक प्वाइन्टमा परिचयपत्र हेरेर छाड्न मिल्नेलाई छाड्ने गरेका छौं, त्यसो गर्दा केही मिनेट कुर्नुपर्ने हुनसक्छ, तर त्यसैलाई हामीले राखेको बुझिदिन भएन,’ उनले स्पष्ट पारे।

यदि कोही कसैलाई अति आवश्यक परेर बाहिर निस्कनुपरेमा ट्राफिक प्रहरीले समस्या बुझेर सहजीकरण गर्दै आएको छ।

‘अतिआवश्यक परेर कुनै एक स्थानबाट अर्को स्थानमा जानपर्ने अवस्था आयो भने हामीले त्यस्तो अवस्थालाई केलाएर धेरैको समस्या समाधान गरेका छौं। अनि अति आवश्यक खाद्यान्न ढुवानी, बिमारी बोकेको एम्बुलेन्स स्वास्थ्यकर्मीलाई हामीले रोकेका छैनौं। अचानक केही पर्न सक्छ, तर त्यस्तो अवस्था परेमा हामीलाई १०३ या १०० मा फोन गर्नुभयो भने हामीले समस्या बुझेर समस्या समाधान गर्दै आएका छौं,’ ढकालले स्पष्ट पारे।

पछिल्लो समयमा सुरक्षाकर्मी भित्र पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ। संम्भावित जोखिम मूल्याङ्कन गरेर यो संक्रमणलाई थप फैलिन नदिन सचेत भएको ढकालले जानकारी दिए। ‘कोरोना संक्रमण बिच पनि हामीले आफ्नो दैनिक काम गर्दै आएका छौं। दैनिक काम गर्दा सामाजिक दुरी कायमदेखि प्रयोग गर्ने उपकरणमा सजकता अपनाएका छौ। यसबारे संगठन प्रमुखबाट भएको निर्देशन अनुसार काम गर्दै आएका छौं’, उनले भने।

संक्रमण भएकालाई आईसोलेसनमा राखेर उपचार भइरहेको भन्दै उनीहरूको सम्पर्कमा आएका सबैको पीसीआर चेक भइसेको उनले जानकारी दिए।

‘कतिपय सुरक्षाकर्मीहरूमा यो संक्रमण देखिएको छ। उहाँहरूको हस्पिटलमा उपचार पनि भईरहेको छ। पोजिटिभ देखिएकाहरूको अवस्था पनि एकदम सामान्य छ । तिनीहरू उपचार भएर फर्कने क्रम पनि जारी छ । अर्को कुरा भनेको हामी देखिरहेको अवस्थामा सुरक्षाकर्मीमा पनि एकदमै भयानक रूपमा हामीले लिएका छैनौं। हाम्रो अधिकृत जवानहरूले उच्च मनोबलका साथ काम गरिराखेका छन्’, उनले भने।

जस्तोसुकै अवस्थामा पनि समस्या परेर आएका नागरिकलाई आफूहरूले निराश बनाएर नपठाएको दाबी ढकालको छ।

‘हामी महाविपतको अवस्थामा छौं, हामीलाई कोरोनाले छोएको छ, र पनि हामी नागरिकको जीउधनको रक्षाको निम्ति लागेका छौं। अत्तिआवश्यक काम पर्‍यो र कतै जानु पर्‍यो प्रहरीलाई सम्झनु होला, तर आफू खुसी बाहि ननिस्कीनु होला। हामी तपाईहरूकै सुरक्षाका लागि अहोरात्र खटिरहेका छौं।

यद्यपी ढकालले सर्वसाधारणले आफूहरूलाई सहयोग गर्दै आएको बताएका छन्। उनले पहिलो दिनको तुलनामा पछिल्ला दिन धेरै सर्वसाधारणले नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए। आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ। अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उनले बताए। त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ। यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै यो ऐनअन्तर्गत काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

महाशाखाले आदेशको पालना गराउन काठमाडौं उपत्यकाका  १५२ स्थानमा जाँच गर्ने गरेको जनाएको छ।

प्रकाशित मिति: : 2020-08-27 17:05:48

प्रतिकृया दिनुहोस्