सिपिएलः नाबीले कीर्तिमानी बलिङमा सेन्ट लुसियाको चौथो जित

एजेन्सी

काठमाडौं

अफगानी अलराउण्डर मोहम्मद नाबीले करियरकै उत्कृस्ट बलिङ गरेपछि क्यारेवियन प्रिमियर लिग टी-२० (सिपिएल) अन्तर्गत १५ औं खेलमा सेन्ट लुसिया जुक्सले सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ६ विकेटले हराएको छ।

जितपछि लिगमा ६ खेल खेलेको ड्यारेन सामी कप्तानीको टिम ४ जित र २ हार पछि ८ अंक बटुल्दै दोस्रो स्थानमा यथावत छ। अर्कोतर्फ सेन्ट किट्स भने पाँचौ खेलमा चौथो हार बेहोर्दै अंकतालिकाको पुछारमा २ अंक सहित यथावत रहेको छ। काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स ४ खेलमा शतप्रतिशत जितसहित ८ अंक बटुल्दै पहिलो स्थानमा यथावत रहेको छ।

ट्रिनिडाड एन्ड टोबागो स्थित क्विन्स पार्क ओभल स्टेडियममा सम्पन्न खेलमा सेन्ट किट्सले दिएको १११ रनको लक्ष्य सेन्ट लुसिया जुक्सले १४.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा जुक्सको लागी नजीबुल्लाह जद्रानले सर्वाधिक ३३ रन बनाए। यस्तै रोस्टन चेजले अविजित २७, ओपनर रखिम कर्नवालले २६ तथा आन्द्रे फ्लेचरले १६ रन बनाए। सेन्ट किट्सका लेग स्पिनर इमरान खानले ३ विकेट लिए।

नाबीको कीर्तिमानी बलिङ

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। उसको लागि बेन डंकले सर्वाधिक ३३, अल्जारी जोसेफले २१ तथा कप्तान रायद इम्रिटले १६ रन बनाए।

सेन्ट किट्सको ब्याटिङ सेन्ट लुसियाका अफ स्पिनर मोहम्मद नाबीले तहसनहस पारे। ४ ओभरमा नाबीले मात्र १५ रन खर्चेर ५ विकेट लिए। यस क्रममा उनले स्पेलको पहिलो र दोस्रो ओभरमा २/२ विकेट तथा चौथो ओभरमा १ विकेट लिए।

नाबीको बलिङ ( ४-०-१५-५ ) सिपिएल टी-२० इतिहासकै तेस्रो सबैभन्दा उत्कृस्ट बलिङ स्पेल हो भने नाबीको टी-२० मा व्यक्तिगत उत्कृष्ट स्पेल हो।

सिपिएलमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल शाकिब अल हसनको नाम रहेको छ जसले २०१३ को सिरिजमा बार्बेडोस ट्राइडेन्टसको लागि खेल्दै ट्रिनिडाड एन्ड टोबागो रेड स्टिल बिरुद्ध ६ विकेट लिएका थिए। बंगलादेशी बायाँ हाते स्पिनरले त्यस क्रममा ४ ओभरमा १ मेडन गर्दै मात्र ६ रन मात्र खर्चेका थिए। सिपिएलको दोस्रो उत्कृस्ट बलिङ स्पेल पाकिस्तानी बलर सोहेल तन्भिरको नाममा रहेको छ जसले २०१७ मा गायनाको प्रतिनिधित्व गर्दै बार्बेडोस बिरुद्ध ५ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर सहित मात्र ३ रन खर्चेका थिए।

प्रकाशित मिति: : 2020-08-28 09:13:36

प्रतिकृया दिनुहोस्