भेट्रान फरवार्ड इब्राहिमोविचले मिलानबाट थप एक वर्ष खेल्ने

भेट्रान स्वीडिस फरवार्ड ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको सम्झौता नवीकरण गरेका छन्।

एजेन्ट मिनो राइओलाले ३८ वर्षे इब्राहिमोविचले मिलानसँग सम्झौता गरेको समाचार निराधार रहेको बताएको २४ घन्टा नबित्दै सम्झौताको समाचार बाहिर आएको हो।
 
समाचारमा जनाइएअनुसार मिलान र इब्राहिमोविचबीच एक वर्षकाे सम्झैता भएकाे छ। जसकाे लागि उनले लागि ७ मिलियन युरो पारिश्रमिक पाउने छन् तर कुनैपनि बोनस भने पाउने छैनन्।

३८ वर्षीय फरवार्ड गत जनवरीमा सिजनको अन्त्यसम्मको लागि मिलान आएका उनले क्लबमा ठुलो प्रभाव जमाउन सफल भएका थिए।

ज्लाटन जनवरीमा मिलान आएयता १८ खेल खेल्दै १० गोल गर्न सफल भएका थिए। उनकै उच्च प्रदर्शनमा मिलान १३ खेलसम्म अपराजित रहन सफल भएको थियो।

सोही कारण पनि क्लबका प्राविधिक निर्देशक पाओलो माल्दिनीले यसअघि नै इब्राको नवीकरणलाई प्राथमिकतामा राखेका थिए। 

इटालियन सिरी ‘ए’ सेप्टेम्वर १९ देखि सुरु हुँदैछ। क्लबले प्रशिक्षक स्टेफानो पिओलीको प्रशिक्षणमा प्रि–सिजन सुरु गरिसकेको छ। सम्झौता भएसँगै इब्राहिमोविच प्रशिक्षणमा फर्कनेछन्।
 

प्रकाशित मिति: : 2020-08-28 14:43:14

प्रतिकृया दिनुहोस्