पर्सामा कोरोना नियन्त्रणका लागि चालिएका कदम प्रभावकारी, संक्रमित घट्दै, आइसाेलेसन रितिदै

पर्सामा पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणका लागि चालिएका कदम प्रभावकारी देखिएको छ। 

केही दिनयता संक्रमणको दर घट्दै गएको छ भने संक्रमित भई अस्पतालमा भर्ना भएका तथा होम आइसोलेसन, सामुदायिक आइसोलेसनमा बसेकाहरु निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ।

बिहीबार साँझ वीरगञ्जका दुई कोभिड अस्पताल तथा पोखरीया अस्पतालको आइसाेलेसननबाट कोरोना संक्रमण निको भएर  १ सय ३ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।

गत भदौ १० गते साँझ पनि ६६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए। पर्सामा हालसम्म ५४७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताए।

वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पताल र वीरगञ्ज हेल्थकेयरमा गरी १सय ३१ जना संक्रमित उपचाररत छन्। यता होम आइसोलेसनमा ८०४ जना संक्रमित रहेका छन्। 

त्यसैगरी वीरगञ्जमा हालै निर्माण गरिएका सामुदायिक आइसाेलेसनन सेन्टरहरुमा ३ सय ८३ जना संक्रमितहरुको उपचार भइरहेको प्रजिअ तामाङ्गले बताए।

‘हाल पर्सामा परीक्षणको दर बढाउदै लगिएको र बिगतको अनुपातमा ठूलो संख्यामा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दासमेत संक्रमितहरुको संख्या उल्लेख्य रुपमा घट्दै गएको छ,’ उनले भने।

बिहीबार पर्सामा  ३ सय ८ वटा स्वाबको नमुना संकलनगरी नारायणी अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यता बुधबार नारायणी अस्पतालको प्रयोगशालामा ५ सय १० वटा नमुना परीक्षण गर्दा बारा, पर्सा, रौतहटका ३३ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-08-28 17:52:26

प्रतिकृया दिनुहोस्