रैना सफलताबाट मात्तिएः टिम मालिक श्रीनिवासन

इन्डियन प्रिमियर लिग (आइपीएल) सुरु हुनुभन्दा अघि टिम छोडेर जाने सुरेश रैनाको निर्णयप्रति क्लबका अध्यक्ष एन श्रीनिवासनले कटाक्ष गरेका छन्। 

आइपीएल १९ सेप्टेम्बरदेखि दुबईमा सुरु हुँदैछ। महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किङ्समा आवद्ध रैना निजी कारण देखाउँदै घर फर्किएका थिए। 

यसअघि नै टिमका २ खेलाडसहित ११ कर्मचारी कोरोनाबाट संक्रमित भएको अवस्थामा रैनाले टिम छोड्नुलाई ठूलो घाटाको रूपमा हेरिएको छ। 

यस विषयमा भारतीय क्रिकेट बोर्डका पूर्व अध्यक्ष तथा सीएसकेका मालिक श्रीनिवासनले कटाक्ष गर्दै रैनालाई भने, ‘उनलाई छिट्टै थाहा हुनेछ, उनले कति कुरा गुमाउने छन्। विशेष गरेर पैसा।’

आइपीएलका लागि सबै टिम दुबई पुगिसकेका छन्। उनीहरूले ७ दिनको क्वारेन्टाइनको अवधि पनि पुरा गरिसकेका छन्। 

श्रीनिवासनले आउटलुकलाई दिएको अन्तर्वार्तामा भने, ‘सिजन अहिले सुरु पनि भएको छैन। उनलाई छिट्टै थाहा हुनेछ, उनले के कति गुमाउने छन्। उनले एक सिजनको ११ करोड रुपैयाँ पाउने गर्छन। यदी तपाई कुनै कुरामा अडिग हुनुहन्छ र खुसी हुनुहुन्न भने जान सक्नु हुन्छ। म कसैलाई केही कुराका लागि दबाब दिन सक्दिन। कहिले काही सफलता मानिसको टाउकोमा चढ्ने गर्छ।’

रैना एक्कासी टिम छोडेर किन भारत फर्किए भन्ने कुराको उत्तर उनीबाहेक अरु कोहीसँग छैन। पञ्जाबको पठानकोटमा रैनाको परिवारका एक सदस्यलाई डाकाले मारेका थिए। 

यसै कारण उनी घर फर्किएको बताइएको छ। तर, रैना २१ अगस्टमा दुबई पुग्दा उनले होटलको कोठालाई लिएर विवाद गरेका थिए। उनी कप्तान धोनी जस्तै कोठा चाहन्थे। 

३३ वर्षीय रैनाले सीएसकेबाट आइपीएलमा १ सय ९३ खेल खेलेका छन्। जसमा १ सय ३७ को स्ट्राइक रेटले ५ हजार ३ सय ६८ रन बनाएका छन्। 

उनको नाममा २५ विकेट पनि दर्ता छ। धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट १५ अगस्टमा सन्यास लिएको केही घण्टापछि नै उनले पनि सन्यासको घोषणा गरेका थिए। रैनाले १८ टेस्टमा ७ सय ६८ रन तथा २ सय २६ एकदिवसीयमा ५ हजार ६ सय १५ रन बनाएका थिए। 

उनले टेस्टमा एउटा र एकदिवसीयमा ५ वटा सतक बनाएका छन्। उनले टि–२० को ७८ खेलमा १६ सय ५ रन बनाएका छन्। टि–२० मा उनको नामममा सतक पनि छ।
 

प्रकाशित मिति: : 2020-08-31 09:16:32

प्रतिकृया दिनुहोस्