काँग्रेस १४ औँ महाधिवेशनः 

कास्कीमा नेतृत्वका लागि यस्तो छन् आकांक्षीको अंकगणित 

अघिल्लो वर्ष फागुन ७ देखि सुरु हुने भनिएको काँग्रेसको १४ औँ महाधिवेशन सर्याे। कोरोना महाव्याधीका कारण सरेको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुने बाध्यकारी व्यवस्था छ। 

यही बाध्यताअनुसार, कोरोना महाव्याधिबीच भदौ १६ देखि १९ गतेसम्म काँग्रेसको केन्द्रीय महाधिवेशन हुँदै छ। आसन्न महाधिवेशनलाई लिएर नेतृत्वका लागि केन्द्रदेखि स्थानीय तहसम्म दाउपेच चल्न थालिसक्यो। नेतृत्व र पावर सेयरिङको लागि चर्को बार्गेनिङ यतिबला काँग्रेसमा छ।

अब, काँग्रेस १४ औं महाधिवेशनमा कास्की काँग्रेस नेतृत्वको चर्चा गरौँ। केन्द्रमा जस्तै कास्कीमा पनि सबै जसो नेता कार्यकर्ता नेतृत्वका आंकाक्षी देखिन्छन्।   

नयाँ तथा पुराना पुस्ताका गरि करिब एक दर्जन नेताले कास्की काँग्रेसको नेतृत्वको लागि आकांक्षा देखाएका छन्। काँग्रेसको हिस्ट्री फर्केर हेर्ने हो भने नयाँ पुस्ताले नेतृत्व गरेको उदाहरण कमै देखिन्छ। 

यसै पनि राजनीतिको भुँग्रोमा दशकौं होमिएर खारिएका पुराना पुस्ताले सजिलै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरै भएन। यसकारण पनि नयाँ पुस्ताले नेतृत्व पाउने सम्भावना कमै मात्र छ। 

अघिल्लो महाधिवेशनमा कास्की काँग्रेसमा सिन्डिकेट चलाई रहेको शुक्रराज शर्मालाई पराजित गर्दै नेतृत्वमा इन्ट्रि मारेका कृष्ण केसी अर्को पटक नेतृत्वमा नआउने घोषणा गरिसकेको अवस्थामा नेतृत्वमा केसीको पुनरागमन नहुने आँकलन कास्की काँग्रेसले लिएको छ। 

कृष्ण केसी अघि कास्की काँग्रेस नेतृत्वमा शुक्रराज शर्मा थिए। १७ वर्षसम्म कास्की काँग्रेसको नेतृत्व एक्लै बोकेका शर्मालाई चुनावी रिङमा पराजित गर्दै नेतृत्वमा उक्लिएका केसी काँस्की काँग्रेसका प्रभावशाली नेता मानिन्छन्।

पछिल्लो आंकाक्षीको गणित हेर्दा वर्तमान उपसभापति आइबहादुर गुरुङ, क्षेत्रीय सभापति ब्रिजमान गुरुङ, बजिरमान श्रेष्ठ, रामबाबु भण्डारी, गुरु बराल, लक्ष्मी पाण्डे, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, वर्तमान सचिव देवेन्द्र रानाभाट, सचिव सुदिपमोहन भट्टराई, क्षेत्रीय सभापति पोषनाथ शर्मा, देवराज चालिसे लगायतका नेताहरु आंकाक्षीको रुपमा सुनिन्छन्। 

कास्की काँग्रेसका एक नेताका अनुसार अर्का नेता शोभियत अधिकारी, वीरेन्द्र बिजुक्छे र गंगाधार पराजुली पनि आंकाक्षीको रुपमा सुनिएका छन्। यद्यपि, खुलेरै चुनावी रिङमा उत्रिएको घोषणा भने कसैले गरेका छैनन्।

पदाधिकारी बैठकले लिएको निर्णयानुसार नयाँ सदस्यता शतप्रतिशत थपिने छन्। क्रियाशिल सदस्यता ५० प्रतिशत स्वतः थपिने हुँदा कास्कीमा २० हजारको हाराहारिमा क्रियाशिल सदस्य हुने अनुमान गरिएको छ।

अघिल्लो जिल्ला महाधिवेशनमा ७ सय १० प्रतिनिधि रहेकोमा आसन्न महाधिवेशनमा भने प्रतिनिधिले १५ सय नाघ्ने अनुमान गरिएको छ।
मतदाता जहाँ छ त्यहीबाट क्रियाशील सदस्यता लिनुपर्ने केन्द्रीय कमिटीको विधान अनुसार सदस्यता भरे पनि काटिने नयाँ प्रावधान छ। यो हिसाबले त्यस्ता सदस्यको उमेदवारी दिन पाउँदैनन्। 

मतदाता नभएको ठाउँमा क्रियाशिल सदस्य दर्ता गराई भोलि उम्मेद्वारको रुपमा उठे विधान अनुसार उजुरी गरेको खण्डमा क्रियाशील सदस्यता खारेज गर्ने सम्भावना रहन्छ।

१४ औं महाधिवेशन तालिका अनुसार असार २० मा क्रियाशीलत सदस्यता पार्टी सभापतिलाई बुझाउने। २४ असारमा पार्टी सभापतिले सही गरेर निर्वाचन समितिलाई बुझाउने। 

यसैगरी, साउन १२ मा वडा अधिवेशन। साउन १६ मा वडा र नगर समितिको अधिवेशन। साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन। साउन २३ मा एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन। 

साउन २६ मा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन। भदौ १ र २ मा प्रदेश समितिको अधिवेशनपछि भदौ १६ देखि १९ सम्ममा राष्ट्रिय महाधिवेशन सक्ने रहेको छ। 

सतहमै नदेखिए पनि भित्रभित्रै चुनवी रन्कोमा कास्की काँग्रेस दौडधुपमा छ। अबको नेतृत्वमा कसले बाजि मार्छ। त्यो त हेर्न बाँकी नै छ। 

प्रकाशित मिति: : 2021-06-30 19:35:00

प्रतिकृया दिनुहोस्