सिल्भालाई कोरोना संक्रमण

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरस (काेभिड १९) संक्रमण देखिएको छ।

सिटी छाडेर ला लिगा क्लब रियल सोसिडाड आवद्द भएका ३४ वर्षीय सिल्भाकाे सोमबार गरिएकाे मेडिकल परीक्षणमा कोरोना संक्रमण भएकाे पुष्टि भएकाे हाे।

कोरोना भाइरस संक्रमण भएपछि सिल्भा सेल्फ आइसोलेसनमा बसेका छन्।  उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ।

स्पेनिस मिडफिल्डर सिल्भाले दुई साता अघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए।

सन् २०१० मा स्पेनिस क्लब भ्यालेन्सियबाट सिटीमा आएका उनले १० वर्षको दौरान सिटीबाट ४३६ खेल खेल्दा १४ वटा ट्रफी उचाले। 

जहाँ उनले ४३६ खेल खेल्दै ७७ गोल गरेका छन्। सिटीमा रहँदा उनले चार प्रिमियर लिग, २ एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड उपाधि जितेका छन्।

सिल्भाले प्रिमियर लिगमा मात्र सिटीका लागि ३०९ खेल खेले। जसमा उनले ६० गोल गरे।

सिटीले २०१२, २०१४, २०१८ र २०१९ मा सिटीले प्रिमियर लिगको उपाधि जित्दा उनको महत्वपूर्ण योगदान दिए।

यस्तै उनले प्रिमियर लिग बाहेक अन्य प्रतियोगितामा पनि उत्कृष्ट खेले।

उनले सिटीका लागि सर्वाधिक युरोपियन खेल खेल्ने रेकर्ड बनाए।

उनले एक दशकमा सिटीबाट ७० च्याम्पियन्स लिगका खेलमा प्रतिस्पर्धा गरे।

स्पेनले २०१० को विश्वकप जित्दा तथा २००८ र २०१२ को युरो कप जित्दा उनी राष्ट्रिय टिममा थिए।

प्रकाशित मिति: : 2020-09-01 05:51:42

प्रतिकृया दिनुहोस्