टिप्पणी

टेलिभिजन कार्यक्रम: कति वास्तविक ?

कुनै पनि टेलिभिजन च्यानलको ‘टक शो’ हेर्नुस्, प्राय: त्यसमा कार्यक्रम प्रस्तोताले अन्तर्वार्ता दिन आएको पाहुनाहरुको झ्याँको झारिरहेको अर्थात् आक्रामक प्रश्न सोधेर त्यसको अपमान गरिरहेको देख्न पाइन्छ र त्यो कार्यक्रम हेरेर सामान्य दर्शकहरुले फलानोले क्या प्रश्न सोध्छ भनेर प्रस्तोताको तारिफ गरेको सुन्न पाइन्छ। यदि तपाईं त्यो प्रस्तोता त्यस्तै निडर छ भन्ने कुरामा सतप्रतिशत विश्वास गर्नुहुन्छ भने तपाईं अपवादलाई छोडेर भ्रममा हुनुहुन्छ। अधिकांश त्यस्ता कार्यक्रमहरु रेकर्डेड हुन्छन् र प्रश्न उत्तर पहिले नै तयार पारिएको हुन्छ अर्थात् मैले यस्तो-यस्तो प्रश्न सोध्छु र तपाईंले यस्तो-यस्तो उत्तर दिनुहोला भनेर फिक्सिङ गरिएको हुन्छ।

यो सबै नाटक मञ्चन कार्यक्रमको टिआरपी (टेलिभिजन वा टार्गेट रेटिङ्ग प्वाइण्ट) बढाउनको लागि हुने गर्छ। सामान्य अर्थमा जुन कार्यक्रमको टिआरपी बढी भयो, त्यो कार्यक्रमको विज्ञापन (एड)को दर महंगो हुन्छ र त्यसले बढी विज्ञापन पनि पाउँछ। जुन च्यानल वा कार्यक्रम धेरै हेरिन्छ त्यो च्यानल वा कार्यक्रमको टिआरपी पनि बढी हुन्छ। यो टिआरपी ब्रोडकास्टिङ्ग अडियन्स रिसर्च काउन्सिल (बि.ए.आर.सी) नामक संस्थाले विभिन्न तरिकाले निर्धारण गर्छ। यसको लागि हरेक घरको टेलिभिजनसँग जोडिएको सेटटप बक्सभित्र गोप्य तरिकाले एउटा यन्त्र राखिएको हुन्छ, जसलाई ‘पिपुल्स मिटर’ भनिन्छ। यो सबै सेटटप बक्समा जोडिएको हुँदैन र अमेरिकामा करिब ५० हजार घरमा मात्र जोडिएको छ। यो यन्त्र जडान गर्दा अन्दाजी रुपमा सहरी र ग्रामीण क्षेत्र, उमेर र लिङ्गको आधारमा र भाषा र राज्य औसत रुपमा राखिन्छ। यसबाट कस्तो ‘टार्गेट ग्रुप’ले कुन च्यानल र कस्तो कार्यक्रम बढी रुचाउँछन् भन्ने थाहा पाइन्छ। यसबाट कति जनाले र कति समय उक्त च्यानल वा कार्यक्रम हेर्छन भन्ने जानकारी पाउन सकिन्छ।

यसरी टिआरपी बढाउनको लागि रियालिटी शोहरुमा जर्जहरु धुरुधुरु रुने, टक शोहरुमा निश्चित धर्मका मान्छेहरुलाई चोट पर्ने कुरा गर्ने जस्ता नाटक गरेर आफ्नो कार्यक्रम र च्यानल धेरै भन्दा धेरै मान्छेहरुलाई हेर्न बाध्य पारिन्छ। जस्तै रिपब्लिक भारत नामको एउटा भारतीय च्यानलमा एकपटक एउटा मान्छे ‘गौमुत्र खाने सबै मूर्ख हुन्’ भन्दै थियो। अब तपाईं आफैं विचार गर्नुस्, गौमुत्र कसले गिलासभरि राखेर पिउछ ? यो एउटा श्रद्दाले अलिकति मुखमा लगाउने वस्तु हो। अब यस्तो मान्छेको धर्म र श्रद्धाजस्तो संवेदनशील विषयको विरोधमा कसैले बोल्यो भने त्यो धर्म मान्ने मान्छेले नबिराइकन हेर्ने भयो र त्यो च्यानलको टिआरपी बढ्न जान्छ। आफूलाई राष्ट्रको चौंथो अङ्ग दाबी गर्नेहरुले गरेको घटिया क्रियाकलापहरुको बारेमा लेख्यो भने एउटा छुट्टै पुस्तक लेख्न सकिन्छ।

हाम्रो देशमा पनि विदेशको भद्दा नक्कल गर्दै चिच्याउने पत्रकारिताको विकास हुँदैछ। च्याउझैँ उम्रिएका टेलिभिजन चयानलहरु र अपवादबाहेक नेपाल सरकारको पिउनको परीक्षा पनि उतीर्ण गर्ने हैसियत नभएका कार्यक्रम प्रस्तोताहरुले सोध्ने गरेको वहियात प्रश्न सुन्दा त्यस्ता कार्यक्रमप्रति नै आमदर्शकहरुको दृष्टिकोण त्यति सकारात्मक छैन। पंक्तिकारले नबुझेको के भने टक शोमा आएका पाहुनाहरु त्यस्ता सुन्दै नमिठो लाग्ने प्रश्नको उत्तर दिएर बस्नु भन्दा त्यो प्रस्तोतालाई एक थप्पड हानेर बाहिर किन निस्कन्न ? सायद उनीहरुले यस्तो भद्दा प्रश्नको उत्तर दिन च्यानलबाट केही रकम लिएको हुनुपर्छ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा मनपरिलाई पत्रकारिता मानेर सम्बन्धित निकायले पनि आँखा चिम्लिदा पत्रकारको आवरणमा गैरजिम्मेवार झुण्डले जे मन लाग्यो त्यो गर्दा वास्तवमै ‘इथिकल जर्न्लिजम’ गर्नेहरुलाई पनि अफ्ठ्यारो परेको कुरालाई पनि नकार्न सकिन्न। अत: आदरणीय दर्शकहरुले नै त्यस्ता कार्यक्रम नहेरे समस्या अलिकम हुन्थ्यो कि ?

प्रकाशित मिति: : 2023-03-17 16:00:00

प्रतिकृया दिनुहोस्