चेन्नईलाई अर्को झट्का, हरभजनले पनि आइपीएलबाट नाम फिर्ता लिए

इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किङ्स (सीएसके) को समस्या झन् बढ्न थालेको छ। सुरेश रैनाले टिम छोडेको केही दिन नबित्दै अफ स्पिनर हरभजन सिंहले पनि प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्। 

हरभजनले पनि आइपीएलबाट बाहिरिने कारण नीजि बताएका छन्। सुरेश रैना भारत फर्किसकेका छन् भने हरिभजन टिमसँग युएई गएका थिएनन्। हरभजनले अहिले आफू जालन्धरस्थित आफ्नो घरमा रहेको बताएका छन्। 

उनले आफू युएई आउन नसक्ने जानकारी टिम व्यवस्थापनलाई दिइसकेको बताए। हरभजनलाई सीएसकेले यो सिजनका लागि २ करोड उपलब्ध गराएको थियो। उनले आफूलाई मौका दिएकोमा सीएसकेलाई धन्यवाद भनेका छन्। 

उनले कोभिड–१९ को माहौलमा अहिले आफ्नो प्राथमिकता घरमा बस्नु रहेको स्पष्ट पारेका छन्। उनले टिमलाई राम्रो प्रदर्शनको अग्रिम शुभकामना दिए।

हरभजनले आइपीएलको १६० खेलमा १५० विकेट लिएका छन्। उनले ८२९ रन पनि बनाएका थिए। हालै सार्वजनिक रिपोर्टमा सीएसकेका २ खेलाडी र ११ जना स्टाफमा कोरोना संक्रमण देखिएको थियो। आइपीएल यही १९ सेप्टेम्बरदेखि दुबई, शारजाह र अबु धाबीमा सुरु हुँदैछ।

प्रकाशित मिति: : 2020-09-04 18:12:46

प्रतिकृया दिनुहोस्