मालिनी छन्दका ५ मुक्तक

नभभरि ग्रह तारा, चढ्नुपर्नेछ हामी
भ्रमण जगत सारा गर्नुपर्नेछ हामी
जलथलसब डुल्दै खोज्न सामान्य ज्ञान
दृढ मुटु छ सहारा बढ्नुपर्नेछ हामी। 

चम चम चम गर्ने कार चाली गुडौँला
जलमनि पनडुब्बी यन्त्र हाली बुडौँला
अरुसरि अब हामी बेस विज्ञानद्वारा
असल उडन झूला पङ्ख खोली उडौँला। 

नियति नियम त्याग्ने ठाम नै छैन भाग्ने
अरुसँग कर थाप्ने काम नै छैन माग्ने
मिहिनत पसिनाले बुद्धिले बन्छ काम
पर-मुख कति ताक्ने? नाम नै छैन जाग्ने?

नव नव सिक भाषा, जान विज्ञान खासा
नवपिँढि तिमिमाथी जातिले राख्छ आशा
कति छ कति छ गर्नै राष्ट्रका लागि काम
अघि बढ दृढताका साथ त्यागी निराशा। 

हरि पनि भज भाई! नाच गाऊ रमाऊ
घुम फिर -खुब-मीठो खाउ राम्रो लगाऊ
घर परिजन तिम्रा छन् त वैराग्य कस्तो?
जगत जटिल बन्दै गा’छ पैसा कमाऊ!

प्रकाशित मिति: : 2020-09-05 15:02:00

प्रतिकृया दिनुहोस्