दृष्टिविहीन दम्पतिलाई इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटीद्वारा ७० हजार बढी सहयोग

जुम्ला तातोपानी गाउँपालिकाको सर्मीमा अन्तरजातीय विवाह गरेका दृष्टिविहीन दम्पतीलाई सहयोग गर्न जुटेका  इन्जिनियर र नर्सहरुले करिब ७० हजार बढी रकम संकलन गरेर बुझाएका छन्।

मनबहादुर कुँवर र गोरिकला सुनार जात र शारीरिक अवस्थाका कारण अपहेलित भएर समाजमा बस्न गाह्रो भएपछि गीत गाउँदै गाउँगाउँ हिँडिरहेका छन्। 

पछिल्लो समय कोरोनाको कारण गाउँगाउँ गएर गाउँन असजिलो भएपछि उनीहरुको जिविकोपार्जनमा समस्या आएकाले ‘इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटी फेसबुक ग्रुप’ सहयोगमा जुटेको इन्जिनियर नवीन जैशीले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘दृष्टिविहीन दम्पतीलाई खाद्यान्न, बसोबास र शौचालय केही पनि नभएर समस्या भएको सूचना पायौं,’ उनले भने, ‘साह्रै कारुणिक अवस्था देखेपछि फेसबुकमा ग्रुप बनाएर उहाँहरुको सहयोगका निम्ति जुटेका थियौं। हाल केही सहयोग जुटाउन सकेका छौं।’

उनका अनुसार इन्जिएर एण्ड नर्स रिभोलुस्नरी सोसाइटी फेसबु ग्रुप बनाएर दृस्टीविहिन दम्पतीको निम्ति साउन १७ देखि ३२ सम्म सहयोग संकलन गरिएको थियो। उक्त अवधिमा  ७० हजार दुई सय ४७ रुपैयाँ सहयोग संकलन भयो। 

‘हाम्रो ग्रुपले यो अवधिमा संकलन गरेको सानो रकमले उहाँहरुलाई केही राहत होस भन्ने चाहना हो,’ उनले भने, ‘मन बहादुर कुँवरको खातामा अनलाइन ट्रान्सफर गरिदिएका छौं।’

अन्तरजातीय विवाह गरेर समस्या खेपिरहेका उनीहरुको विचल्लीबारे थाहा पाएपछि ग्रुपका सबै साथिहरुबीच छलफल गरि अभियान चलाएको एड्मिन समेत रहेका जैसीले थपे।  

‘छोटो समय तथा कोभिड–१९ को अवधि भएता पनि सबै साथिहरुको उत्साहजनक सहभागिताले गर्दा यो  सहयोग संकलन गर्न सम्भव भयो,’ इन्जिनियर विरेन रावलले भने, ‘हामीले हाम्रो यस ग्रुपका प्रतिनिधि, जिल्ला स्थित सरोकारवालाहरुको संयुक्त उपस्थितिमा सो रकम हस्तान्तरण गर्ने योजना बनाएका थियौं तर जुम्लामा हाल निषेधाज्ञा जारी रहेकाले हाम्रो प्रत्यक्ष सहभागिता हुन सकेन।’

कुँवरसँग प्रत्यक्ष भेटेरै सहयोग गर्ने इच्छा हुँदा पनि परिस्थितिले अनलाइन मार्फत काम गर्नुपरेको इन्जिनियर सागर न्यौपानेले बताए। 

‘परिस्थितिले हामी नजिक हुन सकेका छैनौं। तथापि हामीले उहाँहरु जस्ता समाजको पिधमा रहेका नागरिकको सेवा गर्ने योजना बनाएका छौं। यो पहिलो खुट्किलो हो। यसले उत्साह बढाएको छ,’ उनले भने।

कुँवर र सुनार जस्तै समाजमा रहेका दिनदुखीलाई यसरी ग्रुपद्वारा अभियान चलाई सहयोग गर्न पाउँदा आफूहरु औषधि खुसि भएको अर्का एड्मिन इन्जिनियर अद्दितीय सुवेदीले बताए। 

हाल आफ्नो ग्रुपका मेम्बरहरुको नाम, ठेगाना तथा रक्त समूह संकलन गरि आवश्यक परेको ठाउँमा सहयोगका लागि सहजिकरण पनि गरिरहेको नर्स सृजना वलीले जानकारी दिइन्। 

‘हामीले निकै सानो सानो रकम जुटाएर उहाँलाई थोरै भएपनि सहयोग गर्न पायौं,’ उनले भनिन्, ‘हाल आएर सन्तोषको सास फेर्न पाएका छौं।’

अर्की एड्मिन तथा नर्स स्वाइच्छा तुलाधरले फेसबुक ग्रुपलाई विश्वास गरि सहयोग गर्ने सबै प्रति आभार प्रकट गरिन्। 

‘हाम्रो सहयोग संकलन अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने र फेसबुककै माध्यमबाट एड्मिनहरुलाई विश्वास गर्ने सम्पूर्ण सहयोगि मनहरुप्रति धन्यवाद तथा आभार प्रकट गर्दछु,’ उनले भनिन्, ‘आगामी दिनहरुमा पनि समाजमा रहेका दिन दुखीहरुका लागि सहयोग जुटाउन हामी सदैव तयार छौं।’

पहिलो पटकको अभियानमा सबैतिरबाट सहयोग मिलेकोले पनि आगामी दिनमा यस्ता खाले थुप्रै अभियान चलाउने ग्रुपले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-05 20:42:45

प्रतिकृया दिनुहोस्