मेयर– रोल्पा नगरपालिका

‘शैक्षिक हब बनाउने मूल नीति अनुसार महत्वपूर्ण काम गर्‍यौँ’ [भिडियाेसहित]

Breaknlinks
Breaknlinks

हामी निर्वाचित भएको चार वर्ष पूरा भइसकेको छ। अब हामीहरू पाँचौ वर्षको बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रक्रियामा छौँ। आजसम्म आउँदा विभिन्न अनूभुतिहरू भएको छ। जनताको काम गर्दा वा जनताको सेवा गर्दा हामीहरूसँग राम्रा अनूभुति छन्। केही सकारात्मक अनूभुति छन्। केही नकारात्मक अनूभुति पनि छन्। मूलतः चार वर्षमा राम्रै काम गरेको र आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको अनुभव भएको छ।

०००

स्थानीय तहको निर्वाचनपछि जुन जिम्मेवारी प्राप्त गर्‍यौँ– यो संविधानको मूल मर्म अनुसार नै प्राप्त गरेको जिम्मेवारी हो। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भइसकेपछि त्यही अनुसारको संरचना भएको छ। संघीय, प्रदेशिक र स्थानीय संरचनाको अभ्यास गर्दैआएका छौँ। हामीहरू सबैभन्दा पहिले स्थानीय तहको निर्वाचन भइसकेपछि नेतृत्व गर्ने जिम्मेवारी पायौँ। हामीले हिजो जनताको बीचमा आफ्नो क्षमता र प्रतिबद्धता जे गरेका थियौँ! यो प्रतिबद्धताहरूलाई बजेट तथा कार्यक्रमको रूपमा प्रस्तुत गर्ने, नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत गर्ने र त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त गयौँ।

०००

सबैभन्दा बढी जनतासँग जोडिएको ‘तह’ भनेको स्थानीय सरकार नै हो। जनताका धेरै समस्या जो– स्थानीय तहबाट हल गरिनुपर्ने त छदैँछन्। प्रदेश र संघबाट पूरा गरिनुपर्ने जिम्मेवारी छन्। त्यो जिम्मेवारीहरू पनि हामीसँग जोडिएर आउँछन्। जस्तोः हामीले प्रतिबद्धता गरेको भन्दा बढी प्रदेश सरकार र संघीय सरकारबाट प्रतिबद्धता गरिएका छन्। उहाँहरूले कार्यनयन गर्नुपर्ने कुराहरू पनि हामीकहाँ जनताले प्रश्न गर्नुहुन्छ। हामीले गरिआएका कामहरूमा उहाँहरूले ठिकै गर्नुभएको भन्ने प्रतिक्रिया पाएका छौँ।

०००

संघीय र प्रादेशिक सरकारको सन्दर्भमा कतिपय कुराहरू पूरा हुन सकेका छैनन्। त्यो पूरा हुन नसकेका कुराहरू हामीकहाँ आउँछन्। जनतासँग दिनदिनै भेट्नुको नाताले पहिले प्रतिबद्धता गरेका कुराहरू छिटो लागू गर्नुपर्‍यो भन्ने उहाँहरूको कुरा छ। अन्य तह भन्दा हाम्रो चाहीँ केही अप्ठेरो छ। प्रत्येक समयमा प्रत्येक जनताको प्रश्नको उत्तर दिने ठाउँमा हामीहरू छौँ। त्यसैले स्थानीय तहको नेतृत्व गर्ने कुरा केही गाह्रो, अप्ठेरो हो, जस्तो लाग्छ।

०००

निर्वाचनताका जनताको बीचमा जाँदा जुन प्रतिबद्धता हाम्रो तर्फबाट भएका थिए– शिक्षा, स्वास्थ्य, भौतिक पूर्बाधार, पर्यटनलगायत विभिन्न क्षेत्रमा निम्न कामहरू गछौँ, भनेका थियौँ। जे–जे कुराहरू प्रतिबद्धता गर्‍यौँ, त्यसको मूल हिस्सा पूरा भएका छन्। केही कुराहरू पूरा भएका छैनन्। त्यसैले यो बीचमा हामीले हाम्रोतर्फबाट भएका कुराहरूमा मूलतः शिक्षाको क्षेत्रमा रोल्पा नगरपालिकालाई शैक्षिक ‘हब’ बनाउने मूल नीति अनुसार कामकाज गर्‍यौँ।

संघीय, प्रदेशिक सरकारसँग समन्वय गर्नुपर्ने कामहरू थिए। कतिपय रोल्पा नगरपालिका आफैँले गर्नुपर्ने थिए। त्यो सबै कामहरूमा कतै समन्वय गर्नुपर्ने काम र कतै आफूले गर्नुपर्ने कामहरू हामीले गरेका छौँ। शैक्षिक हबका निम्ति के–के सम्भावनाहरू थिए, त्यतिखेर भने रोल्पा नगरपालिकाको एक नम्बर वडामा रोल्पा पोलिटेक्निकल कलेज स्थापनाको चरणमा थियो। त्यो चाहीँ बन्दै थियो। पूर्णरूपमा बनेर अहिले धेरै कक्षाहरू पनि सञ्चालन भइसकेका छन्। जलजला क्याम्पस आङ्गीक भइसकेको थिएन। त्यो पनि आङ्गीक भएर पठन–पठानहरू भइरहेको छ। माडीचौरको कृषि क्याम्पस पनि त्यतिबेला सञ्चालन भइसकेको थिएन। निर्णयको प्रक्रियामा थियो। अहिले सञ्चालन भइसकेको छ।

०००

रोल्पा नगरपालिकाभित्रका नमूना विद्यालयहरूलाई पनि पूर्णता दिनु थियो। त्यसैले शिक्षाको क्षेत्रमा रोल्पा नगरपालिकाभित्र रहेका धेरै शैक्षिक संस्थाहरू जुन छन्– तिनीहरूको नेतृत्व गर्ने जिम्मेवारी थियो नै। शिक्षालयहरूको पठन–पाठन गर्नुपर्ने जिम्मेवारी हामीमा थियो, त्योपनि पूरा भएको छ। शिक्षाको क्षेत्रमा राम्रो काम गरेका छौँ। कसैले तपाईंहरूले सोचे अनुसारको काम गर्नुभएन भन्ने कुरापनि होला! तर शिक्षा यस्तो क्षेत्र हो– त्यसको नतिजा वा परिणाम केही पछि मात्रै देखिन्छ। शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्‍यौँ। त्यसको दुईवटा क्षेत्र छन्। एउटा– शैक्षिक गुणस्तरको कुरा छ। दाेस्रो – शिक्षाको भौतिक पूर्बाधारको कुरा छ। दुईवटै कुरामा हामीले महत्वपूर्ण कामहरू गरेजस्तो लाग्छ।

०००

अर्को महत्वपूर्ण काम स्वास्थ्य क्षेत्रमा गर्‍यौँ। स्वास्थ्यको सन्दर्भमा दर्जनौँ संस्थाहरू निर्माण गर्‍यौँ। जस्तैः शहरी स्वास्थ्य केन्द्र, आधारभुत स्वस्थ्य केन्द्र, गाउँघर क्लिनिक, खोप केन्द्रहरूको स्थापना गरेका छौँ। अहिले सेवाहरू सञ्चालन भइरहेका छन्। जिल्ला अस्पतालमा पनि समन्वयमार्फत् गर्न सक्नेजति काम गरेका छौँ। नागरिकहरूलाई शिक्षा निशुल्क परिनुपर्छ भन्ने राज्यको नीति नै छ। कतिपय ठाउँका सन्दर्भमा गुनासो आएपछि प्रअको बैठकमा सम्बन्धित विद्यालयहरूसँग छलफल गरी शुल्क लिने काम रोक्नुपर्छ भनेर नगर शिक्षा समितिको तर्फबाट कुरा भएको छ।

– प्रस्तुत छ मेयर पूर्ण केसी (पुरण)सँग बिएल नेपाली सेवाका लागि मिनराज राेकाले गरेको भिडियो कुराकानीः

प्रकाशित मिति: : 2021-11-02 15:30:00

प्रतिकृया दिनुहोस्