नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का फिनिक्स कलेको अफ म्यानेजमेन्टको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्।
काठमाडौं थापागाउँस्थित कलेजले शनिबार अलरउण्डर खड्कालाई दुई वर्षका लागि एमबीए कार्यक्रमको एम्बासडर नियुक्त गरेको हाे।
पारसले फिनिक्स कलेजअन्तर्गत सञ्चालिन मास्टर्स इन बिजिनेस एड्मिनिस्ट्रेसन (एमबीए) कार्यक्रममा यसै सेप्टेम्बर सत्रदेखि अध्ययन पनि गरिरहेको कलेजले जनाएको छ।
शनिवार कलेजका निर्देशक लक्ष्मण पोख्रेल र पारसले सम्भौता पत्रमा हस्ताक्षर गरेका थिए। कलेजका प्रधानाध्यापक विनोद बहादुर खत्रीले पारस नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी पनि रहेको बताए।
‘पारस खड्काको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगाबले के प्रष्ट्याउँछ भने पिनिक्स कलेज राष्ट्रिय नायकहरु तथा मेधावी विद्यार्थीको लागि पहिलो रोजाइमा परेको कलेज हो,’ उनले भने।
यस्तै एक दशक राष्ट्रिय टिमको कप्तानी गरिसकेका पारसले खेलाडीहरुको लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक रहेको बताए।
‘खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ, विशेष गरी खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ। सोही कुरालाई मनन गर्दै एमबीए अध्ययन सुरुआत गरेको हुँ ,’ उनले भने।
फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो।