नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनल पुगेकाे छ।
लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित गर्दै जमैका सेमिफाइनल पुगेकाे हाे।
उसले लिग चरणका पछिल्ला चार खेलमा जित हात पार्न सकेन। तीमध्ये एउटा खेल वर्षाका कारण रद्ध भएको थियो।
लिग चरणमा १० खेल खेलेको जमैका तीन जित हात पारेर ७ अंकसहित चौथो हुँदै अन्तिम चारमा पुगेको हाे। उसले सेमिफाइनलमा मंगलबार लिग चरणमा कुनैपनि खेल नहारेको ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने छ।
लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो।
जमैकाले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गरेकाे थियाे। तर, तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जमैका पराजित हुन पुगेको हो।
जमैका ओपनर ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रनमा आउट भए। उनलाई जाहिर खानले १२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरे।
फिलिप्स आउट भएलगत्तै १३ औं ओभरको पाँचौ बलमा ब्ल्याकवुड २५ रनमा क्याच आउट हुन पुगे। उनले ३८ बलमा २ चौका प्रहार गरे। चाडविक वाल्टन १० रनमा रन आउट भए।
जाहिर खानले कप्तान रोभमान पवेललाई २ र आन्द्रे रसेललाई शून्यमा क्याच आउट गर्दै जुक्सलाई खेलमा फर्काएका थिए।
सन्दीप लामिछाने र विरसामी पेरुमलले खाता खोल्न सकेनन्।
जुक्सका जावेल ग्लेन ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। जाहिर खानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। केस्रिक विलियम्सले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो।
जुक्सका नाजिबउल्लाह जद्रानले २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रनको योगदान दिए। रोश्टन चेश ३६ बलमा १ चौका र १ छक्का सहित ३२ रन अविजित रहे।
ओपनर रहकीम कर्नवालले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिए। मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले १–१ विकेट लिए।
सन्दीप पाचौँमा स्थानमा
सन्दीप जारी लिग सबैभन्दा बढी विकेट लिने खेलाडीकाे पाँचाै स्थानमा रहेका छन्। प्रतियोगितामा उनले १२ विकेट लिएका छन्। उनले आफूले बलिङ गरेका हरेक खेलमा विकेट लिएका छन्।
९ खेलमा ३६ ओभर बलिङ गरेका उनले एक सय ८२ रन खर्चँदै प्रतिओभर ५.०५ रन औसतमा बलिङ गरेका छन्। तर, शीर्ष पाँच बलरमध्ये सबैभन्दा किफायती बलिङ इकोनोमीमा सन्दीप पहिलो स्थानमा छन्।
प्रतियोगितामा यो सिजन सर्वाधिक विकेट लिने बलरको सूचिमा जमैकाकै मुजिब उर रहमान १५ विकेटसहित शीर्षस्थानमा छन्। १५ विकेट लिएका गुयाना एमाजन वारियरका इमरान ताहिर बलिङ इकोनोमीमा पछाडि परेर दोस्रोमा छन्।
सेन्ट लुसियाका स्कट कगलैजिनले १४ र केस्रिक विलियम्सले १३ विकेट लिएका छन्।
अर्को सेमिफाइनलमा सेन्ट लुसिया र गुयाना भिड्नेछन्।