५ महिनापछि नारायणीमा ओपीडिसहित जनरल सेवा पुनः सञ्चालन हुँदै

वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम भएसँगै नारायणी अस्पतालले ५ महिनापछि ओपीडिसहित जनरल सेवा पुनः सञ्चालन गर्ने भएको छ। 

हाल वीरगञ्जमा निषेधाज्ञा जारी रहेको र निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बनेपछि असोज १ गते लगतै नारायणीमा जनरल र ओपीडि सेवा सञ्चालन हुने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिएल नेपाली सेवालाई बताए।

नारायणीलाई चाँडै जनरल र ओपीडि सेवा दिनेगरी सञ्चालन गर्ने सम्बन्धमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सन्जय ठाकुरसहितको टोलीसँग आज आफूले परामर्श गरेको र छिट्टै जनरल तथा ओपीडि सेवा सुरु हुने प्रमुख जिल्ला अधिकारी तामाङले बताए। 

मध्य तराईका जनताहरुको उपचारको केन्द्रको रुपमा स्थापित नारायणी अस्पतालमा ५ महिना देखी जनरल सेवा ठप्प हुदा सर्बसाधरण नराम्रोसँग प्रभावित भएका छन्। 

बिशेषगरी बारा, पर्सा, रौतहट र छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा बिरामीहरु उपचारका लागि नारायणी आउने गरेका छन्। तर, कोरोना संक्रमणको कारण जारी लकडाउन र निषेधाज्ञा तथा अस्पताललाई नै कोभिड अस्पताल बनाइएपछि बन्द भएको ओपीडि तथा जनरल सेवा सञ्चालन नआउदा सर्बसाधारण प्रभावित भएका हुन्।  

बिगतमा नेपाली कांग्रेस, राजपा लगायतका दलहरुले नारायणीलाई जनरल अस्पताल कायम गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेका थिए। हाल अस्पतालमा आकास्मिक सेवा र प्रसुति सेवा सर्पदंश र मृगौला रोगीको डायलिसिस सेवा सञ्चालन भएपनि जनरल सेवा  सञ्चालन नहुँदा सर्वसाधारण मर्कामा परेका छन्। 

सरकारले नारायणीलाई लेभल २ को कोभिड अस्पताल घोषणा गरेपछि अस्पतालबाट प्रवाह हुने अन्य सेवा ठप्प रहेका छन्। ५ महिनादेखि ओपीडि तथा जनरल सेवा ठप्प हुदा बिशेषगरी निम्न आयस्तर भएका सर्वसाधारणहरु उपचार नपाएर ज्यान गुमाउने अवस्था सृजना भएको छ। 

वीरगञ्जमा अहिले अस्थायी कोभिड अस्पतालको रुपमा गण्डक अस्पताल, वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय शैयाको छुट्टै अस्पतालसहित ३ वटा अस्पताल रहेका छन्। 

अहिले वीरगञ्जमा कोरोना संक्रमित हरुको संख्या समेत घट्दै गएको छ। यो अवस्थामा नारायणी अस्पतालले जनरल सेवा सञ्चालन नगर्ने हो भने कोरोना बाहेक अन्य रोगबाट ज्यान गुमाउनेहरुको संख्या वीरगञ्जमा बढ्ने देखिएको छ।

प्रकाशित मिति: : 2020-09-13 19:39:16

प्रतिकृया दिनुहोस्