इंग्ल्याण्डले तीन एकदिवसीय शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गरेको छ। यो नतिजासँगै शृंखला १–१ को बराबरीमा पुगेको छ। पहिलो खेलमा अस्ट्रेलिया १९ रनले विजयी भएको थियो।
तेस्रो तथा निर्णायक एकदिवसीय १६ सेप्टेम्बरमा म्यानचेस्टरको ओल्ड ट्राफोडमा हुनेछ। ३ विकेट लिएका जोफ्रा आर्चर म्यान अफ दि म्याच घोषित भए।
सन् २०१९ को विश्व कपपछि अस्ट्रेलियाको एकदिवसीयमा प्रदर्शन त्यति राम्रो हुन सकेको छैन। उसले पछिल्लो ९ मध्ये ६ खेलमा पराजय भाग्नु परेको छ। ३ खेलमा मात्र जित हात पारेको छ।
दोस्रो एकदिवसीयमा इंग्ल्याण्डले २ सय ३२ रनको लक्ष्य दिएको थियो। जवाफमा अस्ट्रेलियाको सुरुवात राम्रो भएपनि जित हात पार्न सकेन। डेभिड वार्नर लगातार दोस्रो पल्ट फ्लप सावित भए। आर्चरको बलमा ६ रन बनाएर उनी जोस बटलरको हाथबाट क्याच आउट भए।
मार्कस स्टोइनिस पनि ९ रन बनाएर पवेलियन फर्किए। आर्चरकै बलमा उनी पनि बटलरद्धारा नै क्याच आउट भए।
कप्तान एरोन फिन्च (७३) र मार्नस लाबुसाने (४८) ले मिलेर तेस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए। तर, उनीहरू पनि सफल भएनन्।
एक समय अस्ट्रेलियाले २ विकेटको क्षतिमा १ सय ४३ रन बनाइसकेको थियो तर, ६४ रनमा अस्ट्रेलियाले ८ विकेट गुमायो।
कंगारु ४८ दशमलव ४ ओभरमा २ सय ७ रन मात्र बनाएर अलआउट भयो। इंग्ल्याण्डका लागि क्रिस वोक्स र सेम करनले पनि ३–३ विकेट लिएका थिए। अन्तिम विकेट आदिल रासिदले लिए।
टस जितेर पहिलो इनिङको सुरुवात गरेको इंग्ल्याण्डको सुरुवात खराब थियो। २९ रनमा घरेलु टोलीले २ विकेट गुमाइसकको थियो। १ सय १७ रनमा टिमको आधा ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए। तर, कप्तान इयोन मोर्गनले ४२ तथा जो रुटले ३९ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए।
अन्त्यमा टोम करनले ३७ र रासिदले ३५ रन बनाए। अस्ट्रेलियाका लागि एडम जम्पाले ३ र मिसेल स्टार्कले २ विकेट लिएका थिए। जोस हेजलउड, प्याट कमिन्स र मिसेल मार्सले १–१ विकेट लिएका थिए।