थप उपचारका लागि क्रिकेट खेलाडी भण्डारीलाई काठमाडौ‌ं ल्याइयो

तस्वीर- नेप्लेज

दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। 

भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ। भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौं ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। 

भण्डारीलाई  केही बेरअघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट सिम्रिक एयरकाे हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पतालमा ल्याइएको हो।

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा भण्डारी मोटरसाइकल दुर्घटनामा परेका हुन्।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार भण्डारी घाइते भएका थिए। 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किँदा दुर्घटनामा परेका हुन्। मोटरसाइकलको पछाडि बसेका करन ठगुन्ना भने सामान्य घाइते भएका छन्।

दुर्घटनालगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो। उनलाई राति नै कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिए। 

ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटनालगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन्। फास्ट बलर भण्डारी अहिले राष्ट्रिय टोलीमा छैनन्। राष्ट्रिय टीमबाट डेब्यु गरिसकेका तीव्र गतिका बलर ललित पछिल्लो समय इन्जुरीका कारण टीमबाहिर रहेका थिए। 

पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए।  उनले सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। 

भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए। त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन्।

राष्ट्रिय क्रिकेट टोलीले आर्थिक सहयोग गर्ने

भण्डारीको उपचारका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आर्थिक सहयोग गर्ने भएको छ।

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सोमबार अपरान्ह सामाजिक सन्जालमा स्टाटस लेख्दै उक्त कुरा उल्लेख गरेका छन्। उनले सरोकारवाला निकायलाई भण्डारीको उपचारको लागि सहयोग गर्न पनि ध्यानाकर्षण गराएका छन्।

उनले लेखेका छन्- नेपाली राष्ट्रिय क्रीकेट टिमको सदस्य ललितसिँह भण्डारी हिजो कन्चनपुरको झलारीमा मोटर साइकल दुर्घटना परि घाइते भई धनगढीमा सामान्य उपचार पश्चात नेपालगन्ज मेडिकल कलेजमा रिफर गरी थप उपचारको लागि आज सिम्रिक एअरबाट काठमाण्डुको ग्राण्डी अस्पतालमा भर्ना गरी थप उपचार हुने सम्पूर्णमा जानकारीको लागि अनुरोध गर्दै निजको उपचारको लागि राष्ट्रिय क्रीकेट टिमको तर्फबाट आवस्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता गर्द्छु ।साथै सम्बन्धीत सरोकारवाला निकायहरुको गम्भिर ध्यानाकर्षण गर्दछु।
प्रकाशित मिति: : 2020-09-14 18:57:50

प्रतिकृया दिनुहोस्