भारतले निकासी रोकेको भोलिपल्ट नेपालमा प्याज महंगियो, एकैदिन बढ्यो १५ रुपैयाँ

भारतले निकासी बन्द गरेको भोलीपल्ट नै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ । भारतले सूचना प्रकाशित गरी सोमबारदेखि प्याज निकासी रोकेको हो । प्रतिवन्ध लगाएको भोलिपल्ट बुधबार प्याजको खुद्रामूल्य  प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ।

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा प्याजको मूल्य ह्वात्तै बढेको हो । कालीमाटी तरकारी बजारमा मंगलबार ५९ रुपैयाँमा बिक्री भइरहेको प्याज बुधबार मूल्य बढेर किलोको ७५ रुपैयाँ पुगेको हो। भारतले प्याज निकासी बन्द गरेपछि प्याजको मुल्य अझै आकासिने देखिएको छ । 

‘मंगलबार भन्दा बुधबार कालीमाटीमा प्याजको मूल्य बढेको छ । खुद्रा मुल्यमा नै ५९ रुपैयाँमा बिक्री भएको प्याज एकैदिन ७५ रुपैयाँ पुगेको छ’ कालीमाटी फलफुल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले भने, ‘भारतले प्याज निकासीमा प्रतिवन्ध लगाएकै कारणले यो मूल्य बढेको देखिन्छ ।’

स्वदेशी उत्पादन नहुँदा बढ्दो परनिर्भरताका कारण हरेक वर्ष प्याजको मूल्य घट्ने बढ्ने हुने गरेको श्रेष्ठको भनाई छ । भारतले निकासी बन्द गरेपछि प्याज मंहगो मात्र नभएर अभाव नै हुने उनी बताउँछन् ।

भारतले उत्पादन कम भएका कारण अभाव हुन थालेको भन्दै निकासीमा बन्देज लगाएपछि नेपालमा चाडपर्वकै मुखमा प्याजको मूल्य आकासिने देखिएको छ । 

श्रेष्ठका अनुसार, अझैपनि प्याजको मूल्य बढ्ने र चीनबाट महंगोमा आयात हुने सम्भावना रहेको बताउँछन् । नेपालमा चिनिँया प्याज त्यति आयात हुँदैन् । 

नेपालमा भारतीय प्याजले नै बजार ओगटेको छ । गत वर्ष मंसिरमा पनि प्याज निकासीमा बन्देज लगाएपछि नेपाली बजारमा प्याजको भाउ आकासिएको थियो । योसँगै चाडवाडका बेला प्याजको भाउ बढ्ने भएको छ । 

भारतले प्याज निकासी रोकेपछि व्यापारीहरु लुकीछिपी कालोबजारी गर्ने सम्भावना रहेको उपभोक्ताकर्मी बताउँछन् । 

प्रकाशित मिति: : 2020-09-15 12:39:46

प्रतिकृया दिनुहोस्