‘छोरा र श्रीमतीको हत्यापछि आत्महत्या’ 

गत शुक्रबार (भदौ २६ गते) भक्तपुरको एकै परिवारका तीन जना मृत फेला परेका थिए। मृतकमध्ये दुई जनाको शरीरमा धारिलो चोट देखिएको छ।

मध्यपुर थिमि नगरपालिका ९  निकोसेरास्थित घरभित्र एकै परिवारका तीन जना मृत फेला परेका थिए। 

आफ्नै घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेका थिए। 

जसमध्ये छोरा सुशान्त र श्रीमती सम्झनामाथि धारिलो हतियार प्रयोग भएको पोष्टमार्टमा रिपोर्टमा देखिएको छ। 

प्रहरीका अनुसार गत शनिबार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा तीनै जनाको पोष्टमार्टम गरिएको थियो। 

अस्पतालले प्रहरीलाई दिएको जानकारी अनुसार दुई जनाको धारितलो हतियार प्रयोगले मृत्यु भएको देखिएको हो। 

‘अस्पातलले दिएको मौखिक जानकारी अनुसार दुई जनाको हतियारको चोटका कारण मृत्यु भएको छ’, अनुसन्धानमा खटिएका एक प्रहरीले बिएल नेपाली सेवालाई बताए।

उनका अनुसार छोरा सुशान्तको शरीरमा चार वटा गहिरो चोट देखिएको छ। उनको खप्परको भागमा धारिलो हतियारले प्रहार भएको देखिएको हो। त्यस्तै घाँटी समेत रेटिएको छ। 

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार उनीहरूसँगै घरभित्र कुकुरसमेत मृत फेला परेको थियो। कुकुर र छोरा सुशान्तको शव घरको पहिलो तलामा भेटिएको थियो। पलङमा उनको शव भेटिएको थियो। 

त्यस्तै, सम्झनाको टाउकोमा ३ वटा ठूलो चोट लागेको देखिएको छ। उनको पनि छोराको जस्तै खप्परमा नै प्रहार गरिएको देखिएको हो। सम्झनाको शव घरको दोस्रो तल्लामा फेला परेको थियो। 

उनको पनि शरीर गन्हाउन र किरा पर्न थालेको अवस्थामा पलङमा नै फेला परेको थियो।

उनीहरूको शव सड्न थालेको हुँदा केही दिनअघि नै हत्या भएको हुनुपर्ने प्रहरीको आशंका छ।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग भएको खुर्पासमेत फेला पारेको छ। यता सुदीपको भने शरीरमा चोट देखिएको छैन। ‘उनको शरीरमा चोटपटक पनि देखिँदैन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घटनास्थलबाट हामीले दुई वटा सल्फरको बट्टा पनि फेला पारेका छौं।’

त्यस्तै घरको शौचालयमा सुदीपले वान्तासमेत गरेको देखिएको छ। ‘यसरी सबुत प्रमाणहरूलाई हेर्दा आमा-छोराको मृत्यु पहिले भएको देखिन्छ भने सुदीपको पछि अर्कै कारणले भएको देखिन्छ,’ ती अधिकृतले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानले आमा छोराको हत्यापछि सुदीपले आत्महत्या गरेको देखाएको छ। 

‘घटनालाई केलाउँदा पहिला हत्या अनि आत्महत्या गरेको देखिन्छ, तर अहिले यसै भन्न सकिने अवस्था छैन’, घटनाको अनुसन्धानमा जुटेका ती अधिकारीले भने।

त्यस्तै घरको शौचालयमा सुदीपले वान्तासमेत गरेको देखिएको छ। ‘यसरी सबुत प्रमाणहरूलाई हेर्दा आमा-छोराको मृत्यु पहिले भएको देखिन्छ भने सुदीपको पछि अर्कै कारणले भएको देखिन्छ,’ ती अधिकृतले भने।

एसएसपी थापाका अनुसार उनीहरूको घर पनि लिलामी हुने अवस्थामा पुगिसकेको थियो भने सुदीप बेरोजगार थिए।

सुदीपमाथि आर्थिक भार थपिँदै गएपछि केही समस्यामा परेको भन्ने उनीहरूका आफन्तबाट खुलेको प्रहरीले जनाएको छ।

घरमा केही दिनदेखि कोही प्रवेश गरेको नदेखिएको हुँदा अरूले हत्या गरेको भन्न नसकिने उनले बताए। 

प्रकाशित मिति: : 2020-09-15 15:15:00

प्रतिकृया दिनुहोस्