आन्तरिक उडान खुलाउने निर्णयसँगै यती एयरले खुलायो बुकिङ

सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले असोज ५ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेसँगै यती एयरले बुकिङ खुला गरेको छ । 

यतीसँगै तारा एयरले पनि बुकिङ खुला गरेको प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । ‘तत्कालका लागि यस अघि तोकेको गन्तव्यका लागि खुल्ला गरेका छौं’ प्रवक्ता बर्तौलाले भने, ‘सरकारी निर्णय नआएको कारणले हामीपनि केहि अन्यौलमै छौं ।’

सोमबार साँझ आन्तरिक उडान खुलाउने निर्णय गरेपनि कुन कुन गन्तव्यमा कति उडान गर्न दिने भन्ने जानकारी नआएको कारण सबै ठाउँको बुकिङ खुला नगरिएको उनले बताए । बुकिङ खुला गरे पनि अहिले धेरैले जानकारी लिन मात्र फोन गरेको र बुकिङ नै भने गरि नसकेको उनको भनाई छ।

यसअघिका निर्णयहरुपनि अन्तिममा रद्ध गरिएकोले तत्कालै यात्रुहरुले विश्वास गरेर बुकिङ गरिहाल्ने मुडमा भने छैनन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मन्त्रीपरिषदको पूर्ण निर्णय नआएको कारण कुन–कुन गन्तव्यमा उडान गर्ने भन्ने विषय यकिन गर्न नसकिएको बताए ।

निर्णय आउने बित्तिकै एयरलाइन्स सञ्चालकहरुसँग बसेर छलफल गर्छौ र कति उडान गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने उनको भनाई छ ।

प्रकाशित मिति: : 2020-09-15 17:35:56

प्रतिकृया दिनुहोस्