चन्द्रागिरि केबलकार बिहीवारदेखि सञ्चालनमा आउने

 विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ। लामो समयदेखिको लकडाउन र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो।

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिए।

‘यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधा मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेका छौँ,’ उनले भने।

प्रकाशित मिति: : 2020-09-16 22:27:41

प्रतिकृया दिनुहोस्