राष्ट्रियसभा निर्वाचन

गण्डकीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, कोरोना संक्रमितलाई छुट्टै बुथकाे व्यवस्था

File Photo
File Photo

बुधबार (भाेलि) हुने राष्ट्रिय सभा निर्वाचनको लागि गण्डकीमा सबै तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय गण्डकीको भवनमा हुने मतदानमा बुथ निर्माणदेखि सबै खाले तयारी पूरा भएको हाे।

कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक बढी रहेको अवस्थामा संक्रमित मतदाताको लागि पनि छुट्टै बुथ तयार पारिएको छ। यसले संक्रमणको जोखिम कम हुने निर्वाचन कार्यालय गण्डकीले जनाएको छ।

'कोभिड संक्रमित मतदाता र अन्य मतदातालाई छुट्टै बुथ बनाएका छौं। यसले संक्रमणको जोखिम कम हुने विश्वास लिएका छौं', निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले भने।

९ बजेदेखि सुरु हुने मतदान दिउँसो ३ बजेसम्म चल्ने छ। राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट रिक्त ३ पदमा ६ उम्मेद्वार भिड्ने छन्। रिक्त पदका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का खुलातर्फ पुण्यप्रसाद पौडेल कास्की, महिलातर्फ लीला पोखरेल थनेट नवलपुर र दलिततर्फ अर्जुनप्रसाद सुनाम उम्मेदवार छन्।

सत्तारुढ गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसले १ र माओवादी केन्द्रले दुई सिट पाएको छ। कांग्रेसले महिलातर्फ गोरखाकी कमला पन्त र माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनार उम्मेदवार छन्। ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता छन्।

प्रकाशित मिति: : 2022-01-25 20:12:00

प्रतिकृया दिनुहोस्