बिजेपी सांसद नितेशको दावी–सुशान्तको निधनको रहस्य उनको मेनेजरको हत्यासँग जोडिएको छ

अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणको रहस्य मेनेजर दिशा सालियानको निधनसँग जोडिएको भारतीय जनता पार्टी (बिजेपी) का सांसद नितेश राणेले दावी गरेका छन्। 

सुशान्तको निधन हुनुभन्दा ६ दिनअघि दिशाको निधन भएको थियो। दिशाको निधनलाई पनि मुम्बई प्रहरीले आत्महत्या प्रमाणित गरेको थियो। दिशा आफ्नो घरको १३ तल्ला माथिबाट तल झरेर मरेकी थिइन्। 

महाराष्ट्रका पूर्व मुख्यमन्त्री नारायण राणेका छोरासमेत रहेका नितेशले निधनभन्दा अगाडि दिशाले १०० नम्बरमा डायल गरेर मुम्बई प्रहरीसँग सहयोग मागेको दावी गरेका छन्। उनले मुम्बई प्रहरीमाथि प्रश्न उठाउँदै भने, ‘दिशाले १०० नम्बरमा फोन गरेर पुलिससँग सहयोग माग्दा प्रहरी किन उनलाई बचाउन गएन?’

उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्, दिशालाई एउटा पार्टीमा जबरदस्ती बोलाइएको थियो। र, पार्टीमा उनीसँग गलत व्यवहार भएपछि छोडेर हिडेको र मलाड–मालवानीस्थित आफ्नो घर फर्किने क्रममा उनले प्रहरीलाई सहयोगका लागि फोन गरेकी थिइन्। 

प्रहरीसँग उनले १०० नम्बरमा फोन गरेको रेकर्ड हुनुपर्ने उनको भनाई थियो। उनले दिशाको निधन आत्महत्या नभई हत्या भएको पनि दावी गरे। उनले दिशाको हत्याको रहस्य अभिनेता सुशान्तसँग पनि जोडिने दावी गरे। 

‘प्रहरीसँग सहयोग मागिरहेकी केटीलाई मुम्बई प्रहरीले किन कुनै छानवीन नगरि आत्महत्या गरेको प्रमाणित गर्न लाग्यो? यो नै रहस्यमय छ। यसको रहस्य पत्ता लागे, सुशान्तको निधनको तथ्य पनि बाहिर आउने छ,’ उनले भने। 

नितेशले जसले दिशालाई मार्यो, त्यही समूहले सुशान्तको हत्या गरेको दावी समेत गरे। उनले दिशाको घरको १३ तल्लाबाट तल झरेर निधन हुँदा कोठामा उनका प्रेमी रोहन राय पनि सँगै रहेको खुलासा गरे। तर, रोहन २५ मिनेटपछि मात्र कोठाबाट बाहिर निस्किएको र उनले ९ जुनमा अन्तिम संस्कार गर्न साथीहरूलाई बोलाएको दावी गरे।

‘तर, प्रहरीले दिशाको पोस्टमर्टम ११ जुनमा गरेको भनेको छ। ९ जुनमा दाहसंस्कार गर्न रोहनले साथीहरूलाई बोलाएका थिए। दाहसंस्कार भइसकेपछि कसरी पोस्टमर्टम भयो?’ उनले प्रश्न गरेका छन्। 

दिशाको निधनपछि रोहन निकै डराएको र उनी मुम्बई छोडेर बेङ्लोरस्थित आफ्नो घर फर्किएको उनको दावी छ। उनले बिहीबार केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै रोहनको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। 

‘दिशाको निधनको केही दिनपछि रोहनसँग मेरो कुरा भएको थियो। ऊ निकै डराएको थियो। मैले उसलाई साँचो कुरा बोल्नुपर्छ भनेको थिए,’ राणेले दावी गरे, ‘जसले दिशाको हत्या गर्यो उनीहरूले नै रोहनलाई मुम्बईबाट भगाएका थिए।’

प्रकाशित मिति: : 2020-09-18 07:57:42

प्रतिकृया दिनुहोस्