जनता भोकै पर्दै छन्, भोकले मर्दै छन्

संसद्मा राष्ट्रपतिले ‘अब कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भनेर २ जेठमा घोषणा गरेको साँझ सप्तरीका मलर सदाको घरमा चुलो बलेन । त्यसपछि चार दिनसम्म भोकै बसेको परिवारलाई अन्न जुटाउन छाता र कोदालो बोकेर निस्किएका मलर सदा बाटोमै बेहोस भए र ज्यान गयो । त्यसपछि भोकै पर्ने र भोकै मर्ने डरलाग्दो शृंखला जारी छ ।

न जमिन छ, न बैंक खाता । न शैक्षिक प्रमाणपत्र छ, न बैंकले कर्जा दिन्छ । त्यसैले ५० वर्षको उमेरसम्म पनि मलर सदासँग नागरिकताको प्रमाणपत्र थिएन । तर, अब भने राज्यबाट केही राहत हुन सक्छ भनेर उनले नागरिकता बनाउने फारम किनेर ल्याएका थिए । आफूसँगै श्रीमती र तीन छोराको पनि नागरिकता बनाइदिने उनको योजना थियो । तर, उनको रहर पूरा भएन । महामारीको बीच ज्यालादारी काम पनि नपाएर भोकले उनको मृत्यु भयो । यसरी ५० वर्षको उमेरमा एक नेपाली (अ)नागरिकको मृत्यु भयो । मूलीको निधन भयो, नागरिकताको फारम भने अमूल्य नै होला भन्ने ठानेर उनको परिवारले अझै पनि घामपानीबाट जोगाएर राखेको छ । 

गत फागुन दोस्रो साता मलरका कान्छा छोरा साजनले गुजरात जानुअघि ठेकेदारबाट पाएको दुई हजार पेस्की बुबाको हातमा थमाएर गएका थिए । घर बनाउने र छोरा साजनको बिहे गर्ने मलरको सपना थियो । घर बनाउन उनले बाँस पनि ल्याएका थिए । तर, चैतदेखि लकडाउन भयो, परिवारसँग त्यही दुई हजारको भर थियो । सप्तरीको रामपुर पथरीमा डगर (बाटो)छेउको ऐलानी पाँच धुर जग्गामा मलरको परिवार बस्छ । चार पुस्तादेखि मुसहर समुदाय रामपुरमा बस्दै आएका हुन् । ३२ परिवारमध्ये २७ परिवारसँग नागरिकता छैन । चार परिवारले आफैँ बसेको जग्गा पनि ‘मालिक’सँग किन्नुपरेको छ । सात परिवारले घरको दैलोमा काठको ढोका बनाएका छन्, बाँकी सबैले बाँसको फाटक र कपडाको अस्थायी आडमा रात बिताउँछन् । चोरले नै लग्ने गरी भित्र त्यस्तो केही छैन । त्यसो त सबै भूमिहीन दलितलाई भूमि र एकपटक घर बनाइदिने घोषणा भएको पाँच वर्ष भयो । तर, रामपुरका मुसहरलाई यो अविश्वसनीय सपना लाग्छ । 

छोराले छोडेर गएको दुई हजार रुपैयाँमा कहिले आधा पेट खाएर त कहिले भोकै बसेर मलरको परिवारले फागुन, चैत र वैशाख बितायो, त्यो पनि सकिएपछि परिवार चर्को भोकमरीमा प¥यो । गत २ जेठमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसद्मा घोषणा गरिन्, ‘अब यो देशमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ त्यही दिन मलरको घरमा चुलो बल्न सकेन । त्यो दिन मात्र होइन, त्यसपछिका चार दिन लगातार यो परिवार भोकै सुत्यो । न बाहिर काम थियो, न घरमा माम थियो ।

प्रकाशित मिति: : 2020-09-18 10:25:43

प्रतिकृया दिनुहोस्