बाबिरा मष्टाको थानदेखि अस्पतालसम्म पुर्‍याइयाे, तर स्वास्थ्य जाँच गर्न मानेनन् डा केसी

अनशनरत सुरु गरेको सातौं दिन पुगेर स्वास्थ्य अवस्था बिग्रिसके पनि डा गोविन्द केसीले स्वास्थ्य जाँच गर्न मानेका छैनन्। 

अनशन बसेको बाबिरा मष्टोको थान रहेको रानीचौरबाट इच्छा विपरीत आफूलाई अस्पताल ल्याइएको भन्दै कुनै पनि स्वास्थ्य जाँच गर्न नमानेका हुन्। 

माग पूरा गर्नुको साटो अपहरणको शैलीमा अस्पताल ल्याइएको भन्दै भन्दै डा केसीले आक्रोश पेखेका छन्। 

उनको स्वास्थ्य अवस्था ‘मनिटरिङ’ गरिरहेका चिकित्सकले यथाशीघ्र सुरक्षित अस्पतालमा सार्नु पर्ने सुझाब दिएपछि प्रहरीले शनिबार राति १०ः४५ बजे जबर्जस्ती उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियूमा राखेको थियो।  

उनको प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न नसकिएको ‘मनिटरिङ’मा खटिएका डा प्रविण कुमार गिरीले बताए। 

‘शनिबारसम्म दिनको तीनपटक सामान्य स्वास्थ्य जाँच गर्दै आएका थियौं,’ उनले भने, ‘तर अस्पताल ल्याएपछि आइतबारदेखि सबै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन।’

उनका अनुसार रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा हुने सम्भावना रहन्छ। 

डा केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा। प्रवीणकुमार गिरीको नेतृत्वमा डा धीरज गुरुङ, डा अनुपमंगल समाल र सविता थापालाई खटाएको छ। 

२९ भदौदेखि अनशनरत डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: : 2020-09-20 15:18:39

प्रतिकृया दिनुहोस्