निर्वाचन विशेष

सधैँ मतदाता झुक्याउने एजेण्डा : चुनावमा १ किलाेमिटर सडक पिच !

BreaknLinks
BreaknLinks

यतिबेला देश निर्वाचनमय भएकाे छ। निर्वाचन हुन केही दिन मात्रै बाँकी हुँदा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

यता इलामका उम्मेदवारहरूले पनि चुनाव लक्षित कार्यक्रमलाई तीव्र बनाएका छन्। यहाँका नेताहरूले पुरानै चुनावी एजेण्डा र सामान्य काम गर्ने आश्वासनलाई जितको हतियार बनाएका छन्।

२७ वर्ष अगाडि चुनावी एजेण्डा बनाएर निरन्तर जित्दै गएका सुवासचन्द्र नेम्वाङ र यस वर्ष नयाँ प्रतिस्पर्धी बनेका कांग्रेसका डम्बरबहादुर खड्का इलामको क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धामा छन्।

हेवीवेट मानिएका नेम्वाङ र गठबन्धनको तर्फबाट प्रतिस्पर्धा गर्दै गरेका खड्काको चुनावी योजना भने ४३ वर्ष अगाडि पञ्चायतीले अर्थमन्त्री गरेको कालोपत्रे सडकको मर्मत छ।

पञ्चायतकालमै बनेको इलाम सदरमुकाम भएर गएको ताप्लेजुङ जोड्ने मेची राजमार्ग मर्मत गर्ने, इलाम सदरमुकाममै टुँडिखेल व्यवस्थित बनाउने, सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने, खानेपानीको नियमित आपूर्ति गराउने, आधा दर्जन अधुरा सडक पूरा गर्ने एजेण्डा यस क्षेत्रका उम्मेदवारको छ। दुबै उम्मेदरवाले आफ्नो क्षेत्रका मतदाता रिझाउन वर्षाैंअघिका समस्या समाधानको वाचा गरेका छन्।

प्रतिनिधि तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै इलाम सदरमुकाम इलाम बजारमा डेढ किलोमिटर मात्रै बाटो कालोपत्रे भएको छ। चुनाव आउनुअघि धुलाम्बे हुने र पटक-पटक बाटो पीच गर्न गरेको आग्रहलाई कसैले वास्ता गरेनन्।

चुनाव नजिकिएसँगै नेताहरू घरदैलोमा आउन एक साता अगाडि मात्रै इलामको बसपार्कदेखि नेपाल बैंकसम्म डेढ किलोमिटर मात्रै बाटो कालोपत्रे भएको छ। यो बाटो चुनाव जित्न र मतदाता रिझाउन मात्रै कालोपत्रे भएको बुझाइ स्थानीय भीमबहादुर प्रधानको छ।

बजार क्षेत्रमै आवश्यकताअनुसार बाटो मर्मत गर्ने तथा कालोपत्रे गर्ने काम नभएको स्थानीय वासिन्दाको भनाइ छ। स्थानीयका अनुसार इलाम बजार आउने माइखोलादेखिकै बाटो बिग्रिएको छ। यो पञ्चायतकामै निर्माण भएको बाटो हो। यही बाटो अहिले पनि मर्मत गर्ने नाममा नेताले चुनाव जित्दै आएको स्थानीयको भनाइ छ। उक्त बाटो इलाम बजारबाट फिदिम हुँदै ताप्लेजुङ जाने गरेको छ।

यस क्षेत्रमा ठुला नेता उत्पादन गरेको भएपनि जनताको अपेक्षाअनुसार नेताले काम गर्न नसकको स्थानीयको गुनासो छ। नेताहरूले हरेक चुनावमा घोषणापत्र सार्वजनिक गर्ने गरेको भएपनि व्यवहारमा भने उल्लेख्य प्रगति नभएको गुनासो इलाम बजारका स्थानीयले गरेका छन्।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६८ मा शिलान्यास भएको फाल्गुणानन्द सुकिलुम्बा विमानस्थल उनैले १० वर्षपछि धावनमार्गको उद्घाटन गरे।

कालोपत्रेसहितको ६५० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग उद्घाटन गरेर सातामा ३ वटासम्म उडान गर्न लगाए। तारा एयरले ३ महिना सेवासमेत दियो तर, अहिले न विमास्थल सञ्चालनमा छ, न त कुनै कम्पनीको जहाज नै आउँछ। नेताहरुले स्थानीयलाई यहाँ आउने जहाज दुर्घटना भएको र अर्को जहाज नभएको बताउँदै आएका छन्।

राज्यको करिब ४० करोड रुपैयाँ लगानी भइसकेको यो विमानस्थलको धावनमार्ग उद्घाटन भएसँगै गत वर्ष फागुन ८ गतेबाट इलाम नगरपालिकासँगको सहकार्यमा उडान सुरु भएको थियो। नगरपालिकाले ११ सिटको ग्यारेन्टी गरेपछि तारा एयरले उडान गर्न थालेको थियो।

११ सिट नपुगेको अवस्थामा नगरपालिकाले पैसा दिने सहमति गरेपछि सञ्चालन गरिएको विमानस्थलमा ३ महिनापछि नै उडान बन्द भयो। तारा एयरले उडान गर्न छोडेपछि अहिले विमानस्थलको धावनमार्ग म्यादी प्रहरी कुद्ने ठाउँ बनेको छ। बिहान बेलुका स्थानीयले मर्निङवाक गर्ने र युवाले मोटरसाइकल सिक्ने ठाउँ भएको छ। गत महिना मोटरसाइकल सिक्दा दुर्घटना परेपछि भने अहिले धावनमार्गमा जान स्थानीयलाई रोक लगाइएको छ।

विमानस्थलमा राज्यको करोडौं लगानी भइसक्दा पनि उडान भने हुन नसक्नुलाई नै नेताहरूको चुनावी एजेण्डा बनाएका छन्। अहिले एमालेका नेम्वाङ, कांग्रेसका खड्कादेखि इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालसम्मको चुनावी एजेण्डामा विमानस्थल चलाउने भन्ने राखिएको छ।

इलाम क्षेत्र नम्बर २ बाट नेम्वाङ ७औं पटक चुनावी प्रतिस्पर्धामा छन्। नेम्वाङलाई यस पटक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले चुनौती दिँदै छन्। अहिलेसम्म अपराजित यात्रा तय गरेका नेम्वाङ फेरि पनि चुनाव जित्नेमा ढुक्क छन्।

इलामले ठुला नेता बनाएर पठायो तर जनताको काममा भने नेताले प्राथमिकता नदिएको गुनासो स्थानीयले गरेका छन्। इमालमा अझै ४६ किमिको फाल्गुनन्द सडक, ५२ किमिको सीमा सडक, २९ किमिको माइपोखरी सन्दकपुर सडक, ५५ किमिको फिक्कल चक्रपथ, ३३ किमिको द्रुतमार्ग र २९ किमिको फिक्कल नयाँबजार सडक छिटो बनाउनुपर्ने माग स्थानीयको छ। यी सडक निर्माण वर्षाैंदेखि अधुरो रहेको गुनासो स्थानीयले गर्दै आएका छन्।

इलामको सदरमुकाममा पानीको हाहाकार

इलामको सदरमुकाम इलाम नगरपालिकाको वडा नम्बर ७ मा रहेको इलाम बजारमा पानीको हाहाकार छ। एसियाली विकास बैंक (एडीबी)को आर्थिक लगानीमा बनेको पानी आयोजनामा इलाम बजारमा पानी नआएर यहाँका जनताले टेम्पोमा बोकेर खानुपर्ने बाध्यता छ।

एडीवीको ८५ करोड लगानी गिताङ खोलाबाट पानी ल्याएउनको लागि पाइप बिछ्याएको छ। सुरुका दिनमा पानी आएपनि अहिले यो धारामा पानी नआएको इलाम नगरपालिका-७ का स्थानीय व्यापारी श्यामकृष्ण लम्सालले बताए।

‘यहाँ धारा जोडेको छ। पानी कहिले आउँछ, कहिले आउँदैन। ७ दिनदेखि पानी आएको छैन। हामीले तल माइखोलाबाट टेम्पोमा पानी बोकेर खानुपर्ने बाध्यता छ,’ लम्सालले भने, ‘नेताहरुले चुनावको बेलामा पानी खुवाउँछौं भनेर बाचा गर्छन् तर पानीसमेत खान पाएका छैनौं।’

पानीको धारा जोड्नका लागि आयोजनाले प्रतिघरले १५ हजार २ सय रुपैयाँ पैसा उठाएको छ। तर पानी आउने पत्तो नहुने स्थानीय ६० वर्षे देवीप्रसाद सुवेदीले बताए।

‘पानीका लागि हामीले १५ हजार २ सय उठायौं, अहिले भने धारामा पानी नै आउँदैन। आयोजनाका मान्छेलाई फोन गर्दा एकले अर्कोलाई नम्बर दिन्छन्, पानी आउने टुङ्गो हुँदैन’, स्थानीय देवीप्रसाद सुवेदीले भने, ‘हामीलाई २४ घण्टा पानी दिन्छौं भनेका थिए।’

स्थानीयहरुका अनुसार पैसा तिर्नेले मात्र पानी धारा पाएका छन् भने पैसा नतिर्नेले भने पानी पाएका छैनन्। इलाम बजारबासीका लागि पानीको अर्को विकल्प छैन।

स्थानीय लम्सालका अनुसार पानीका लागि ११ किलोमिटर पर जानुपर्ने बाध्यता छ। अघिल्लो चुनावमा संघीय सांसद् भएर गएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले एउटा एजेण्डा पानीको बनाएर जितेको स्थानीय ६० वर्षे सुवेदीले बताए।

‘उबेला (अघिल्लो संघीय निवार्चन)मा पानी दिन्छौं भनेर वाचा गरेका थिए। अहिले पाइप आयो, पानी आउँदैन’, सुवेदीले भने, ‘अब अहिले के भनेर भोट माग्न आउने हुन्, थाहा छैन।’

स्थानीयहरुलाई पानी, बिजुली र विकल्प सडकको आवश्यकता भएको स्थानीयहरुले बताएका छन्। यसभन्दा अगाडि इलाम नगरपालिकाका मेयरले पनि पानीको एजेण्डा उठाएर जितेर गएकोको स्थानीय लम्सालले बताए।

प्रकाशित मिति: : 2022-11-14 12:21:00

प्रतिकृया दिनुहोस्