गाडी चले, यात्रु आएनन्

गोरखापत्र

विराटनगर

लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायात प्रति सर्वसाधारणको विश्वास जाग्न सकेको छैन ।
यात्रुको अभावमा बसपार्कबाट छु्टेका बस रित्तै हुने गर्छन् । ‘यात्रु भेटिँदैनन्, बाटो नै सुनसान हुन्छ, तेल खर्च उठिरहेको छैन’– विराटनगरदेखि उदयपुरको बेलकासम्म जाने यात्रुबाहक बसका चालक रामबहादुर खड्काले भन्नुभयो ।
३१ सिट भएको यो बसमा सात–आठ जना मात्रै यात्रु चढ्ने गरेको खड्काको भनाइ छ । स्वास्थ्य मापदण्ड अनुसार पनि १६ जनासम्म यात्रु राख्न सक्ने भए पनि बाटामा यात्रु नभेटिने गरेको चालक खड्काले बताउनुभयो ।
विराटनगर बसपार्कमा रहेको ट्राफिक बिटको तथ्याङ्कमा पछिल्लो तीन दिनमा दैनिक १२० को हाराहारीमा मात्रै बस छुट्ने गरेको देखिन्छ । बन्दाबन्दीअघि विराटनगर बसपार्कबाट सामान्य अवस्था रहँदा लामो तथा छोटो दूरीका दैनिक २५० देखि २८० बस छुट्ने गरेका थिए ।
मङ्गलबार विराटनगरबाट लामो दूरी अन्तर्गत काठमाडौँका लागि छ, भैरहवाका लागि एक, नारायणगढका लागि दुई र नेपालगञ्जका लागि एउटा बस छुटेको छ  । आन्तरिक उडान खुलेपछि विराटनगर–काठमाडौँ चल्ने बसको सङ्ख्या अझै घटेको छ । हवाई मार्ग खुल्ला गरिएको र भाडादर अति न्यून भएका कारण काठमाडौँ जाने यात्रुले बसलाई भन्दा हवाइजहाजको यात्रालाई छान्न सक्ने विकल्प रहेको सुनौलो पूर्व नेपाल यातायातका राजु धमलाको भनाइ छ । बसमा ५० प्रतिशत भाडा बृद्धि गरेर ५० प्रतिशत नै यात्रु राख्नुपर्ने नियम छ । लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनुपर्ने बाध्यताले पनि यात्रुले हवाइमार्गलाई नै रोज्ने गरेको धमलाले बताउनुभयो ।

प्रकाशित मिति: : 2020-09-23 09:04:27

प्रतिकृया दिनुहोस्