वीरगन्जका नगरप्रमुख सरावगीद्वारा २९२ भारतीयलाई निःशुल्क पिसीआर परीक्षणका लागि सिफारिस पठाएपछि विवादमा

वीरगंञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले नगरबासीको स्वास्थ्यलाई वेवास्था गर्दै भारतीय नागरिकका लागि राज्यकोषको रकम दुरूपयोग गरेका छन्।

वीरगंञ्जमा हजारौं नेपाली नागरीक कोरोना परिक्षणका लागि छटपटाईरहेको बेला महानगरपालिकाका प्रमुख सरावगीले शुभ श्री जगदम्बा सिमेन्टमा कार्यरत २ सय ९२ भारतीय मजदुरको निःशुल्क पिसीआर परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पताल पठाएको रहस्य खुलासा भएको हो।

उनले महानगरपालिकाकै लेटरप्याडमा अस्पताललाई पत्र लेखेर ती मजदुरहरूको निःशुल्क पिसिआर परीक्षण गर्न निर्देशन दिएका हुन्।

नगरबासीले डेढ करोडभन्दा बढी रकम चन्दा उठाएर आफ्नो स्वास्थ्य परीक्षणका लागि महानगरपालिकामार्फत पिसीआर मेशीन खरीद गरेका थिए। तर नगरप्रमुखले नै नेपाली राज्यकोषको दुरूपयोग गर्न खोजेको तथ्य सार्वजनिक भएको छ।

नगरबासीको रगत र पसिनाबाट उठेको चन्दा नगरबासीकै स्वास्थ्यका लागि पहिलो प्राथमिकतामा खर्चिनुपर्नेमा महानगरपालिकाका प्रमुख सरावगीले आफ्नो नातेदारको उद्योगमा कार्यरत करीब ३०० भारतीय मजदुरको स्वास्थ्य परीक्षणमा लगानी गरेको विषय सार्वजनिक भएपछि सरावगीको सर्बत्र आलोचना भएको छ।

यसै बिच पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नेपाल सरकारले तोकेको प्रोटोकलभन्दा बाहिर गएर बिदेशीको स्वास्थ्य परीक्षण गर्न नमिल्ने भन्दै दुई दिन अगाडि नारायणी अस्पतालमा २ जना भारतीय नागरिक परीक्षणको क्रममा संक्रमित भएपछि स्थानीय प्रहरी प्रशासन सतर्क भएको बताए ।  

‘जिल्ला विपत व्यवस्थापन समितिको बैठकले समेत नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण गर्ने निर्णय गरेको छ। औद्योगीक तथा व्यापारीक प्रतिष्ठानमा कार्यरत कर्मचारी मजदुरको सम्बन्धित उद्योग तथा व्यापारीक प्रतिष्ठानले शुल्क तिरेर परीक्षण गर्न पाउने छन्’, सिडियो तामाङ्गले भने,‘तर बिदेशी नागरीकलाई निःशुल्क रुपमा परिक्षण गर्न लागि सिफारिस गर्ने अधिकार कसैलाई छैन।’

यता महानगरपालीकाको लापरवाहीका कारण अहिले बीरगंञ्जमा पिसीआर परीक्षणसमेत बन्द भएको छ। महानगरपालिकाले नारायणी अस्पताललाई उपलब्ध गराएको भिटिएम किट पिसीआर मेशिनमा प्रयोग नहुने भएपछि नारायणी अस्पतालको परीक्षण रोकिएको हो।

प्रकाशित मिति: : 2020-09-23 11:15:02

प्रतिकृया दिनुहोस्