श्रद्धा र साराले सुशान्तलाई उल्टै ‘ड्रग एडिक्ट’ बताएपछि

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्सको मुद्धा अगाडि आएपछि बलिउड कलाकारलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले धमाधम सोधपुछका लागि बोलाइरहेको छ। 

यस्तैमा गत शनिबार अभिनेत्री दीपिका पादुकोणसहित श्रद्धा कपुर र सारा अलि खानलाई पनि बोलाइएको थियो। 

सुशान्त आत्महत्या प्रकरणमा एनसीबीको हिरासतमा रहेकी रिया चक्रवर्तीले ड्रग्स मुद्धामा श्रद्धा र सारा दुबैको नाम लिएकी थिइन। यी दुबैले सुशान्तसँग फिल्म खेलिसकेका छन्। 

शनिबार भएको सोधपुछमा दुबैले ड्रग्स खरिद गरेको कुरा अस्विकार गरेका छन् र उल्टै उनीहरूले सुशान्तले ड्रग्स लिने गरेको बताएका छन्। 

उनीहरूको बयान केही मिडियामार्फत बाहिरिएपछि सुशान्तका साथी युवराज एस सिंहले दुबै नायिकाप्रति असन्तुष्टी जाहेर गरेका छन्। 

उनले दिवंगत भएका अभिनेतालाई ड्रग एडिक्ट भएको पुष्टी गरेर आफू जोगिने उपाय निकालेको बताएका छन्। 

शनिबार एनसीबीको सोधपुछमा दुबैले फिल्मको सेट र भेनेटी भ्यानमा सुशान्तले ड्रग्स लिएको आफूहरूले देखेको बताएका थिए। 

युवराजले भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरू सुशान्त ड्रग एडिक्ट भएको बताएर आफू चोखो बन्न खोजिरहेका छन्।

यो कस्तो मजाक हो?’ उनले ड्रग्स मुद्धामा हुन सक्ने सजायको जानकारी दुबैलाई भएको हुनाले मरेको मान्छेलाई दोष लगाएर आफू बच्न खोजेको आरोप लगाएका छन्। 

यसअघि पनि युवराजले सुशान्तले आत्महत्या नगरेको दावी गर्दै उनको हत्या भएको बताएका थिए। 

भारतीय मिडियाका अनुसार साराले एनसीबीको सोधपुछमा केदारनाथ फिल्मको सुटिङमा सुशान्तले ड्रग्स लिएको बताएकी थिइन्। 

उनले सुशान्तसँग आफू पनि ड्रग्स पार्टीमा जाने गरेको तर आफूले कहिल्यै हात नलगाएको बताएकी छिन्। 

श्रद्धाले पनि ‘छिछोरे’ फिल्मको सुटिङमा सुशान्तले भेनेटी भ्यानमा ड्रग्स लिएको आफूले देखेको एनसीबीलाई बताएको केही मिडियाले दावी गरेको छ। 

उनले फिल्म हिट भएपछि आफू सुशान्तको पावना लेकमा रहेको फार्म हाउसमा गएको र त्यहाँ पनि ड्रग्स प्रयोग भएको बताएकी थिइन्। उनले पनि आफूले ड्रग्स लिएको कुरा अस्विकार गरेकी छिन्।

प्रकाशित मिति: : 2020-09-27 17:45:37

प्रतिकृया दिनुहोस्