स्वाभलम्वी पुस्ता

करिअर बनाउन सविनाको सङ्घर्ष

ईश्वरी राई

काठमाडाैं


सविना आले मगर, २२, जोरपाटीस्थित बालबाटिका इङ्लिस बोर्डिङ स्कुलकी शिक्षिका हुन् । उनले पढाउन थालेको दुई वर्ष भयो । उनको काम दुई कक्षामा पढ्ने विद्यार्थीलाई पढाउने हो । उनी विद्यालयकी सबैभन्दा कान्छी शिक्षक हुन् । उमेरको हिसाबले सानी छिन् तर पढाउने मामिलामा उनी कहिल्यै सानी परिनन् । उनले नै सम्हालेकी छिन्, कक्षा दुईका पूरै विषय ।

स्कुलमा मात्र नभई उनी ट्युशन पढाउनसमेत सक्रिय छिन् । तर सविना सिकाउने मात्र होइन सिक्ने पनि गर्छिन् । जया मल्टिपल क्याम्पस’ मा उनी स्नातक तह दोस्रो वर्ष ‘पत्रकारिता’ पढ्दै छिन् । बिहान छ बजे कलेज गएकी उनी नौँ बजे फर्किन्छन् । 

१० बजेदेखि साढे चार बजेसम्म उनी स्कुलमा व्यस्त हुन्छिन् । त्यसपछि उनी पाँच बजेदेखि ट्युशन पढाउन थाल्छिन् । राति १० बजे घर फिर्छिन् । मासिक साढे १४ हजार रुपैयाँ कमाउने गर्छिन् उनी । उनले कमाएको पैसा घर खर्चका लागि आमा चेली योन्जनलाई दिने गर्छिन् । सविनाले केही रकम वचतसमेत गरेकी छन् ।

'बाबा यहाँ हुनुहुन्न, कहिलेकाहीँ पैसा आवश्यक हुन्छ । त्यसैले धेरथोर वचत गरेकी छु’, उनले भनिन् । उनका पिता नरेन्द्रबहादुर आले मगर दुई वर्षअगाडि कतार गए । उनले त्यहाँ ‘सैनिक क्याप’ मा सरसफाइको काम गर्ने गरेको सविनाले बताइन् । 

विदेश जानुअघि पिता ‘गलैँचा कारखाना’ मा गलैँचा बुन्ने काम गर्थे तर देशभित्रै काम गर्दाको कमाइले घरखर्च धाउन नै मुस्किल परेका कारण नरेन्द्रले पलायन हुने निर्णय गरेका थिए । उनलाईे छोराछोरीको भविष्यबारे सोच्नु पनि त थियो नि !

'अहिले बाबाको कमाइ ठीकै छ । बेलाबेलामा पैसा पठाइदिरहनुहुन्छ’, उनले बिएल नेपालीसँग भनिन् ।  सविनाकी आमा गलैँचा बुन्ने गर्छिन् । जहाँबाट उनले महिनामा १५ हजार रुपैयाँ पारिश्रमिक बुझ्छिन् । सविना जोरपाटीस्थित गैरीगाउँमा बस्छिन् । उनी त्यहीँ जन्मिइन् त्यहीँ हुर्किइन् । उनको स्थायी ठेगाना चाहिँ सर्लाही हो । 

उनी जहिले जन्मिइन्, त्यसबेला उनका मातापिता गलैँचाकै काम गर्थे । घरको आर्थिकस्थिति कमजोर थियो  । तर, मगर दम्पतीले जसोतसो छोरीलाई बोडिङ्क स्कुलमै भर्ना गरे । 

छोरीलाई राम्रो स्कुलमा पढाउने उनीहरुको धोको जो थियो । त्यसैले उनले ‘चिल्डेन लिबर्टी इङ्लिस बोर्डिङ स्कुल’ बाट ‘एसएलसी’ दिइन् । 

सानैदेखि मेहनती उनी । बाबुआमाको काममा सघाउँथिन् । त्यसैले उनी ८ कक्षा पढ्दै गर्दा पनि काम गर्न सुन्धारा र कीर्तिपुरका पार्टी प्यालेस’ जाने गर्थिन् । त्यसबेला उनको दैनिकको कमाई थियो, ६ सय । उनले सुरुमा काम गरेको पैसा पाउँदा निक्कै खुशी थिइन् । भन्छिन्, …'मैले पहिलोपटक काम गरेर कमाएको पैसा थाप्दा धेरै खुशी थिएँ ।’ 

उनले कमाएको सबै पैसा आमाको हातमा थमाउथिँन् । ‘मेरोलागि पैसा खर्च गर्दिनथेँ । सबै घरका लागि गर्थेँ’, उनले भनिन् । 

उनमा काम गर्न सक्छु भन्ने आत्मविश्वास पलाइसकेको थियो तर उनको प्राथमिकता पढाइ थियो । त्यसैले उनी एक सातामै काम छाडेर पढाइमा केन्द्रित भइन् । 

१० कक्षाको परीक्षा दिएपछि फेरि क्याटरिङ जान थालिन् । महिनाभरि काम गरेर कमाएको पैसा पनि घर चलाउन आमालाई सघाउँथिन् । तीन महिनापछि उनी कलेज भर्ना भइन् । उनको सपना थियो, वकील बन्ने । त्यसैले उनले मानविकी विषय लिएर अध्यन गरिन् । 

आफू गरिब परिवारमा हुर्किएकी सविना दुखि मान्छेलाई सहयोग गर्न रुचाउँथिन् । उनी सोच्ने गर्थिन्, पैसामा बिकाउ समाज । त्यसैले एउटा असल वकील बनेर चिनिन चाहन्थिन् । पैसा नभएका कारण अन्यायमा परेकालाई उनी न्याय दिलाउन चाहन्थिन् । साथै परिवार पाल्नु पनि ।   

१२ पढ्दै गर्दा उनकी आमा बिरामी परिन् । त्यसैले उनले काम गर्ने सोच बनाइन् । 'बाबाले कमाएको पैसाले मात्र पनि त पुग्दैन् थियो’ उनले विगत सम्झिदै भनिन्, …त्यसैले मैले पनि काम गर्न थाले ।’ 

उनले कस्मेटिक बेच्ने पसलमा काम गर्न थालिन् । उनी बिहानको ६ बजेदेखि बेलुकाको ९ बजेसम्म खट्ने गर्थिन् । उनको मसिक तलब ६ हजार रुपैयाँ तोकिएको थियो तर दुई महिना काम गरेर छोड्दा उनले मात्र ७ हजार पाइन् । 

काम गरेको पैसा पूरा नपाउँदा आफूलाई दु:ख लागेको उनी बताउँछिन् । ‘कामको प्रेसरका कारण कलेज गएकी थिइनँ, त्यसमाथि पैसा पनि पूरा दिएनन्’ उनले सुनाइन् ।  

त्यहाँ काम छाडेर फेरि अर्को कस्मेटिक पसलमा काम गरिन् । अनि ट्युशन पढाउने कामसमेत सुरु गरिन् । त्यतिबेलासम्म उनको आमालाई पनि सञ्चो भइसकेको थियो ।

काम गर्दै र पढ्दै जसोतसो उनले १२ कक्षाको परीक्षा सकिन् । परीक्षा दिएर फुर्सदको समयमा उनले ; ‘मार्केटिङ्ग’ को काम गर्न थालिन् । उनको काम थियो– कपडाको प्रचार । उनले त्यो कामबापत मासिक १० हजार पारिश्रमिक पाउन थालिन् । 

उनी काममा मात्र सीमित रहिनन्। उनी ‘बीए एलएल बी’ को तयारीमा लागिन् । उनले त्यसको तयारीका लागि नयाँ बानेश्वरमा कक्षा लिएकी थिइन् । बिहान ६ बजेदेखि ९ बजेसम्म सविना कक्षामै हुन्थिन् । १० बजेदेखि काममा लाग्थिन् । उनले खाना खाने समयसमेत पाउँदैनथिन् । 

दिउँसोको खाजाकै भरमा उनी दिनभर काम गर्थिन् । कामसँगै उनले गरेको सपनालाई पनि भुलेकी थिइनन् । ‘बीए एलएल बी’ को प्रवेश परीक्षामा नाम निकालेर ‘नेपाल ल क्याम्पस’ मा पढ्ने उनको ईच्छा थियो । 

उनले तयारी त राम्रै गरेकी थिइन् तर उनको नाम ‘नेशनल ल कलेज’ मा देखियो । जुन कलेज उनको खर्च गर्नसक्ने क्षमताभन्दा निक्कै महँगो थियो । परिवारले उनलाई पढाउन सकेन । त्यसैले आफनो सपनालाई उनले दबाएर राखिन् । ‘पैसा नभएकै कारण मेरो इच्छा पूरा हुन सकेन’, उनी दुखेसो पोख्छिन् ।

अहिले उनी स्नातक तहको पढाई पूरा गर्नमा लागिपरिरहेकी छिन् । 

अब उनी भविष्यमा गीतकार बन्न चाहन्छिन् । आफैँले लेखेको गीत सार्वजनिक गर्ने उनको लक्ष्य छ । उनले कक्षा ८ पढ्ँदै गर्दा १२ वटा गीत लेखिसकेकी थिइन् । उनले नेपालीमा मात्र होइन  अंग्रेजी र चाइनिजमा पनि लेखेकी छिन् । उनको त्यो सपना पनि सानैको हो । 

'पूरै चर्चित त हुन सकिएला नसकिएला तर मलाई गीतकार भनेर चिनिन पाए हुन्थ्यो भन्ने लाग्छ’, उनले भनिन् । 

प्रकाशित मिति: : 2021-01-20 20:21:00

प्रतिकृया दिनुहोस्