डा. केसीलाई चिन्ने सर्वसाधारण भन्छन्, ‘डाक्टर आफैं जनताका घरघर पुगेर उपचार गरेको आजसम्म सुनेका थिएनौं’(भिडियो)

डाक्टर गोविन्द केसीले १५ औं पटकको सत्याग्रह जुम्लामा गर्दैछन् भन्ने हल्ला फैलिएपछि जुम्लाको सदरमुकाम एकाएक तरंगित थियो। तर १९ औं पटकको सत्याग्रह भन्दा अगाडि उनी पश्चिम नेपालका बिरामीको सेवा गर्न लागेका थिए। 

यो अवधिसम्म रेडियोमा सुनेका र आक्कल झुक्कल टिभीमा देखेका नागरिकले उनको सेवा प्रत्यक्ष लिन पाए र उनी को हुन र कस्ता छन् भने देख्न पाए। सेवा पछि कतिले भगवान्को रूपमा डा. केसीलाई गाउँमा पायौं भने।

जुम्लामै भएको पहिलो सत्याग्रहको बेला चियापसल र चौतारामा मानिसहरूले ‘किन आउँदैछन् डा. केसी?’, ‘के मक्सत हो उनी यहाँ आउनुको?’, ‘खास के छन् माग?’ लगायतका जिज्ञासा राखिरहेका थिए। चोक, चौतारा र चिया पसलको बहस डा. केसीमय भएको थियो। प्रशासन भित्र भित्रै सक्रिय भइसकेको थियो। त्यसैले प्रशासनले सत्याग्रहको अघिल्लो साँझ एक सूचना जारी गरेको थियो, ‘जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर जुलुस, धर्ना, अनशनलगायतका कुनै पनि गतिविधि गर्न पाइने छैन।’ 

तर यो पालीको सत्याग्रहको बेला प्रशासन निरंकुश शासकभन्दा क्रुर र निर्मम भयो। डा. केसी मात्र होइन उनी बसेको होटल आसपासमा अन्य नागरिकलाई हिडडुल गर्न समेत दिएन भने आसपासका नागरिक त आफ्नै घरमा बन्दि भए। जुम्ला चन्दननाथ नगरपालिका ३ का किसान अमरसिंह बुढथापा सरकार र उसका संयन्त्रले जतिसुकै निरंकुशता देखाए पनि त्यो डा. केसी जस्तो जनताको पक्षमा लड्नलाई रोक्न नसक्ने बताए। 

‘डा. गोविन्द केसीको जुम्लामा भएको १५ औं अनशन नितान्त देश र जनताको हित र मेडिकल कलेज माफियाको विरुद्धमा थियो। सत्ताले उनीसँग गरेको सम्झौता एक हिसाबमा आम जनताको जित थियो। तर ओली सरकारको गाोबरलाई घ्यू भन्ने नियतका कारण अनशन १९ औं पटकसम्म लम्बिएको छ,’ उनले भने, ‘उनी पटक पटक अनशन बस्दा काठमाडौं उपत्यकामा मात्र बढी चहलपहल हुन्थ्यो। बाहिर त्यति थिएन तर जुम्लामा भएको अनशनले आम जनतामा सकारात्मक प्रभाव पारेको छ र न्यायको बाटोमा डोर्‍याएको छ। केन्द्रदेखि प्रदेशका जिम्मेवार भनाउँदा गैरजिम्मेवार सरकार र प्रतिनिधिलाई नंग्याएको छ। उनीहरूको चरित्र उदांगो पारेको छ।’

‘सत्यको पक्षमा न्यायको खोजी गर्दै हिड्ने मान्छे कम भेटिन्छन्। यतिबेला डा. केसीको पक्षमा केही गर्न सके यो माफियामुखि सरकारलाई ठूलो धक्का हुनेछ,’ उनले थपे।

हरेक राजनीतिक परिवर्तनपछि जुन रूपमा सामाजिक आन्दोलन हुनुपर्ने हो त्यसरी आन्दोलन हुन नसक्दा आज नेपालीले खास परिवर्तनको महसुस गर्न पाएका छैनन्।

नेपालमा मुलधारको राजनीति गरिरहेका चाहे कांग्रेस हुन वा चाहे कम्युनिष्ट नाम गरेका उनीहरू सबैले शिक्षा र स्वास्थ्य क्षेत्रलाई छाडा गरेकै कारण शिक्षा र स्वास्थ्य व्यापारको माल हुन गयो। त्यसका लागि राज्यलाई दायित्वमुखी बनाउनुपर्ने हुन्छ।

दायित्व सम्झाउने र जनताको लागि मरिमेट्ने सत्ता डा. केसीलाई चाौतर्फी अवरोध खडा गर्न लाग्यो। उपचार गर्न गाउँ जाँदा होस् या संघर्षका कार्यक्रम घोषणा गर्दा, सत्ताले अवरोध गरिरहयो। डा. केसीको किन भन्ने प्रश्नको जवाफ प्रहरीले र सरोकारवाला निकायले यत्तिमात्र दियो, ‘माथिको आदेश।’

त्यतिमात्र होइन गाउँका जनताको सेवाको लागि औंषधि किन्न अस्पतालको फार्मेसी जान समेत रोक लगाइयो। तर उनको अनशन भइछोड्यो। सर्वसाधारणले उनको पक्षमा आवाज उठाइरहे। 

अघिल्ला अनशनमा जस्तै जुलुस धर्ना दिन नसके पनि उनको पक्षमा र उनका जनपक्षीय माग नसुन्ने सरकारलाई सत्तोसराप्ने काममा पछि परेनन्। डा. केसीका मुद्दा आम जनताका हुन्। उनले समग्र नेपालीको आवाज बोलेका छन्। गाउँका जनताले यत्ति बुझेका छन्।

उद्योग वाणिज्य संघको टहरामा चिया पसल गरिरहेका काँसिराम भण्डारी डा. केसीलाई खासै चिन्दैनन्। तर पनि उनको पक्षमा आफ्नो आवाज मुखरित गरिरहेका छन्। ‘खास चिनेको नाई। तर अनशन बसिरहेका छन् भन्ने सुनेको छु,’ उनले भने, ‘पहिला त केही थाहा थिएन। आजभोलि चिया खान आउने मान्छेहरुले कुरा गरेको सुन्छु। उनी हामीजस्ता गरिब गुरुवाकै लागि भोकभोकै बसिरहेका छन्। आजसम्म हामीले डाक्टर आफैं जनताका घरघर पुगेर उपचार गरेको सुनेका थिएनौं। तर ती डाक्टर गाउँगाउँ पुग्छन् भन्ने सुने। यी मान्छे महान हुन।’

त्यहीँ नजिकै अर्को ठाउँमा चिया पसल गर्ने नौरती गिरीले भने सबै थाहा पाएको जस्तो गरि बोलिन्, ‘जन्ताको लागि भोकभोकै नागनागै बस्याछुन्। ज्या गर्‍याछुन् राम्मो (राम्रो) गर्‍याछुन्। सबै हाम्मै लागि हो। क्या गन्नु फुर्सद नाई र भ नतर त बाइजान्या छिया।’

१५ ‍औं अनशनको बेला जुम्लाका महिलाहरु हरेक दिन, ‘डा. केसीको जीवन रक्षा गर,’ ‘डा. केसीको माग हाम्रो हो,’ ‘डाक्टर केसीका जायज माग पुरा गर’ जस्तो नारा लगाउँदै सडकमा तताउन आउँथे। त्यसबेला चन्दननाथ -६ की ६६ वर्षकी बिजु रावल र ५५ वर्षकी दुबै आँखा नदेख्ने उमा रावल पनि सडकमा आएका थिए। उनीहरुको एक स्वर थियो, ‘ज्या पड्या पाडला अब त लड्न्या हो। मान्ठान् यइथरी पाथरखोल्या बुन्चरो फाल्या जो गन्न (गर्न) पाइन्छ? यतिका दिनसम्म डाक्टर न भोक्कै राख्याछुन्। यीनका माग हाम्मा माग हुन। पूरा गन्नु पडेन?’ 

त्यसबेला डा. केसीको स्वास्थ्य अवस्था निकै बिग्रिरहेको थियो।

यतिबेला उनीहरु सडकमा आउन नपाए पनि डा. केसीले गाउँमा हुँदा उपचार गराएका नागरिकहरुले उनको अनशन स्थमलमै पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाए। केहीले पहिला सेवा लिएका थिए भने केहीले अनशन स्थलमै पनि सेवा लिए। यसैबीच जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरबाट दिनभरि हिँडेर डा.केसीसँग छोरीको उपचार गराउन थिले आगमु लामा अनशन स्थलमै पुगिन्। 

‘जिल्लामा ठूलो डाक्टर आएका छन् भन्ने सुनेकोले छोरी लिएर आएको हुँ,’ उनले भनिन्, ‘छोरीको खुट्टा जन्मदै  बाँङ्गो छ। डाक्टर साबलाई देखाएपछि राम्रो सल्लाह दिनुभएको छ। पछि उपचार गर्ने पनि भन्नुभएको छ।’

उनी दुई वर्षीया छोरी पेमा लामालाई बोकेर अस्पताल पुगेकी थिइन्। अस्पतालमा उनले डा.केसीलाई खोज्दा अनसन बसेका छन् भन्ने सुनेपछि अनशन स्थलमै पुगेकी हुन्। 

डा. केसीले जन्मजात समस्या भएकाले अनशन सकिएपछि शल्यक्रिया गर्ने बचन दिए पछि उनले खुसी हुँदै भनिन्, ‘यी डाक्टर हाम्रो लागि लडेका रहेछन्। यीनका माग पुरा भए भने हामी सबैका माग पूरा हुने रहेछन्। मेरी छोरीको उपचार पनि हुने भयो।’

हात भाचिएर उपचार गराउन आएकी कालिकोट शुभकालिका गाउँपालिका -७ कोटगाउँकी दानकला शाहीलाई डा. केसी गरिब जनाताको सुख सुविधाको लागि ध्यानमा बसेको लाग्छ।

‘क्याका लागि डाक्टर साप ध्यनमा बस्याका छुन भनेर बुझ्न आएका छियौं। सबै सुद सुविधाको जनताको लागि हो भन्या थाहा पयौं,’ उनले भनिन्, ‘यो पोहर परार देखिको हल्ला हो। हामीले डाक्टर सापलाई देखेका छियानौं। आज प्रत्यक्ष देख्यौं। यता आएको बेला थाहा पाउ भनेर आयाका हौं। डाक्टर सापले ज्या भुन्याछन् ती सबै हाम्रै लागि रछ।’

सुनरगाँ मस्टका धामी पूर्णसिंह कठायतले डा. केसीबारे देउडामै भन्छन्, ‘जाइलाग्न जान्यानाई कैले, आइलाग्या लड्नुछ। गोविन्द केसीको अनशन, समर्थन गर्नुछ।’

यो अनशन जनताको लागि, व्यक्तिकालाई हैन।

लोभी, भ्रष्ट ओली सरकार, माग सुन्दिन्या छैन।

उनले थपे, ‘केसी त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर हुनुहुन्छ। उहाँको आन्दोलन सही छ। अहिले राजनीति आरोप प्रत्यारोपको भयो। हेर्नुस् जनता सबैका हुन्। कांग्रेस, कम्युनिष्ट, पञ्च सबैका। सरकारले सबैको हितको लागि सोच्नुपर्ने हो। आजसम्मका सबै सरकारले गोविन्द केसीका माग पुरा गरेनन्। अहिलेको सरकार पनि आफ्ना मान्छे पोस्ने दाउमा छ। हिजो आफ्नो सरकार हुँदा केसीका माग पुरा नगर्ने कांग्रेस आज उहाँको पक्षमा देखिन्छ। यो धुर्तता हो। उहाँ गरिब जनताको लागि लडिरहनु भएको छ। मेरो शत प्रतिशत समर्थन छ। मैले पहिले र अहिले उहाँलाई एकैनाशले हेरेको छु।’

जुम्ला तलिचौरका किसान भूमिनन्द आचार्यलेलाई डा. केसीका सबै माग जायज लागेका छन्। सबैले बिना हिचकिचाहट समर्थन गर्नुपर्ने उनको मत छ। ‘हामी किसानहरु काठमाडौंमा आफ्ना छोराछोरी पढाउन सक्दैनौं। विदेश त हाम्रो सपना हो। उपचार पाउन पनि हाम्रो लागि कठिन छ। यहीँ आएर हाम्रै लागि लडेका डा. केसी त देउता हुन,’ उनले भने।

दुई दशकअघि डा. केसी पहिलो पटक दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवा गर्ने उद्देश्यले जुम्ला आएका थिए। त्यति बेला उनी दुई साता जुम्ला बसे। उनले दुर्गममा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा र उपचारबारे पनि सिकाए। जुम्ला, मुगु र कालिकोटका स्वास्थ्यकर्मीसँग सीप र अनुभव आदानप्रदान गरे।

त्यो बेला कर्णालीमा विशेषज्ञ चिकित्सकको त कुरै छोडौं, एमबिबिएस उत्तीर्ण पनि पाउन कठिन थियो। कार्यालय सहयोगीले स्वास्थ्य संस्था चलाउँथे। जिल्ला अस्पताल पनि अहेव र अनमीको भरमा हुन्थे। गाउँमा औषधि र दक्ष स्वास्थ्य जनशक्ति नहुँदा सामान्य रोगलेसमेत मानिसको मृत्यु हुन्थ्यो। 

केसी फरकफरक समयमा तीन पटक जुम्ला आइसकेका छन्। पहिलो पटक स्वास्थ्य सेवा दिन जुम्ला आएका केसी पछिल्ला दुई पटक कर्णालीमा एमबिबिएस तहको पढाइ हुनुपर्ने मागसहित सत्याग्रह बस्न आएका हुन्। 

उनले बिएल नेपाली सेबासँगको कुराकानी भनेका थिए, ‘म देशका ७७ वटै जिल्ला पुगेको छु। जिल्ला–जिल्लाको स्वास्थ्य सेवा र शिक्षाको अवस्थाबारे जानकारी राख्छु। जहाँ पुग्यो त्यहाँ लथालिंग र भताभुंग अवस्था देखिन्छ। व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन। अवस्था फेर्न मेरो सत्याग्रह हो।’

‘म पनि दुर्गम ठाउँमा जन्में, त्यहीं गाउँमा हुर्कें। पढेपछि देशका सबै जिल्ला पुगें। सबै जिल्लाको स्वास्थ्य र शिक्षाको अवस्था बुझें,’ उनले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिन। गाउँमा भोक, रोग, बेरोजगारी र अशिक्षा छ। सिटामोल पनि नपाएर बिरामी छटपटाउँछन्। यो सबै राज्यले उपेक्षा गरेर भएको हो। अहिले पनि सर्वसाधारणले उपचार पाउँदैनन्। उपचार महंगो छ। सेवा पनि गुणस्तरीय छैन। ठूला अस्पताल र शिक्षण संस्था सबै निजी छन्। ती पनि सहरमै छन्। शिक्षा र स्वास्थ्यमा सरकारले व्यापार गरिरहेको छ। गर्न दिइरहेको छ,’ उनले सत्याग्रहको कारण प्रष्ट्याए।

नेपालमा कुल जनसंख्याको ८० प्रतिशत मानिस ग्रामीण भेकमा बस्छन्। आफूले पाउने तलबका भरमा विपन्न बिरामी भेट्न गाउँगाउँ पुगेका उनको समर्थनमा सर्वसाधारण जनताको एक मत छ। त्यसमाथि उनको सेवा लिएका जनता उनको लागि सबै खालको संघर्ष गर्न तयार छन्। यत्ति हो हालको विश्व परिवेशका कारण ठुला जुलुस र प्रदर्शन गर्न सकेका छैनन्। 

प्रकाशित मिति: : 2020-09-29 08:49:00

प्रतिकृया दिनुहोस्