दर्पण छायाँको वास्तविक सिक्वेल ‘दर्पण छायाँ पछि’ निर्माण हुँदै

दुई दशक अघि हरेक नेपालीको मन मस्तिष्कमा बस्न सफल चलचित्र हो, दर्पण छायाँ । दीलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको उक्त चलचित्रलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए।

यद्यपि, दर्पण छायाँको सिक्वेल सन् २०१७ मा निर्माण भइसकेको छ। दर्पण छायाँको सिक्वेल दर्पण छायाँ–२ लाई पनि तुलसी घिमिरेले निर्देशन गरेका हुन्। उक्त सिक्वेलमा पुष्प खड्का र सहारा कार्कीको मुख्य भूमिका रहेको थियो।

अब भने दर्पण छायाँको वास्तविक सिक्वेल ’दर्पण छायाँ पछि’ निर्माण हुने भएको छ । निर्माण हुने भनिएको ’दर्पण छायाँ पछि’ को कथा सन् २००१ मा आएको दर्पण छायाँ चलचित्र जहाँबाट अन्त्य भएको थियो, त्यहिँबाट उठान हुने छ।

दर्पण छायाँको अन्त्य नायिका निरुता सिंहको मृत्युसँग भएको हो जहाँ निरुता सिंहले उत्तम प्रधानलाई आँखा दिने अनुरोध गर्दछिन् र दीलिपलाई सधैँ आफ्नो साथीको देखभाल गर्नु भनेर यस चलचित्रको अन्त्य भएको थियो ।

अब निर्माण हुने ’दर्पण छायाँ पछि’ को स्क्रिप्ट अभिनेता उत्तम प्रधानले तयार पारेका हुन्। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण यस चलचित्रको छायांकन रोकिएको हो। अवस्था सामान्य हुने वित्तिकै चलचित्र फ्लोरमा आउने भएको छ।

दर्पण छायाँको वास्तविक सिक्वेल ’दर्पण छायाँ पछि’मा कलाकारहरु दीलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंह रहने छन् भने चलचित्रको निर्देशन तुलसी घिमिरेले नै गर्नेछन्।

प्रकाशित मिति: : 2020-09-29 13:23:17

प्रतिकृया दिनुहोस्