फिल्म–समीक्षा

अरविन्द अडिगाको उपन्यासलाई फिल्ममा उतार्ने सफल प्रयास ‘द ह्वाइट टाइगर’

भारतीय समाजको वास्तविक चरित्र उजागर गर्न खप्पिस उपन्यासकार अरविन्द अडिगाको बहुचर्चित उपन्यास ‘द ह्यवाइट टाइगर’ को कथामा आधारित फिल्म निर्माण भएको छ। रमिन बहरानीले निर्देशन गरेको यो फिल्मको पटकथा पनि उनी आफैले लेखेका हुन्।

भारतीय समाजमा व्याप्त अपराधबोधले ग्रस्त मानसिकतालाई बाहिर ल्याउन बहरानी सफल भएका छन्। यो सिनेमाले भारतीय समाजमा कुन हदसम्म गरिबी छ भन्ने पनि उजागर गरेको छ। जुन हेर्दा जो कोहीलाई अत्यास लाग्नसक्छ। 

भारतको सामाजिक, आर्थिक र राजनीतिक संक्रमणकालको कथा उजागर गरेको अडिगाको उपन्यासले बुकर पुरस्कार जितेको थियो। बहरानीले यसै कथालाई टिपेका हुन्। उनले सिनेमामा बिशुद्द गाउँले ठिटी, जो पछि ‘पिङ्कि म्याड्म’ (प्रियंका चोपडा) बन्छिन्, उनीसँगै गाउँको स्कुल मा पढेर पनि अंग्रेजी बोल्ने बलराम अर्थात् ‘ह्वाइट टाइगर’ आदर्श गौरब र गरिबको रगत पसिना चुसेर धनी भएको गाउँले जमिन्दारको घरमा जन्मेर आइटीमा करिअर बनाउन प्रयासरत अशोक (राजकुमार राव) बीचको कथा वास्तवमा धनी र गरिबबीचको कथा हो। आज पनि भारत (गरिब) र इण्डिया (धनी) बीचको द्वन्द जारी छ। यो दुई भागमा विभाजित छ। 

परम्परागत हिन्दी सिनेमा जस्तो यसमा ‘हिरो’ र ‘हिरोइन’ छैनन्। कथा बिहारको एउटा दुर्गम गाउँको हो। जुन गाउँको जमिन्दार पजेरो चढेर गाउँलेसँग पैसा उठाउँछ। साथै आफ्नो धर्म लुकाएर मात्र जागिर पाउने भारतीय समाजको खोक्रो चरित्र पनि देखाउँछ। एक स्थानमा नेताले बैठक कोठामा पान चपाएर थुकेको दृश्य निकै वास्तविक लाग्छ।

मूल रुपमा अंग्रेजी भाषामा बनेको कारण यो सिनेमामा कुनै–कुनै ठाउँमा गम्भीर गल्ति भएको देखिन्छ। बिहारको एउटा दुर्गम गाउँको समाजमा एउटा बुहारीले आफ्नो बाहुबली जेठाजुसँग आँखामा आँखा मिलाएर कुरा गरेको अलि पच्दैन। त्यस्तै केहि ठाउँमा यस्तै नपच्ने दृश्य छन्। यी सानातिना गल्तिलाई बिर्सिने हो भने सिनेमा उच्च कोटीकै बनेको मान्नु पर्छ। 

प्रियंका चोपडा, राजकुमार राव, महेश माञ्ज्रेकरलगायत अन्य कलाकार सहायक भूमिकामा छन्। सिनेमा आदर्श गौरबकै वरिपरि घुमेको देखिन्छ। धेरै बर्ष पहिले रिलिज भएको अमोल पालेकर अभिनित सिनेमा ‘गोलमाल’ को झल्को दिने यो सिनेमामा नायक गौरबले उत्कृष्ट अभिनय गरेका छन्। वेभ सिरिजका चर्चित कलाकार गौरबको यो पहिलो सेलुलोयड सिनेमा हो। राजकुमार राव र महेश माञ्ज्रेकरले पनि स्तरीय अभिनय गरेका छन्। नायिका चोपडाले आफ्नो सौन्दर्य र अभिनयले फेरी एक पटक दर्शकको मन जित्न सफल भएकी छिन्। 

बहरानीको निर्देशन र गौरबको अभिनय जमेको यस फिल्ममा सिनेमोटोग्राफी र सम्पादन (इडिटिङ्ग) पनि उत्कृष्ट रहेको छ। इटलीका सिनेमोटोग्राफर  पाओलो कारनेराले सुन्दर दृश्य कैद गरेका छन्। डेनी बेन्सी र स्याण्डर जुर्रियान्सको सङ्गीत औसत छ। सायद कथासँग तालमेल मिल्न नसकेर हो किरु सिनेमाको सुटिङ्ग अंग्रेजी भाषामा भएकोले हुन् सक्छ, डबिङ्गमा कतैकतै जर्क देखिन्छ। समग्रमा यो सिनेमा एक पटक हेर्दा समय खेर गएको भान हुँदैन। तर चलनचल्तीको हिन्दी सिनेमा हेर्ने बानी भएका दर्शकले भने यो सिनेमा हेर्नु व्यर्थ हो। यो सिनेमामा कतै पनि चुम्बन, बेड्सिन र नायिकालाई सेतो साडी लगाउन दिएर पानीमा भिजेको दृश्य हेर्न पाइन्न।

प्रकाशित मिति: : 2021-02-08 12:25:00

प्रतिकृया दिनुहोस्