‘गल्फ वार’ मा इराकबाट आफ्नो देशलाई सुरक्षित राख्न सफल कुवेती शेख अल साबा रहेनन्

कुवेतको विदेश नीतिलाई आधुनिकीकरण गर्न सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका आमिर सबा अल–हमद अल–जबेर अल–साबाको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ। 

उनको निधनले अरब राष्ट्र स्तब्ध बनेको छ। मंगलबार अमेरिकामा उनको निधन भएको खबर बाहिरिएपछि अरब राष्ट्रका अखबारहरूले दुःख व्यक्त गरेका छन्। सन् २००६ को जनवरीमा शेख जाबेर अल–साबाको निधन भएपछि उनी कुवेतको अमिर बनेका थिए। 

शेख साबाले सन् १९६३ देखि २००३ सम्म कुवेतको विदेश मन्त्रालयको कार्यभार सम्हाल्दा आफ्नो देशका विदेश नीतिलाई आधुनिकीकरण गरेका थिए। सन् २००३ पछि उनलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। 

शेख साबाले अरब राष्ट्रले कतारमाथि लगाएको प्रतिबन्ध खुकुलो पार्न पनि महत्वपूर्ण योगदान गरेका थिए। त्यसैले कतार सरकारले उनको निधनमा विशेष दुःख व्यक्त गरेको छ। 

उनको स्वास्थ्य गत वर्षदेखि नै बिग्रिन थालेको थियो। उनी यही जुलाईमा थप सल्यक्रियाका लागि अमेरिका पुगेका थिए। उनलाई अमेरिकी एयर फोर्स सी–१७ ले कुवेतदेखि मिनिसोटोको रोचेस्टरस्थित मायो क्लिनिकमा ‘एयर एम्बुलेन्स’ मार्फत पु¥याएको थियो। 

मध्यपूर्वमा अमेरिकी उपस्थितिलाई बाक्लो बनाउन शेख साबाले महत्वपूर्ण योगदान गरेका थिए। उनी राष्ट्रवादी धारको नेता मानिन्थे। सन् १९९० मा तेलकोे राजनीतिलाई लिएर इराकले कुवेतमाथि आक्रमण गरेपछि मध्यपूर्वको राजनीतिको स्वरुप नै परिवर्तन भएको थियो। 

‘गल्फ वार’ को नामले चर्चित यो युद्धमा शेख सावाले अन्तर्राष्ट्रिय समूदायको ध्यान आफ्नो देशतर्फ तान्न सफल भएका थिए। करिब ६ महिना चलेको युद्धको जिजीविसाबाट आफ्नो देशलाई बाहिर ल्याउन उनी सफल भएका थिए। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उनको कद बढेको थियो। 

यो घटनापछि कुवेत र अमेरिकाको सम्बन्धमा नयाँ आयाम थपिएको थियो।

प्रकाशित मिति: : 2020-09-29 21:04:06

प्रतिकृया दिनुहोस्