वीरगञ्जमा साउनदेखि घोषणा गरिएको निषेधज्ञा हट्याे, साँझ ६ बजेसम्म पसल खाेल्न पाइने

कोरोना नियन्त्रण तथा रोकथामका लागि वीरगञ्जमा साउन १० गतेदेखि घोषणा गरिएको निषेधज्ञा बिहीबारबाट हटेको छ। निषेधज्ञा हटेसँगै बजार साँझ ६ बजेसम्म खुल्ने भएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको सम्पन्न वैठकले नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ २९ को निर्णय बमोजिम निषेध गरेका सेवा बाहेक संक्रमण ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम भिडभाड व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले महानगरपालिका भित्र रहेका पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी साँझ ६ बजेसम्म सञ्चालन गर्ने, तोकिएको समय र स्थान बाहेक अन्य समय र स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, सामान बेचेको वा भिडभाड गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको छ । 

बैठकले पसलमा आउने ग्राहकलाई सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने, स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारवाही गर्ने निर्णय गरेको छ । 

तरकारी र फलफुल पसल बिहान ५ बजेदेखि ८ बजे सम्म मात्र सञ्चालन गर्ने, सडक पेटी र फुटपाथमा पसल संचालन गर्न नपाइने, निर्णय गरेको छ।

यस्तै वीरगञ्ज महानगरपालिकाको कार्यालय आइतबार र सोमबार संचालनमा आउने, पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिका मंगलबार र बुधवार सञ्चालन हुने र जिल्लाका अन्य १० स्थानिय तह बिहीबार र शुक्रबार सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको तामाङ्गले बताए।

बैठकमा जिल्लामा यातायात व्यवस्था कार्यालय सवारीबाट प्रदान गरिने सेवाको सन्दर्भमा जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधनहरुसँग सम्बन्धित सेवा प्रवाह गर्ने निर्णय गरेको छ । 

बैठकले नेपालीहरुको प्रमुख चाड दशैं तिहार, तथा छठ आई रहेको हुँदा कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थामा जिल्ला वासीलाई आ–आफ्नै घर पुजा आराधना गरी चाडपर्व मनाउन र सार्वजनिक स्थल तथा बजारमा अनावश्यक भिडभाड नगर्न तथा त्यस्ता स्थानमा आवत जावत नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: : 2020-10-02 07:48:33

प्रतिकृया दिनुहोस्