कोरोनाको जोखिम बढेपछि सिल उत्तम विकल्प!

चीनको वुहानबाट नेपाल ल्याइएका विद्यार्थीमा कोरोना पुष्टि नभएपछि नेपाललाई कोरोना फ्रि भनेर घोषणा गरियो। साउनमा जुम्लाका आइसोलेसनबाट कोरोना संक्रमित निको भएर घर फर्किएपछि जुम्लालाई पनि कोरोना संक्रमण मुक्त जिल्ला घोषाणा गरियो। 

अन्य जिल्लालाई पनि कोरोना फ्रि घोषणा गर्ने लहर चल्याो। नगर र गाउँपालिकामा पनि यो होडबाजी नचलेको होइन।

तर कोरोना फ्रि भनिएका ठाउँमा पुन: पोजेटिभ केसहरु देखिने गरेका छन्। जुम्ला पनि त्यही लाइनमा छ।

उसो त जुम्लामा २ सय १९ जनाले कोरोना जितेर घर फर्किए। पिसिआर परिक्षण भएर पनि नयाँ केसहरु नदेखिएपछि जुम्लालाई कोरोना फ्रि भनी घोषणा गर्नलाई एक कदम अगाडि बढ्नु अस्वभाविक पनि भएन। 

यसले नागरिकहरु ढुक्क भए। गतिविधि गर्नलाई स्वतन्त्रता प्राप्त भयो भने सुरक्षा सावधानी अपनाउन उति ध्यान दिइएन।

तर जानकारहरुका अनुसार  केस शुन्य हुने बित्तिकै कोरोना फ्रि भनी घोषणा गर्नु हतार हुन्छ जसरी नेपाललाई सुरुमै कोरोना फ्रि भनि घोषणा गर्नु हतार थियो।

जुम्ला कोरोना फ्रि घोषणा यता हिमा गाउँपालिकामा एकैपटक मासमा कोरोना देखियो। चन्दननाथ नगरपालिकामा पनि कोरोनाका बिरामी थपिए। 

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र भर्ना भएका विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएपछि जुम्लामा पुनः त्रास बढेको छ। 

दुई चिकित्सक, २६ जना स्वास्थ्यकर्मी सहित ४६ जना कोरोना संक्रमित दुई दिनको अवधिमा थपिए। जसमा कालिकोटबाट उपचारका लागि अस्पतालमा भर्ना भएका ६ जना बिरामीमा र मुगुका दुई जनामा पनि कोरोना पोजेटिभ देखिए भने बागवानी अनुसन्धान केन्द्रका ८ जनामा पनि कोरोना संक्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ। 

कालिकोटबाट स्वाब परीक्षणका लागि पठाएका मध्ये थप ८ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर मेगराज बुढाले जानकारी दिए। 

उनका अनुसार संक्रमित कालिकोट खाडाचक्र नगरपालिका, पलाता गाउँपालिका र नरहरीनाथ  नगरपालिकाका हुन्। मुगुका दुबै जना खत्याडका हुन्। यी दुबैको स्वाब संकलन गरेर मुगुबाट परीक्षणका लागि कर्णाली अपस्पतालमा पठाइएको थियो।

‘कर्णाली अस्पतालका दुई जना चिकित्सक, नर्स र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखियो,’ मेडिकल रेकर्डर बुढाले भने, ‘संक्रमित सबै कोही होम आइसोलेसनमा छन्। कोही कर्णाली प्रतिष्ठानको आइसोलेसनमा छन्।’ 

बिरामीको उपचार गर्ने सिलसिलामा ठूलो संख्यामा स्वाथ्यकर्मीहरु पनि संक्रमित हुनु परेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार जुम्ला कोरोना महामारीको अत्यन्तै खतरानक चरणमा छ। 

यसरी हरेक पल्ट कोरोना संक्रमित देखिएपछि निषेधाज्ञा जारी गर्ने गरिएको छ। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको टेस्टिङ र ट्रेसिङ नहुँदासम्म निषेधाज्ञा हुने गरेको छ। तथापि निषेधाज्ञालाई अन्तिम विकल्प मान्न नहुने नागरिकको बुझाइ छ।

निषेधाज्ञालाई अन्तिम विकल्प मान्न थालेपछि  जुम्ला स्थित व्यवसायीहरुले अर्को विकल्प अपनाउन प्रशासनलाई आग्रह गरेका छन्। उनीहरुका अनुसार लामो समयको लकडाउन र निषेधाज्ञाले जुम्लाको अर्थतन्त्रमा नकारात्मक असर पर्न थालेको छ। 

निषेधाज्ञाको असर आम नागरिकमा पनि पर्न थालेको छ। असन्तुष्टिहरु बढ्न थालेका छन्। फेसबुकमा ईश्वरीप्रसाद देवकोटाले व्यंग्य गर्दै लेखेका छन्, ‘सबैभन्दा सजिलो उपाय लकडाउन, काम गर्नु नपर्ने, कन्ट्रयाक ट्रेसिङ गर्नु नपर्ने, दुईचार सुरक्षकर्मी सडकमा खटाइदिए भैगो, जुम्ला मुकाम!’

आम नागरिकमा परेको असर र अन्य समस्यालाई हुर्दा निषेधाज्ञालाई नै अन्तिम विकल्प मान्न नहुने तर्क गर्छन् सामाजिक सेवामा क्रियाशील युवा प्रज्वल महत।

‘लकडाउनको अर्थ नै नबुझाएर देशमा संकटकाल लगाएझैं प्रहरी प्रशासन परिचालन गरी बजार सिल त गरियो तर कोभिडको पूर्व तयारीमा  धेरै कुरा नजर अन्दाज गरिएन। जस्तो: क्वारेन्टाइन र आइसोलेसनको  व्यवस्थापनमा देखिएको कमजोरी, अत्मा  सुरक्षाको कसरी अपनाउने भन्ने बारे समाजलाई जानकारी दिन नसक्नु आदि,’ उनी भन्छन्, ‘कोरोनाका केस देखिने बित्तिकै सिल गर्नुको सट्टा कन्ट्याक्ट् ट्रेसिङ गर्ने, मासमा पिसिआर परीक्षण गर्ने लगायतका काम गर्न सकिन्थ्यो।’

उनका अनुसार सिमित मानिसहरुलाई प्रभाव पर्ने गरि रोगलाई रोगको आफ्नै दायरामा राखी बजार संचालन गराइनु पर्दथ्यो। रोगसँग लड्दै गरेका नागरिकले भोगसँग लड्नु पर्ने स्थिति अउन दिनु भएन। अस्पतालका आकास्मिक बाहेक सबै सेवा बन्द गर्दा स्वस्थ्य समस्या भएका जनताहरुलाई कोभिड भन्दा अरु रोगले बढी प्रभाव पारेको देखिन्छ। यसले पनि निषेधाज्ञा अन्तिम विकल्प हुन सक्दैन।

आम नागरिक र मजदुरहरुको दैनिकीमा निषेधाज्ञाको नराम्रो असर पार्दै गएको छ। उनीहरुलाई दैनिक उपभोग्य सामग्रीको जगेडा, आम्दानीको दायरा लगायत समस्याहरु पर्दै गएका छन्।

दैनिक ज्यालादारीमा काम गर्ने चन्दननाथ १० का धन बहादुर सार्कीसँग एकै पटक धेरै रुपियाँ नहुँदा समस्या परेको छ। उनले आवश्यक परेको बेला दैनिक उपभोग्य सामग्री किन्न नपाएकोले घरमा समस्या परेको बिएल नेपाली सेवालाई बताए।

‘दैनिक ज्यालादारीमा काम गर्ने हामीसँग भनेको बेला चाहिने जति रुपियाँ हुँदैनन्। रुपियाँ भएको बेला बजार सिल हुन्छ। सामान किन्न पाइन्न,’ उनले आफूले भागेको समस्या भने, ‘चामल नुन तेल गर्न सकिदैन। घर परिवारले समस्या भोग्नुपरिरहेको छ।’

निषेधाज्ञाले जोखिम कम हुने भन्दा पनि स्वास्थ्य सुरक्षाका उपाय नअपनाउँदा जोखिम बढ्ने गरेको जानकारहरु बताउँछन्। 

१० भाद्र २०७७ मा नागरिक दैनिकले छापेको ‘गाउँगाउँमै पुगेर सिडिओले बाँडे मास्क’ शिर्षकको समाचारको फोटोमा सिडिओको व्यक्तिगत दूरीलाई ख्याल नगरेको देखिन्छ। उक्त समाचारको आठ दिन पछि भदौ १८ मा उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो।

सरकार, उसका संयन्त्र र राजनीतिका पार्टी समेतका गतिविधिलाई व्यंग्य गर्दै सुनारगाउँ मष्टोका धामी पूर्णसिंह कठायत गीतबाटै व्यंग्य गर्छन्।

डाक्टर, नेता सल्लाह गरि भित्र भित्रै मिल।
कोरोनाको निउ पारेर बजार सारा सिल।।

कोरोना संक्रमणबाट बच्न माक्स लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, नियमित हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ।

प्रकाशित मिति: : 2020-10-04 13:12:00

प्रतिकृया दिनुहोस्