पसल राेकाया: जसले आइटी ज्ञानकाे दुरुपयाेग गरेर पर्यटनमन्त्रीकी श्रीमतीसम्मकाे चरित्र हत्या गरे

साइबर ठगी लगायत केही घटनामा संलग्नता रहेको आरोपमा पक्राउ परेका जुम्लाका पसल रोकाया प्रहरीले सार्वजनिक गरेको छ। 

आइतबार भारतको सिमावर्ती क्षेत्रबाट स्थलमार्ग हुँदै झापा ल्याएपछि हवाई मार्गमार्फत काठमाडौं ल्याइएको रोकायालाई महानगरीय प्रहरी परिसर काठमाडौंले आज (साेमबार) सार्वजनिक गरेको हो।

एसएसपी श्याम ज्ञवालीका अनुसार रोकायले सरकारी कर्मचारीदेखी मन्त्रीका श्रीमतीलाई चरित्र हत्यादेखि ठगी गरेको खुलेको छ। 

त्यस्तै नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पास गराइदिने भन्दै नर्सिङ पढ्ने युवतीसँग रकम समेत अशुल गरेको खुलेको छ। 

काउन्सिल सदस्य जीता बरालले तीन लाख रुपैयाँ मागेको फेसबुक कुराकानी सार्वजनिक भएपछि विवादमा तानिएकी थिइन्। यसै प्रकरणमा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती तथा काउन्सिलका रजिस्ट्रार विन्दा घिमिरेको नामसमेत जोडिएको थियो।

‘साइबर अपराध धेरै देखिन्छ। मानिसको चरित्र हत्या गर्ने र पैसा माग्ने गरेको पीडितहरुले जानकारी दिएका छन्,’ एसएसपी ज्ञवालीले भने।

रोकायले आफ्नै नाममा नर्सिङ कलेजसमेत खोल्ने तयारी रहेको बताएको समेत खुलेको छ। उनले आफ्नो खातामा २ करोड रुपैयाँ समेत भएको दावी गरेका रहेछन्। उनीविरुद्ध सुर्खेतमा ठगी अभियोगमा उजुरी समेत दर्ता भइसकेको छ।

उनले कर्णाली आवाजडटकम र कर्णाली एचडी युट्युव च्यानल मार्फत् पनि चरित्र हत्या गर्ने गरेको एसएसपी ज्ञवालीको दावी गरेको छन्। उनले चरित्र हत्या गर्ने फेसबुकमा नक्कली आइडी खोलेर दुई जनाको नक्कली च्याट समेत गरेको तथा कसैको अश्लिल फोटो समेत हाल्ने धम्की दिने गरेको खुलेको हो।

‘रोकायले विभिन्न मानिसको फेक फेसबुक आइडी बनाएर चरित्र हत्यादेखि बार्गेनिङसम्मका अपराध च्याट गरेको देखिएको छ,’एसएसपी ज्ञवालीले भने।

रोकाय २०७४ असोज २ गते ठगी मुद्धामा जिल्ला अदालत काठमाडौंमा ५० हजार धरौटी बुझाएर छुटेका व्यक्ति हुन्। त्यसपछि पनि उनीबिरुद्ध धेरै उजुरी परेका छन्। 

२०७५ पुस ४ गते १ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत काठमाडौंबाट छुटेका थिए। 

त्यसपछि उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका उजुरी परेका छन्। उनीविरुद्ध साइबर अपराधमा बढी उजुरी आएको परिसरका एसएसपी ज्ञवालीले बताए।

२६ वर्षीय रोकायले भारतको बैंगलौरबाट आइटीमा माष्टर्स गर्दै गरेको बताउँदै आएका छन्। उनमा आइटीको राम्रो ज्ञान भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। 

उनको नाममा खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा नामको कम्पनी दर्ता गरेर ठेक्कापट्टा समेत गर्ने गरेको देखिएको छ।

प्रकाशित मिति: : 2020-10-05 14:41:58

प्रतिकृया दिनुहोस्