खप्तड श्रृखला–३

भादा होमस्टेको त्यो लठवा, झुम्रा, मघौटा, सखिया नृत्य

हेमन्त विवश

काठमाडाै‌ं
हेमन्त विवश : बिएल नेपाली सेवा
हेमन्त विवश : बिएल नेपाली सेवा

खप्तडबाट सर्दै आएका पाइला डोटीको पूर्वीचौकी हुँदै सहजपुर पुगुञ्जेल थकितप्रायः भइसकेका थिए।

थप ऊर्जा मिलेको थियो– सहजपुरमा सजाएर लहरै राखेका सुन्तला र जुनारले। गीतका पंक्तिमा बिम्ब बनेर आइदिन्छ सुन्तला। जिन्दगीलाई बनाइरहेको हुन्छ रसपूर्ण। 

प्रेम गीतमा सुन्तली दाना भन्नुले माया–पीरतिमा गजबको बिम्ब पैदा गरिदिन्छ। तिनै सुन्तलाको सुन्दर दृश्य आफ्नो क्यामेरामा कैद गर्न तल्लिन थिए– मित्र अमृत भादगाउँले। पर्यटन क्षेत्रमा मध्य तथा सुदूरपश्चिम सबैभन्दा बढी लेख्ने मनुवा हुन– भादगाउँले।

उसो त उनले नेपालका कुनै जिल्ला छोडेका छैनन् लेख्न र घुम्न बाँकी। जो इमानदार छन्। स्वाभिमानी छन्। अन्यायी, अत्याचारी, घूसखोरी, स्वार्थी र द्रव्य पिपासुहरुसँग उनी कट्टी गरिदिन्छन्। लोभलाग्दो र ईष्र्या गर्न लायक छ उनको जिन्दगी। 

हात्ती लस्केझैं एकनाशको उनको काम गर्ने गतिले सन्देश दिन्छ– धैर्य र अनुशासनको। बेलाबखत भन्ने गर्छन् उनी– मरिलानु छैन केही। एक मस्त फकिरजस्ता उनी लागिरहन्छन् अरुकै काममा। आफ्ना तयार भइसकेका पुस्तकका पाण्डुलिपिलाई समेत अन्तिम रुप दिन समय पाएका छैनन्  । 
एकछिनका लागि तिनै मनुवाको लय साटिन्छ– पर्यटन बोर्डका निवर्तमान सदस्य तथा पर्यटन व्यवसायी कृष्णबहादुर महरासँग। फोनमा वार्ता हुँदाहुँदै भोलिपल्टका लागि तय हुन्छ भादा गाउँको यात्रा।

थकान जति धनगढीस्थित डिभोटी होटेलको कोठामा बिसाएपछि सुरु हुन्छ– भोलिपल्टको बिहानी। सूर्यका किरणले झ्यालबाट भित्रै प्रवेश गरेर बाध्य तुल्याइदिन्छन् ‘फ्रेस’ हुन। घरमा बिमारी आमालाई खाना बनाएर खुवाईवरी आइपुगे– महरा दाइ। यात्रा तय हुन्छ भादा गाउँ, बेहडा बाबा मन्दिर र कोइलही तालको। परिहासमा रमाउने एक रसिक महरा दाइसँगको दिनभरको यात्रा अविष्मरणीय रह्यो। 

भादा गाउँ जो चिनिन्छ थारू होमस्टेको नामले। जहाँको एक प्रिय भलाद्मी अनुहार हुन्–   लक्ष्मीनारायण चौधरी। उनी सक्रिय छन्– थारू संस्कृति जोगाउन। उनी कामविशेषले धनगढी पुगेका थिए। 

चौधरी नआइपुगुञ्जेलको समय सदुपयोग गर्ने निधो गरेछन् महरा दाइले। जो बाटोमा हाँसो ठट्टा गरिरहन्थे। खाना खानुअघि कोइलही ताल घुमाए। उनी चिन्ता व्यक्त गरिरहन्थे हाम्रा पर्यटकीय गन्तव्य बोकेका क्षेत्रसँगै यो देशको पनि।

 पछिल्लो समय मान्छे देखेर विरत्तिएजस्ता लाग्थे उनी। केही गरौँ भन्ने सोच भएका स्वाभिमानी इमानदारहरु बेलाबखत देखिन्छन् नै त्यस्ता। तर पनि उनी हिम्मतिला मान्छे हुन्। जो कैलालीको खानीडाँडामा पाँचतारे होटल निर्माणदेखि अन्य कतिपय कामका लागि गुरु योजना तयार पारेर लागि परेका छन्। उनको यो अभियान प्रारम्भिक चरणमै छ। परिहासमा रमाउने एक रसिक व्यक्तिसँगको दिनभरको यात्रा अविष्मरणीय रह्यो। 

हामीले वास्ता गर्न सकेका छैनौं हाम्रा सम्पदाहरुको। नजिकको तीर्थ हेलाँ भनेझैं। बेहणा बाबा मन्दिरको महत्व दर्शाउन सकेका छैनौँ। यति हुँदाहुँदै पनि कहाँ–कहाँबाट चाल पाएर बेहणा बाबा दर्शनका लागि आइपुग्छन् हजारौँ भारतीय भक्तहरु। 

‘मिथ’ भन्छ– दुई सय वर्षपहिले अहिलेको भारतको ग्वाला भन्ने गाउँका मान्छे आई डुमरी गाउँमा ठूलो संख्यामा गाई पालेर बस्दथे। जसमध्ये एउटा गाई व्याएपछि न बाच्छीलाई दूध दिन्थ्यो न त ग्वालालाई नै। ग्वालाहरुले गाईले दूध नदिनुको कारण बुझ्न थाले। गाईले दूध नदिनुको वास्तविकता पत्ता लगाउने क्रममा ग्वालाले गाईले शिलामा दूध बगाइरहेको देखे छन्। तत्पश्चात ग्वालाहरुले उक्त शिलाको पूजा गर्न थाले।

 त्यो कुरा सुनेर त्यही ग्वाला गाउँबाट उक्त ठाउँमा एक जना शन्त आएछन्। ती शन्तले सानो मन्दिर बनाई नियमित रुपमा पूजाआजा गर्न थाले छन्। त्यो बेलादेखि नै बेहणा बाबा मन्दिरमा नियमित रुपमा पूजापाठ चलिरहेको छ।  

बेहणा बाबाका पुजारी ओमप्रकाश जोशीका अनुसार त्यहाँ जेठ शुक्ल पक्षको गङ्गा दशहरा, वैशाख संक्रान्ति, माघे संक्रान्ति, साउन महिनाका सबै सोमबार, माघे औंशी र चैत्र औंशीका दिन लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आइपुग्छन्। 

जोशीका अनुसार, यसरी आउने भक्तजनहरुमा नेपालीभन्दा कैयौं गुणा बढी भारतीयहरु नै हुन्छन्। बेहणा बाबा मन्दिरको उचित प्रचारप्रसार गर्न सके लाखौँको संख्यामा पर्यटकहरु भित्र्याउन सकिने कुरामा दुई मत छैन। जसका लागि सुविधायुक्त बाटो, यातायातका साधनदेखि खाने–बस्ने व्यवस्थाको उचित प्रबन्ध मिलानुपर्ने देखिन्छ।

भादा गाउँबाट करिब तीन किलोमिटरको दूरीमा छ कोइलही ताल। कैलाली जिल्लाका ठूला तालहरुमध्येको एउटा हो यो। तालको किनारतिर देखिएको जङ्गलले थप सौन्दर्यता थपेको छ। ताल शयर गर्न डुङ्गाको व्यवस्था गरिएको छ। 

प्रकृतिको सुन्दर उपहार उक्त ताल हेर्दाहेर्दै दिन बित्छ तर मन अघाउँदैन। कैलाली जिल्लाका सबैभन्दा सुन्दर तालहरुको सूचीमा अग्रस्थानमै राख्न मिल्ने ताल हो– कोइलही। यो संरक्षण, प्रवद्र्धनको पर्खाइ छ। 

बेहडाबाबा मन्दिरको दर्शन गरेर कोइलही तालको सौन्दर्यले मोहित बनेकाहरु थप प्रफुल्लित बन्छन्– थारू होमस्टेको सांस्कृतिक नृत्यले। जहाँ थारू परिकारको स्वाद छुट्टै छ।

नेपालकै पहिलो थारू होमस्टे हो– भादा गाउँ। जहाँ थारू समुदायका महिलाहरुले प्रयोग गर्ने पुराना गरगहनाहरु देख्न सकिन्छ। होमस्टे सुरु भएपछि थारू चालचलन, नाचगान, संस्कृति तथा पोशाकलाई बचाएर राख्न सिकेका छन् उनीहरुले।

थारू होमस्टे भादा गाउँ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरी भन्छन्, थारू जातिको धर्म संस्कृति, रीतिरिवाज, भाषा, पहिरन आदि थुप्रै विषयका बारेमा अध्ययन अनुसन्धान गर्नका लागि उपयुक्त गाउँ पनि हो यो। थारू जातिका पुराना लठवा, झुम्रा, मघौटा, सखियाजस्ता नृत्य गाउँका सबै युवाले सिकेका छन्। सबै आफ्नो भाषा संस्कृतिको संरक्षण प्रवर्धनमा लागि परेका छौँ।’

सरसफाइमा त्यतिकै ध्यान दिन्छन् भादावासी। १ सय ६८ घरधुरी भएको उक्त गाउँ विश्ुद्ध थारूहरुको गाउँ हो। त्यहाँ अरु समुदायका मान्छेको बसोवास छैन। 

पुरानो थारू सभ्यता र संस्कृति झल्काउने सुन्दर घरहरु। वरपर हरियाली, गहुँबारी, माछा मार्न जाल बोकिरहेका महिला। जङ्गल किनारतिरबाट आइरहेको चराचुरुङ्गीको आवाज। सबैले आनन्द तुल्याइरहे मनमा। लक्ष्मीनारायण चौधरीको आँगनमा देखा परे– तन्नेरी–तरुनीहरु। 

थारू पहिरनमा सजिएका तिनीहरुले देखाउन थाले नृत्य। गाउन थाले गीत। लागिरह्यो असली जिन्दगी त भादा गाउँवासीको पो रहेछ। मिठासपूर्ण थिए– थारू परिकार। खानापछि स्वाद थपेको थियो– थारू नृत्यले।

छुट्टिदा पर्यटनका क्षेत्रमा चिनिएका लेखक अमृत भादगाउँलेलाई सम्मान गरे लक्ष्मीनारायणले। कृष्णबहादुर महराको प्रमुख आथित्यमा प्रदान गरिएको उक्त सम्मान २०७३ सालमै घोषणा गरेको थियो– थारू होमस्टे व्यवस्थापन समिति भादा गाउँले। यतिखेर जुर्न गयो–  प्रदान गर्ने संयोग। 
कैलालीको धनगढीबाट १७ कि.मि. पूर्वमा रहेको भादा गाउँसम्मको यात्रा मेरालागि अहिलेसम्मकै पृथक थियो। भादागाउँवासीको आत्मीयता र स्वागतले भावविह्वल बनेको मन छुट्टिँदा फर्की–फर्की हेरिरहेकै थियो। केही समयका लागि भादा गाउँवासीसँगै रमाएको मन बाटोमा गरिरहेको थियो– आफैसँग प्रश्न। आखिर जिन्दगीको असली लय त गाउँमै रहेछ ?

लमतन्न परेको जीवनरुपी छायाँ सल्बलाउँछ कहिलेकाहीँ। त्यही सल्बलाहटले खोज्न थाल्छ गोरेटो। उसो त जीवन आपैmंँमा एक गोरेटो न हो। हरेक दिन जहाँ टेकेर जान्छन्– माया पिरति, भावना, कल्पना, चाहना, सम्झना कैयौँले। अनि टेकेर जान्छन्– अन्याय, अत्याचार शोषण  र गरिबीले पनि। जिन्दगीको यही गोरेटोमा देखिन्छन्– कतै स्वार्थका पाइला त कतै माया र सदभावका पाइलाहरु। यतिखेर भन्न खोजिएका ती पाइलाहरु माया सदभाव र आत्मीयताका हुन्। 

सम्पर्क :
लक्ष्मीनारायण चौधरी 
९८६५८८५७१६

प्रकाशित मिति: : 2021-02-19 21:15:00

प्रतिकृया दिनुहोस्