सुशान्तको नाममा ८० हजार नक्कली अकाउन्ट खोलिएको प्रहरीको दावी

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा उनलाई लिएर ८० हजार नक्कली अकाउन्ट खोलिएको जानकारी मुम्बई प्रहरीले दिएको छ। 

सुशान्तको आत्महत्या प्रकरणमा मानिसलाई दिगभ्रमित गर्न यस्ता अकाउन्टहरू खोलिएको मुम्बई प्रहरी प्रमुख परमबीर सिंहले जानकारी दिए। उनले यही अकाउन्टमार्फत मुम्बई प्रहरी र महाराष्ट्र सरकारलाई बदनाम गर्न खोजिएको पनि बताए। 

सुशान्तको निधनमा मुम्बई प्रहरी र महाराष्ट्र सरकारले राम्रो छानवीन नगरेको भन्दै दिनहुँ लाखौंको संख्यामा मानिसहरूले दुबै संस्थानलाई ट्रोल गर्ने गरेका छन्। 

मुम्बई प्रहरी प्रमुखको यो भनाई बाहिर आएपछि भारतीय कांग्रेसका नेता तथा पूर्व मुख्यमन्त्री दिग्विजय सिंहले मंगलबार एउटा ट््वीट गर्दै भनेका छन्, ‘मुम्बई प्रहरीको छवी खराब देखाउन बनेको ८० हजार नक्कली अकाउन्टको विषयमा छानवीन हुनुपर्छ।’

दिग्विजयले यस्तो काम भारतीय जनता पार्टी (बिजेपी) को सहयोगमा मात्र हुन सक्ने आरोप लगाएका छन्। मुम्बई प्रहरीको साइबर युनिटले बनाएको रिपोर्टमा इटाली, जापान, फ्रान्स, रोमानिया, टर्की, थाइल्याण्ड, इन्डोनेसिया, पोल्याण्ड र स्लोभेनिया जस्ता देशबाट सोसल मिडियामा पोस्ट भएका छन्। 

मुम्बई प्रहरी प्रमुख सिंहले मुम्बई प्रहरीको मनोबल कमजोर बनाउन यस्तो कार्य भइरहेको बताएका छन्। उनले कोरोना भायरसबाट ६ हजार बढी प्रहरी जवान संक्रमित भएको र ८४ जनाको निधन भएको अवस्थामा मुम्बई प्रहरीलाई बदनाम गर्नु आपत्तिजनक रहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-10-06 13:11:36

प्रतिकृया दिनुहोस्