बुधबार, १६ जुलाई २०२५

थाइल्यान्डमा पोखिइरहेको नेपाली प्यार

बिएल संवाददाता

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड
2022-11-04 16:47:00
BreaknLinks
• • •

निख्रिएको निलो आकाश। गगनचुम्बी भवन। जताततै मठ–मन्दिर। पर्यटकले टम्म भरिएको सहर।

सस्तो र उत्कृष्ट सडक–खाना। कुरूप फुटपाथ, छेउकुनातिर मसाज–मदिरालय। ‘थाई–अंग्रेजी’ लवज। वारिपारि सुरा–सुन्दरी। ‘सूवर्णभूमि’देखि ‘चाओ फ्राया’सम्म अजब–गजबको मेला–उत्सव।

बैंककको बेग्लै रौनक छ– चम्किलो र थकाइलाग्दो तर नथाक्ने जीवन।

एउटा बैंककका अनेकौँ जीवन–कहानी छन्। कथा–व्यथा र वेदनाले भरिएका बग्रेल्ती ‘आप्रवासी सपना’। थाइल्यान्डले कैयौं ‘गोर्खा’ अर्थात् नेपालीहरूको भाग्य चम्काएको छ। कोरोना महामारीको कहरले एउटा गहिरो र भयानक भुमरीमा धकेल्यो। तर पनि ‘जिजीविषा’ बोकेर टन्टलापुर घाममा हिँडिरहेका छन्, बैंककका नेपालीभाषी

थाइल्याण्डको ‘थाई–नेपाली’ समाज छरिँदो भएपनि जीवन्त छ। नेपालीहरू जहाँ पुगेपनि भाषा, धर्म र संस्कृतिसँग बलियो सम्बन्ध राख्छन्। नेपालीहरू भावुक हुँदै भन्छन्, ‘थाइल्यान्डमा कैयन भावना र सपना छन्। नेपालबाट ढाटा छौँ। बर्माभन्दा अलिक पर। तरपनि दशकौँदेखि घामको चमकमा नेपाली जीवन खोज्दै हिँडिरहेका छौँ।’

‘नेपाली भाषा नर्बिसियोस्’ भनेर मन्दिरमै नेपालीभाषा पढाउँछन्। हिन्दू देवी–देवता सजाएर मठ–मन्दिर बनाएका छन्। दसैं–तिहार, तीज, जनैपूर्णिमा, गीता जयन्ती, रामनवमी, शिवरात्रीजस्ता पर्वहरू नेपालमा भन्दा धुमधामसँग मनाउँछन्।

थाइल्यान्डमा नेपालीहरूका तीनवटा परिचय छन्, ‘थाई नेपाली’, ‘बर्मेली नेपाली’ र ‘नेपालको नेपाली।’ उनीहरू नेपाली, बर्मिज (कतिपय), थाई, हिन्दी र अंग्रेजी (कतिपय) भाषा बोल्छन्। सन् १९९० तिर १० हजार हाराहारीमा रहेका नेपालीभाषी हालसम्म ७० हजार पुगेको अनुमान छ।

नेपाल–म्यान्मार–थाइल्यान्ड कनेक्सन

उखरमाउलो गर्मीसँगै सुखुम्भिट–२२ मा भेटिए, होमनाथ न्यौपाने। म्यान्मारको मिचिनाबाट काम खोज्दै डेढ दशकअघि बैंकक आएका हुन्, उनी। बाध्यताले बा–आमाभन्दा ढाटा भएपनि प्रवासी बसाइ सुखद् भएको बताउँछन्। उनी थाईको काम र दाममा रमाइरहेका छन्।

होमनाथका तीन देशसँग तीनवटा नाता छन्। पुर्खाको भूमि– नेपाल, जन्मभूमि– म्यान्मार। अनि कर्मभूमि– थाइल्यान्ड। उनी प्रेमपूर्वक भन्छन्, ‘हामीहरू तीन देशका नागरिकजस्तै भएका छौँ। नेपाल र थाईप्रति उच्च सम्मान छ। पुर्खाको भूमि र त्यहाँको माटोको माया लाग्छ। नेपाली भाषा र संस्कार बिर्सिएका छैनौँ। बर्मा त झन् जन्मेको देश भइहाल्यो।’

म्यान्मार अर्थात् बर्माको मिचिनामा हजारौँ नेपालीहरू बस्छन्। उनीहरूमध्ये अधिकांश रोजगारी खोज्दै थाइल्यान्ड आउँछन्। होमनाथ पनि त्यही लहर समातेर यहाँसम्म आइपुगेका हुन्। उनीजस्ता हजाराैँ युवा–युवतीहरू म्यान्मारकाे गृहयुद्ध छल्न थाइल्यान्ड आइरहेका छन्।

बैंकक आएदेखि जन्मभूमि फर्किएका छैनन्, होमनाथ। उनी सम्भवतः तत्काल जाँदैनन् पनि। म्यान्मार द्वन्द्वमा फसेको छ। जताततै अशान्त छ। तर बैंककमा रहेका नेपालीहरू शान्त र सुरक्षित छन्।

हाेमनाथको नेपाली भाषा र साहित्यप्रति अधिक लगाव छ। कहिलेकाहीँ कविता–कथा लेख्छन्। अनलाइन खोलेर समाचार पढ्छन्। यात्राको बेला नेपाली गीत–संगीत सुन्छन्। उनी भारतेली–नेपाली प्रध्यापक महेन्द्र पी लामाको ‘ओ दार्जीलिङ’ मार्फत् नेपाल–भारत–चीन–म्यान्मार नियालिरहेका छन्।

‘नेपालीहरूले देश भुल्लान् तर भाषा–संस्कार, रिति–थिति भुल्दैनन्। आधुनिकीकरणको प्रभावमा डुब्दैनन्। हामीहरू पनि त्यस्तै एउटा नेपाली जाति हौँ। पुर्खाहरू नेपालबाट बर्मा आए। हामीहरू बर्माबाट थाइल्यान्ड आएका छौँ, तर नेपाली नै भएर बाँचेका छौँ,’ होमनाथ भन्छन्।

थाइल्यान्डमा गुञ्जिएको नेपाली गीत

थाइल्यान्डले पर्यटकहरूलाई मिठो र मस्त स्वाद बाँडिरहेको छ। सूर्य अस्ताउँदै जाँदा बैंकक–फुकेट–पटाया क्षणभरमै जुर्मराउँछन्। अनि एकाएक घन्किन थाल्छन्, आधुनिक बाजागाजा।

शुक्रबार दिउँसो ‘पटाया’मा एउटा गीत बज्यो–

सालको पात टपरी गाँसेर
जुनि बिताउँ सँगसँगै हाँसेर...

थाई कोलाहलमा गुञ्जिरहेको एउटा नेपाली गीत। पर्यटकीय–नगरीको व्यापक चहलपहल। थाई रेष्टुरेन्टमा ‘देखिने–खाइने’ बैग्लै स्वाद। अनि खाना चपाउँदै नेपाली गीत सुनिरहेका विदेशी पर्यटक।

नेपाली गीतको तालमा झुमिरहेका श्यामबहादुर थापा पटायाको एउटा रेष्टुरेन्टमा काम गर्छन्। म्यान्मारको मोगोकबाट पाँच वर्षअघि थाइल्यान्ड आएका उनी आफूले नेपाली भाषा मन्दिरमा सिकेको सुनाउँछन्।

नेपाली गीत नसुनि बस्नै सक्दैनन् रे, उनी। ‘नेपाली गानाहरू सुन्दा साह्रै रमाइलो लाग्छ क्या! म चाहिँ विष्णु माझीको प्रशंसक हुँ, फेरि। विष्णु माझीका लोक गीत सधैं सुन्छु। नेपाली गीत आफ्नै लयमा बग्छन्,’ म्यान्माली नेपाली श्यामबहादुर भन्छन्।

नेपालबारे चासो राख्छन् तर आजसम्म नेपाल पुगेका छैनन्, उनी। एकपटक नेपाल घुम्ने हुटहुटी बोकेका छन्। ‘नेपाल जाने हो, हजुर। अलिअलि पैसा जम्मा गरेर एकबारको जुनीमा नेपाल घुमेर आउने हो,’ उनले भने।

श्यामबहादुर बिदाईपूर्व विष्णु माझीको एउटा लोकगीत बजाउँछन्–

छिपछिपे पानीमा लेउ
माया के हो पाइन भेउ
कहाँ टुप्पो कहाँ छेउ...

थाई नेपालीहरू नेपाली संगीतमै रमाउँछन्। नेपाली गीत गाएरै नाचगान गर्छन्। हप्ताैँसम्म तीज मनाउँछन्।

जहाँ नेपाली त्यहाँ नेपाल

पर्यटकहरूले घेरिएको ‘बैंकक–पटाया–फुकेट’मा हजारौं ‘नेपाली कथा’ छन्। तर थाई मुस्कानमा लुकेका छन्। सडकदेखि समुन्द्रसम्म। मन्दिरदेखि मार्केटसम्म, कम्पनीदेखि घरसम्म।

कतिपय नेपालीहरू आफैंले व्यापार गर्छन्। ट्याक्सी चलाउँछन्। सडकमा खाना बेच्छन्। सानातिना सटर खोलेका छन्। घर–जग्गाको कारोबारमा जमेका छन्। महाजनको घरमा काम गर्छन्। कतिपय थाई विद्यालयमा पढाउँछन्। उद्योग, कलकारखानासम्मै नेपालीहरू पुगेका छन्।

उनीहरू दिनरात केही नभनी काम गर्छन्। आकाशे रेल वा गाडी चढेर कोठा पुग्छन्। थकित हुन्छन्, सुत्छन्। एकैछिन आँखा चिम्लिन्छन्, थकाइ मेट्छन्। अनि एकाबिहानै जुरुक्क उठेर काममा दौडिरहन्छन्।

थाइल्यान्डमा नेपाली भाषीहरूको यकिन तथ्यांक छैन। तर एउटा विशाल देशमा जातीय अस्तित्वको जर्गेना गर्दैछन्। बर्सेनि नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन्। हप्तादिनसम्म तीज र तिहार मनाउँछन्। म्यान्मार हुँदै थाइल्यान्ड प्रवेश गरेका नेपालीहरूले नेपाल झल्काइरहेका छन्।

थाइल्यान्डमा आफ्नो मौलिक कला–संस्कृति जोगाउन/फैलाउन सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका छ। धार्मिक संस्था र मन्दिरमार्फत् नेपाली भाषा जोगाएर नेपालीपन कायमै राखेको दाबी गर्छन्, नेपाली पण्डित चुडामणि ढुंगेल।

उनी आफैँ पनि नेपाली संस्कार र सनातन धर्मका थाई नेपाली अभियन्ता हुन्। नेपाली गाउँ–टोलमा गइरहन्छन्, उनी। कैयौँ युवा–युवतीहरूको वैवाहिक जीवन बाँधिदिएका छन्। थाइल्यान्डमा नेपाली पण्डित र ज्योतिषहरू जताततै फैलिएका छन्।

नेपालीमुलका सुरज भण्डारी दुई दशकदेखि चर्चित पर्यटकीयस्थल फुकेटमा बस्छन्। उनी कपडा व्यापारी हुन्। खासखास समाराेहमा दौरा–सुरुवाल र ढाका टोपीमा ठाँटिने नेपालीहरूको ठुलाे जमात छ। थाइल्यान्डमा नेपाली पहिरनकाे राम्रै व्यापार हुन्छ। ‘नेपालीहरूले पहिचान झल्काउने कपडा माग्छन्,’ भण्डारी भने, ‘मेराे पसलमा धेरै खैरेहरू आउँछन्। तर नेपालीहरू पनि दौरा–सुरुवाल र ढाका टोपी किनेर लिन्छन्।’

भरिभराउ नेपाली

थाइल्यान्डमा प्रत्येक नेपालीको आँखामा सपना टल्किरहेको हुन्छ। स्वादिष्ट सडक–खानादेखि पाँच तारे होटलसम्मै नेपालीहरू भरिभराउ छन्। समुन्द्री तटदेखि टापुसम्मै काम तथा व्यवसाय गर्छन्। थाई कमाइले परिवारको गुजारा चलाउँछन्। कतिपय साहुजन छन्।

मोगोकका प्रकाश कार्की आफूलाई भाग्यमानी ठान्छन्। उनी जहाँ पुग्छन्, नेपाली नै भेट्छन्। सुखुम्भिट–२२ काे एउटा भारतीय रेष्टुरेन्टमा काम गर्छन्, उनी। बैंककप्रति आभारी छन्। बसाइँ राम्रो छ। उनी ९ वर्षअघि काम खाेज्दै थाइल्यान्ड आएका हुन्।

‘नेपालीहरू इमान्दार छन्। काम भनेपछि हुरुक्कै हुन्छन्। आफ्नै जस्तो ठान्छन्। बिहानदेखि रातिसम्म खटिएर काम गर्छन्, नेपाली। भारतीय वा थाईभन्दा थोरै पैसामा धेरै जना अटाउँछन्,’ प्रकाशले भने।

नेपालीहरू छरिएर बसेका छन्। बैंकक, फुकेट, मेसाई, पटाया, चियाङमाई, होहिन र कसोमोईलगायत सहरमा नेपाली वंशजका थाई नेपाली छन्। नेपाली पहिचान खोज्दै भौतारिन्छन्, थाई नेपाली। उनीहरू नेपाली पहिचानकाे कागजपत्र माग्दै नेपाली दूतावाससम्म पुग्छन्।

नेपाल सरकारको समयमै ध्यान नपुग्दा लाखौं नेपालीहरूले नेपाली पहिचान गुमाउनु परेको गैरआवासीय नेपाली संघ थाइल्यान्डका उपाध्यक्ष कान्छा गुरुङ ‘गाबो’काे गुनासाे छ। सरकारले थाई नेपालीहरूलाई तत्कालै पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) परिचयपत्र दिनुपर्ने माग उठिरहेकाे उनी बताउँछन्।

‘वर्षाैंअघि प्रवासिएका नेपालीहरूले मौलिक कला–संस्कृति जोगाउन ठुलो भूमिका खेलेका छन्। नेपालभन्दा टाढा भएपनि नेपाली भाषा र संस्कार भुलेका छैनन्,’ गाबोले भने, ‘नेपाली पहिचानको कुरा जोरतोडले उठाइरहेका छौँ। थाई नेपाली र बर्मेली नेपालीलाई एनआरएनमार्फत् नेपालसम्म जोडिरहेका छौँ।’

सुखुम्भिटमा एउटा मन्दिर छ। मन्दिर वरिपरि थुप्रै नेपाली घर छन्। नेपालीहरू नेपाली भाषा र संस्कृतिको उत्थानमा खटिएका छन्। मन्दिरमा दिनदिनै पूजापाठ गर्छन्। यज्ञ–अनुष्ठान, व्रतबन्ध, विवाह, योग, ध्यान साधना, सत्संग, प्रवचन नेपालझैँ चलाइरहन्छन्।

राजाको भ्रमणले चम्किएको भाग्य

वासना राई पिलोकमा जन्मिएकी ‘थाई–नेपाली’ हुन्। उनी आफूलाई नेपाली भनेर चिनाउँछिन्। थाइल्यान्डको सबैभन्दा ठूलो नेपाली संस्था थाई नेपाली संघकी केन्द्रीय अध्यक्ष हुन्। उनी व्यापार र सामाजिक कार्यमा सक्रिय छिन्। आफ्ना पुर्खाहरू सन् १९५३ तिर म्यान्मारबाट पिलोक आएको बताउँछिन्, उनी।

सन् २०१० सालमा स्थापना भएको थाई नेपाली जागृती संघ कालान्तरमा थाई नेपाली संघ बन्यो। जहाँ नेपालीहरू छन्, त्यहाँ शाखा छ। बैंकक शाखाभित्रै १० वटा उपशाखा छन्। त्यो संघ आज उनै राईले हाँकिरहेकी छन्।

‘म सानै हुँदा मेरा हजुरबाले फलामखानीमा काम गर्नुहुन्थ्यो। हजुरबा नेपाल, भारत, म्यान्मा हुँदै थाइल्यान्ड आउनुभएको हो रे। हामीहरू म्यान्माका नेपाली होइनौँ, थाई नेपाली हौँ। थाइल्यान्डको नागरिकता लिएका छौँ,’ उनले भनिन्।

दोस्रो विश्वयुद्धताका दर्जजौँ नेपालीहरू म्यान्मार हुँदै थाइल्यान्ड आए। उनीहरू रैथाने बर्मा जातिसँगै थाइल्यान्ड भित्रिएका हुन्। नेपालीहरू पिलोकको सिसा–फलामखानीमा काम गर्थे। उनीहरू पिलाेकमै बसे। नेपालीबारे थाई सरकार लामाे समयसम्म बेखरब बन्याे। अन्ततः देशभर छरिएका थाई–नेपालीहरू पिलोकबाटै फैलिएका हुन्।

सन् १९८५ मा नेपालका स्वर्गीय राजा वीरेन्द्रको थाइल्यान्ड भ्रमणको फाइदा उठाउँदै पिलोकका नेपालीहरूले थाई नागरिकता प्राप्त गरेको थाई नेपाली संघकी अध्यक्ष राई बताउँछिन्। थाइल्यान्डका नबौँ राजा स्वर्गीय भूमिबोललाई नेपालीहरू भगवान मान्छन्। उनीहरू नेपाली पहिचानको अभियानमा जाेडिएका छन्।

‘नेपाली पहिचानको कुरा उठाइरहेका छौँ। कागजपत्रमा गोर्खा वा नेपाली लेखिएको छ। नेपालीमूलका नेपाली लेखिएको छ,’ थाई नेपाली संघकी अध्यक्ष राईले भनिन्, ‘हामी नेपालसँग जोडिन चाहन्छौँ। हामीहरू नेपाली हौँ।’

राजसंस्था प्रतिको मोह

सोमबार–दिउँसो। सुखुम्भिट–८१

बैंककको हल्का वर्षातमा थाई नेपालीहरू जम्मा भइरहेका छन्। त्रिनाथ देवालय (सन् १९९३)। भवनको माथिल्लो तलामा सनातनी मन्दिर छ। ‘थाई–नेपाल’ समाज पिलोकका नेपालीहरूले स्थापना गरेका हुन्।

मन्दिर छेउछाउमा पिलोके नेपालीहरू बस्छन्। मन्दिरमा दिनदिनै भेला हुन्छन्। सामाजिक मन्थन गर्छन्। पीडितका लागि चन्दा उठाउँछन्। मन्दिरका लागि दान दिन्छन्। मन्दिर छिर्दा नेपालीहरूको बेग्लै रौनक छ।

माथिल्लो तला उक्लिँदै जाँदा राजा–रानी भेटिन्छन्। एउटा फोटो भित्तामा झुन्डिएको छ। थाई राजा स्वर्गीय भूमिबोल अदुल्यादेज र नेपाली पूर्वराजा ज्ञानेन्द्र शाह स–पत्नी सजिएका छन्। नेपाल–थाइल्यान्डबीच भावनात्मक सम्बन्ध छ।

थाइल्यान्डमा राजतन्त्र कायमै छ। नेपालमा गणतन्त्र आइसक्यो। तर स्वर्गीय राजा भूमिबोल र वीरेन्द्रलाई बारम्बार स्मरण गर्छन्, नेपालीभाषी। नेपाली राजपरिवारको हत्याप्रति दुःख व्यक्ति गर्छन्, बर्मेली–नेपाली होमनाथ न्यौपाने।

‘बैंककको चित्रमार्फत् साफ थाइल्यान्डको चरित्र देखिन्छ। बैंककमा यात्रा गर्नु भनेको एकैपटक धेरै संसारहरू हेर्नुजस्तै हो। सामान्य मानिस छन्। महाराजा छन्। मन्दिर छन्। भगवान छन्। मानौँ, संसारै छ,’ उनी भन्छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?