भुइँमान्छे – ९

म मरेपछि यो रेडियोको संरक्षण खै कसले गरिदेला र ! (भिडियाेसहित)

अछुत कोपिला  

नेपालगन्ज

सेतै फुलेको कपाल। त्यसमाथि बेरेको सेतै रङको सल। गालामा कलेटी परेको स्पष्ट देखिन्छ। दायाँतिर चप्पल राखिएको छ। पछाडिपट्टि ज्याकेटमा बेरेर राखिएको छ, नेशनल पानासोनिक रेडियो।
 
गीत बजिरहेको छ, ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले ?’  उनलाई स्रष्टा, गायक र गायिकाको विषयमा जानकारी छैन। थाहा छैन कुन रेडियोबाट बजेको हो। बस्, उनले उक्त गीतबाट आनन्द लिइरहेकी छन्। कुटिरहेकी छन् गिट्टी, गीत र धुनको सुरमा।
  
स्व. राष्ट्रकवि माधव घिमिरेकोे उत्कृष्ट रचनामध्येको एक यो गीत । पछिल्लो समय नेपाल आइडियलबाट उदाएका पछिल्लो पुस्ताका रचना रिमाल र प्रवीण बेडवालले गाएपछि खुबै चर्चा भयो। जति सुने पनि सुनिरहूँ जस्तो लाग्ने यो गीत अहिले भने गीत जागरण एफ.एम.बाट बजिरहेको छ।

स्टेशनभन्दा १० मिटरपरको खुल्ला चौरमा गिट्टी कुटिरहेको अवस्थामा भेटिइन्, सुर्खेत वीरेन्द्रनगर–१२ की ७१ वर्र्षीया लक्ष्मीदेवी दमाईं। 

१२ वर्ष भयो, उनले यही चौरमा गिट्टी कुट्न थालेको। गिट्टी कुटेरै आफ्नो जीविकोपार्जन गरिरहेकी छिन् उनले। यो उनको आम्दानीको मुख्य स्रोत पनि हो। दैनिक आराम गरेर बस्नुपर्ने उमेरमा पनि आठ घण्टा गिट्टी नकुटे चुल्हो नबन्ने उनी बताउँछिन्। प्रत्येक दिन बिहानदेखि राति अबेरसम्म गिट्टी कुटेरै दैनिकी बित्नेगरेको उनले बताइन्।

‘कोही छैन घरमा। एक्लै बस्छु। गिट्टी कुट्छु। बेच्छु खान्छु। गिट्टी नकुटे जुजारा चल्दैन,’ बिएल नेपाली सेवासँग उनले भनिन्। 

उनको जीवन १२ वर्षदेखि गिट्टीकै सहारामा चलिरहेको छ। कहिलेकाहीँ बिरामी पर्छिन्, अनि गिट्टी कुट्न सक्दिनन् । नसकेको दिन भोकै बस्नुपर्ने बाध्यात्मक अवस्था उनले सुनाइन्। 

लक्ष्मीदेवीले सुनाइन्, ‘बुढेसकालमा कोही पनि आफ्ना हुँदा रहेनछन्। मेरो साथी भनेकै यो रेडियो र हतौडा हुन्। गिट्टी कुट्ने काम भइहाल्यो। हतौडा नभए म भोकै हुन्छु।’ 


 रेडियोेसँग उनको भावनात्मक साइनो छ। यो उनको स्वर्गवासी पतिको चिनो हो। ‘म मरँे भने यो रेडियोको संरक्षण कसले गरिदेला?’, उनले भावुक हुँदै भनिन्, ‘त्यही भएर अहिलेसम्म राखेकी छु। कतिपटक बिग्रन्छ। वृद्धा भत्ता आएपछि बनाउँछु। अनि गीत सुन्छु। बूढाको अभाव रेडियोले मेटाएको छ ।’ पति र रेडियोसँगको साइनोबारे उनले खुलाइन्।

यस्तै कथा र भावनात्मक नाता जोडिएको छ, उनको गिट्टी कुट्ने हतौडासँग पनि। उनले यो पहिलोपटक र गिट्टी कुट्न सुरु गर्दादेखि नै प्रयोग गर्दै आइरहेकी छन्। यो पनि उनका श्रीमानले नै बनाएका हुन्। अहिले भने पाइपको नयाँ बिँड हालेकी छन्।

‘पहिलेजस्तो काम गर्न सक्दिनँ। अहिले त जाँगर पनि चल्दैन’, उनले आफ्नो अवस्थाबारे बताइन्, ‘पहिला ६ बोरासम्म र गिट्टी कुट्थँे । अहिले भने मुस्किलले तीन बोरासम्म मात्रै कुट्नसक्छु । प्रतिबोरा एक सय रुपैयाँ दिन्छन्।’ 

दिनको बढीमा तीन सय रुपैयाँसम्म मात्रै कमाइ हुन्छ। महिनाको कमाइ १० हजार पनि पुग्दैन । गिट्टी कुट्नु उनको बाध्यता हो। भन्छिन्, ‘भोकै मर्न सकिँदैन। बाँच्नका लागि गिट्टी कुट्ने गर्छु। मलाई पाल्ने मान्छे भए किन दुःख गर्थेँ र?’ 


एक छोरा र दुई छोरी छन् उनका। छोरीहरुले विवाह गरेर गइसके। छोरा भने अन्तै बस्छन्। उनीहरुको कुनै पनि साथ र सहयोग नभएको उनले बताइन्। उनका अनुसार छोराछोरी भनेका अर्कैका रहेछन्, ‘श्रीमानले छोडेर गए। विवाह गरेपछि छोरा बुहारीको, छोरी पराइकी। आफ्नो भने जीवन यस्तै हो। महिनाभरि गिट्टी कुट्यो। उदारो खायो। बिक्री भएपछि मात्रै तिर्ने हो।’

उनलाई साहुजीले समेत बूढी मान्छे भनेर उदारो नपत्याउने गरेको जानकारी दिइन्। ‘सम्पत्ति भए सबै स्याहार गर्थे। नभए कसले हेर्ने रहेछ?’, उनले भन्छिन्, ‘मरुञ्जेल गिट्टी कुट्छु। पछि जे होला होला।’  
 
रामदेवीसँगै गिट्टी कुटिरहेकी उनकी साथी हुन्, हरिकला नेपाली। उनले त गिट्टी कुट्न थालेको दुई दशक नाघिसकेको छ। गिट्टी कुटैर पाँच जनाको परिवार पाल्दै आएकी छिन्। ५२ वर्षीया हरिकला गिट्टी कुट्दा दुःख हुने गरेको भए पनि आफूहरुलाई बाध्यता रहेको बताउँछिन्। 

‘छोराछोरीको रोजगारी छैन। अरु आम्दानीको स्रोत केही पनि छैन। साँझ बिहानको छाक टार्न गिट्टी कुट्ने गरेकी छु,’ उनले भनिन्।
 
एउटै ठाउँमा गिट्टी कुट्ने समान दुःख भोगिरहेका उनीहरुको जिन्दगीको कथा भने भिन्नै छ। रामदेवी वृद्धाका साथै एकल महिला हुन् भने हरिकलाका श्रीमान लामो समयदेखि बेपत्ता छन्। ‘अहिलेसम्म मरे कि जिउँदै छन्, अत्तोपत्तो छैन ।’ उनले श्रीमानको सम्झनामा कति दिनरात काटिन्। कति आँशु खसालिन् तर अहिलेसम्म उनका पतिको अवस्थाबारे जानकारी छैन। उनका अनुसार श्रीमानकै प्रतीक्षामा आधा जोवन बाइगयो। 

जीवन साथीबिना एक्लै बस्नुको पीडा र गिट्टी कुट्दा हुने दुःखले उनी दिन प्रतिदिन गल्दै गएकी छिन्। रुदाँ–रुदाँ कति आँशु सकिए तर उनको दुःख पीडा कम हुन सकेको छैन। एक्लो पनको याद भुलाउन पनि गिट्टी कुट्छिन्, उनी। 

दुःखजिलो गरेर कमाएको पैसाले हरिकलाको अपुरो परिवार चलिरहेको छ। उनी भन्छिन्, ‘श्रीमानबिना त समाजमा एक्लै बाँच्न नसकिँदो रहेछ। मैले अपूर्ण जिन्दगी बिताइरहेकी छु। अब कति दिन बाचुँला र?’

प्रकाशित मिति: : 2020-12-14 14:28:00

प्रतिकृया दिनुहोस्