अजय देवगनका भाई अनिल रहेनन्

बलिउडका चर्चित कलाकार अजय देवगनका भाई अनिल देवगनको सोमबार राती मुम्बईमा निधन भएको छ। यसको जानकारी अजयले मंगलबार दिउँसो ट्वीटमार्फत दिए। 

मिडिया रिपोर्टका अनुसार उनी ५१ वर्षका थिए। अजयले कोरोना महामारीका कारण प्रार्थना सभाको आयोजना गर्न नसकेको जानकारी दिए। 

उनले ट्वीटमा लेखेका छन्, ‘गत राती मैले आफ्नो भाई अनिल देवगनलाई गुमाए। यसले परिवारलाई गहिरो ठेस पुगेको छ। अजय देवगन फिल्म्स र मलाई व्यक्तिगत रूपमा एक्लोपना महसुस हुनेछ। महामारीका कारण हामीले प्रार्थना सभाको आयोजना गर्न सकेनौं।’

अनिलले आफ्नो करिअरको सबैभन्दा बढी काम दाजु अजयसँगै गरे। उनले सन् १९९६ मा रिलिज भएको ‘जीत’ फिल्ममा सहायक निर्देशकबाट काम सुरु गरेका थिए। 

उनले इतिहास, प्यार तो होना हि था र हिन्दुस्तान कि कसम जस्ता फिल्ममा सहायक निर्देशकको भूमिकामा काम गरेका थिए। 

अनिलले सन् २००० मा निर्देशकको रूपमा ‘राजु चाचा’ फिल्म बनाएका थिए। २००५ मा ‘ब्ल्याकमेल’ र २००८ मा ‘हाल–ए–दिल’ मा पनि उनले निर्देशन गरेका थिए। उनी ‘सन अफ सरदार’ फिल्ममा क्रिएटिभ निर्देशक थिए।

प्रकाशित मिति: : 2020-10-06 17:18:15

प्रतिकृया दिनुहोस्