विश्व पर्यटन दिवस

कीर्तिपुरमा इभिनिङ हेरिटेज वाक (तस्बिरहरु)

BreaknLinks
BreaknLinks

विश्व पर्यटन दिवसका अवसरमा असोज १० (सेप्टेम्बर २७)मा काठमाडौँ उपत्यकाको सांस्कृतिक नगरी कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा पदयात्रा ‘इभिनिङ हेरिटेज वाक’ आयोजना गरिएको छ। सहभागीहरूले कीर्तिपुरको समृद्ध सम्पदा मार्गबाट यसको ऐतिहासिक सम्पदाको मार्गदर्शन गर्दै पदयात्रा गरेका हुन्।

कीर्तिपुर नगरपालिकाकाे प्राङ्गणबाट सुरु भएको यात्रा चिलञ्चो बिहार, ल्हो देग, देवु पोखरी, बाघभैरब हुँदै पदयात्रीहरुले उमामहेश्वर मन्दिरसम्म करिब डेढ घण्टा पदयात्रा गरेका थिए। साँझपख सत्तलहरूमा लाइभ भजन/किर्तन सुनिएको थियो भने आयोजकहरूले पनि उमामहेश्वर मन्दिर हातामा सांगीतिक प्रस्तुति दिएका थिए। नेवारी भोज ‘सम्यबजी’खाँदै सांगीतिक कार्यक्रम अवलोकन गरिएको थियो।

सम्पदा यात्राको शुभारम्भ कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले गरेकी थिइन्। उप‍-मेयर शाक्यले पदयात्रामा सहभागीहरुलाई उत्साह थप्दै सन्ध्याकालीन सम्पदा पदयात्राले कीर्तिपुरको इतिहाससहित सम्पदा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने आशा व्यक्त गरिन्। ऐतिहासिक तथा सांस्कृतिक कीर्तिपुर सहरमा सबैलाई एकपटक घुम्न र यहाँको रहनसहन, खानपिन र पुराना मठमन्दिर र विहारमा अवलोकन घुम्न निम्तो दिइन।

पदयात्रामा चचिर्त पर्यटनकर्मीहरू योगेन्द्र शाक्य, सुबोध मल्ल, दीपकराज जोशी, राज ज्ञवाली, हिकमत सिंह ऐर, सुधन सुवेदी, चित्रबहादुर गुरुङलगायत स्थानीय र सञ्चारकर्मीको सहभागि थिए।

पदयात्राकै क्रममा प्रख्यात सामाजिक उद्यमी तथा विज्ञ अनिल चित्रकारलगायत टुरिष्ट गाइडहरुले कीर्तिपुरको कथा कथनको कलाका विषयमा जानकारी गराएका थिए।

यो आन्तरिक तथा बाह्य पर्यटकलाई कीर्तिपुरको सम्पदा, इतिहास र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य नगरपालिका र स्थानीय बुद्धिजीवीहरुको अभियानको एक हिस्सा रहेको कीर्तिपुर निवासी तथा नेपाल पर्यटन वोर्डको वरिष्ट अधिकृत सुधन जोशीले बताए।

सन्ध्याकालीन सम्पदा पदयात्राका मुख्य पथप्रदर्शक अनिल चित्रकारले कीर्तिपुरको स्थान पहाडी सहरको रुपमा रहेको, जुन एक प्रमुख पर्यटन ब्रान्ड पनि हो भन्ने कुरामा जोड दिए। उनले काठमाडौँ उपत्यकाभित्र पनि उचाइमा रहेको कीर्तिपुरको आफ्नै विशेषता रहेको बताए। यस स्थानबाट देखिने मनमोहक दृश्यहरूले कीर्तिपुरको विशेष महत्व राख्दछ। कीर्तिपुर स्वयंसेवक समाजका कोषाध्यक्ष विकास डंगोलले सम्पदा पदयात्राको तयारी सम्पन्न भएको र सहभागीलाई स्वागत गर्न आतुर रहेको जानकारी दिए।

यसअघि कीर्तिपुरको अनुपम सम्पदा र सांस्कृतिक प्रवर्द्धन गर्न स्थानीय गाइडहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले तालिम दिइएको थियो। तालिममा कीर्तिपुरको कथा कथनको कलाका विषयमा ३० जना कीर्तिपुर गाइड संघका सदस्यहरू र अन्य सहभागीहरु रहेका थिए।

कीर्तिपुर नगरपालिकाको आयोजना र कीर्तिपुर स्वयंसेवक समाज, गाइड एसोसियसन अफ कीर्तिपुर र स्टोरी साइकलको सह-आयोजनामा भएको सन्ध्याकालीन सम्पदा पदयात्रामा सयौँ सयौँ स्थानीयसँगै आन्तरिक र विदेशी पदयात्रीको सहभागिता रहेको थियो।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-09-28 18:38:00

प्रतिकृया दिनुहोस्