गृहमन्त्री भन्छन्- बलात्कारको घटनामा नेपाल विश्वमै पछाडि, तथ्याङ्कले देखाउँछ- कलिला बालिकामाथि बलात्कार बढ्दो 

११ देखि १६ वर्षका बालिका सबैभन्दा धेरै बलात्कृत

बझाङको मस्टा गाउँपालिका–२ की सम्झना कामीको बलत्कारपछि हत्या भयो।

असोज ७ गते घरभन्दा आधा घण्टाको दुरीमा पर्ने गाईबस्तुको गोठमा घाँस हाल्न दिउँसो करीब ४ बजे गएकी सम्झनाको खोजी गर्ने क्रममा मस्टा गाउँपालिका– २ सिममाडौं मन्दिरनजिकै अर्धनग्न अवस्थामा राति १० बजे उनी मृत फेला परेकी थिइन्। उनको शव फेला परेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेको थियो। प्रहरी पुग्दा सम्झनाको शव अर्धनग्न अवस्थामा थियो।

करीब डेढ सय मिटर पर उनले बोकेको डोको र नाम्लो खोल्सामा भेटिएको थियो। प्रहरीले घटनाको प्रकृति हेर्दा हत्या भएको निष्कर्ष निकाल्दै थप अनुसन्धान थाल्यो। 

अनुसन्धानकै क्रममा सोही गाउँका राजेन्द्र बोहोराले बलात्कारपछि हत्या गरेको तथ्य खुल्न आयो। अर्को दिन बोहोरालाई प्रहरीले पक्राउ गर्‍यो।

बोहोरालाई पक्राउ गरेपछि उनीविरुद्ध आफन्तले किटानी जाहेरी दिए। प्रहरीसामू आफूले बलत्कारपछि हत्या गरको स्वीकारेको भन्दै बोहोरा नै हत्यारा भएको भन्दै सार्वजनिक गरियो।

यहीँ घटनालाई लिएर सामाजिक सञ्जालहरु व्यापक विरोध भइरहेको छ। सांसदहरुले पनि सम्झना कामीको बलत्कारपछिको घटनालाई लिएर विरोध जनाइरहेका छन्। सांसदको एक टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र समेत बुझाएका थिए।

यसै विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापा बादलले  गत बुधवार (असोज १४ गते) संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दिएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ।

गृहमन्त्री थापाले विश्वका देशलाई विश्लेषण गर्दा नेपालमा चिन्तित हुनुपर्ने अवस्था नभएको अभिव्यक्ति दिएका थिए।

‘झन्डै २ सय १५ देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थितिमा पनि होइन। न्यूनीकरण गर्ने सन्दर्भमा सरकारको तर्फबाट प्रयासहरू भइरहेका छन्,’ गृहमन्त्री थापाले समितिमा भनेका थिए, ‘सवा दुई सय मुलुकमध्ये हाम्रो स्थान पछाडि आउँछ। पछाडिबाट हेर्दा हामी १५ भित्र छौँ भन्ने कुरा विश्लेषणबाट देखिन्छ भने हामीभन्दा अगाडि विकसित मुलुकहरू अमेरिका, दक्षिण अफ्रिका देखिन्छन्।’

यो अभिव्यक्ति पछि सामाजिक सञ्जाल लगायत सांसदहरुले समेत विरोध जनाइरहेका छन्। 

२ वर्ष अगाडि संसदमा महिलाविरुद्ध हुने यौंन हिंसाको विषयमा बोल्दै यस विषयमा भिजन बनाएको बताएका थिए। 

‘अहिलेको सरकारले यसलाई रोक्ने प्रयास गरेको छ। यो सरकारसँग त्यस्तो किसिमको भिजन छ, नीति छ र नेतृत्व पनि छ र, हामी यसलाई रोक्छौं,’ निर्मलाको हत्या प्रकरण र यौन हिंसाबारे संसदमा बोलेका थिए। 

तर अहिले अभिव्यक्तिले त्यो समयमा बोलेको भिजन अहिलेसम्म देखिएको छैन उल्टै महिला हिंसा र बलत्कारका घटना कम भएको अभिव्यक्तिले उनलाई विवादमा ल्याएको छ। 

विश्वको तथ्याङ्क र नेपालकै तथ्याङ्क एउटा ठाउँमा भए पनि सार्वजनिक पदमा बसेका व्यक्तिले जनमतको संवेदनालाई ध्यानमा राखेर बोल्नु जरुरी भएको पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) नवराज ढकालले बताए। 

‘यो जनताको संवेदनासँग जोडिएको र संवेदशील विषय हो। यस्तो विषयमा बोल्दा ध्यान पुर्‍याउनुपर्ने थियो,’ पूर्व एआइजी ढकालले बिएल नेपाली सेवासँग भने।

बलत्कार जस्तो जघन्य अपराधमा विश्वको तथ्याङ्कलाई लिएर बोल्नुभन्दा पनि जनताको संवेदनासँग जोडिर बोल्नु र काम गर्नुपर्ने र तथ्याङ्कलाई अपराध न्यूनिकरण गर्नको लागि योजना बनाउन प्रयोग गर्नुपर्ने पूर्व एआइजी ढकालले बताए।

यता नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने बलत्कारका घटना दैनिक घटिरहेका छन्। 

लकडाउनको अवधिमा मात्रै ६ सय ३२ वटा बलत्कारका मात्रै घटना भए। १ सय ६७ वटा बलत्कार प्रयास भएको छन्। जसमध्ये ८ सय ३८ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ। जबरजस्ती करणी उद्योग अर्थात बलत्कार उद्योगमा मात्र १ सय ६७ वटा घटना भएका छन्। 

लकडाउनको अवधिमै ७ सय ७२ जनालाई बलत्कार मुद्दामा पक्राउ गरको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेर कठायतले बताए।

यसरी प्रहरीको तथ्याङ्कलाई मात्रै हर्ने हो भने हरेक दिन औषत ४ वटा बलत्कारका घटनाहरु भएको देखिन्छ। 

लकडाउनको अवधिमा १ नम्बर प्रदेशमा सबैभन्दा धेरै १ सय ५० वटा बलत्कारका घटना भएको देखिन्छ। यस्तै २ नम्बर प्रदेशमा ९५, बाग्मती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा ९८, कर्णाली प्रदेशमा ३७, सुदूरपश्चिम प्रदेशमा ७० र उपत्यकामा ५५ वटा बलत्कारका घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

पछिल्लो ३ महिनामा मात्रै २ सय ६६ वटा बलत्कारका घटना भएका छन्। 

११ देखि १६ वर्षका बालिका सबैभन्दा धेरै बलात्कृत

बझाङमा १२ बर्षीया सम्झनाको बलत्कार पछि हत्या भयो। कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको पनि बलत्कारपछि हत्या भयो। यसरी हेर्दा बलत्कार हुने सबैभन्दा धेरै ११ देखि १६ बर्ष उमेरका बालिका छन्। 

नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने पनि यसलाई पुष्टि गर्छ। प्रहरी केन्द्रीय कार्यालयका अनुसार आर्थिक बर्ष २०७५/७६ मा ८ सय ८९ जना बालिका बलात्कृत भए। भने आर्थिक वर्ष २०७६/७७ मा १ सय १ जना बालिका बलात्कृत भएको देखाउँछ भने आर्थिक बर्ष २०७७/७८ सालको ३ महिनामा १ सय ५ जना बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ।

यस्तै आर्थिक बर्ष २०७५/७६ सालमा १७ देखि २५ वर्ष उमेरका ६ सय १६ जना बलात्कृत भएका छन्। आर्थिक वर्ष २०७६/७७ मा सोहि उमेर समूहका ७ सय ११ जना बलात्कृत भएका छन्। 

यसरी हेर्दा पनि ११ देखि १३ वर्ष उमेर समूहका बालिका बलात्कारको चपेटामा परेको देखिन्छ।

प्रकाशित मिति: : 2020-10-07 17:31:00

प्रतिकृया दिनुहोस्